• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    अन्तत: यसकारण युक्रेनमाथि आक्रमण रोक्न बाध्य भयो रुस

    3.2K
    SHARES


    क्रेमलिन। युक्रेनका विभिन्न क्षेत्रमा युद्धका कारण फसेका नागरिकलाई जोगाउन र स्थान्तरण गर्न रुसले आक्रमण रोक्ने जनाएको छ। युद्धग्रस्त क्षेत्रमा फसेका सर्वसाधारणले युद्ध विराम भएको समयमा विभिन्न क्षेत्रहरु छाड्नुपर्ने रुसी सर्त रहेको छ।

    रुसको रक्षा मन्त्रालयका अनुसार सोमबार १० बजेदेखि किभ, खारकिभ, मारियुपोल र सुमी क्षेत्रमा रुसी आक्रमण रोकिएको छ। रुसले युद्ध विराम गरेर सर्वसाधारणलाई स्थान्तरण गर्न सहयोग गरेको बताएको छ। यद्यपी युक्रेनले यस विषयमा केही जानकारी दिएको छैन।

    यसअघि रुस र युक्रेनबीच युद्ध विरामको समझदारी भएको थियो। तर मानिसहरु सुरक्षित स्थानमा सर्दासर्दै पुनः आक्रमण सुरु भएपछि सर्वसाधारण युद्धग्रस्त क्षेत्रमै फसेका थिए। रुसले युक्रेनका सेनाले गोली चलाएकाले युद्ध विराम भंग भएको बताएको थियो।

    युक्रेनले पनि रुसले युद्ध विरामको उल्लंघन गरेको आरोप लगाएको थियो। रुसले युक्रेनमा आक्रमण थालेको आज १२ दिन पुगेको छ। यसबीचमा चीनले रुसलाई आफ्नो राम्रो साझेदार भनेको छ। सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीले रुससँगको आफ्नो सम्बन्ध चट्टानजस्तै बलियो भएको बताएका हुन्।

    अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले चीनले पनि युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्नुपर्ने बताएको केही घण्टापछि नै चीनले रुससँगको आफ्नो सम्बन्ध मजबुत भएको बताएको हो। यीले चीनमा रहेको रेडक्रसको तर्फबाट आफ्नो देशले युक्रेनमा मानवीय सहायता सामग्री पठाउने पनि जानकारी दिए।

    युक्रेनमाथि रुसले आक्रमण गर्दा चीनले कसैको पक्ष लिएको छैन। आज पनि विदेशमन्त्री यीले रुस र युक्रेनबीचको विवाद छलफल र कूटनीतिमार्फत् समाधान हुनुपर्नेमा जोड दिएका थिए। यसअघि राष्ट्रसंघमा अमेरिकाले रुसको निन्दा गर्ने प्रस्ताव ल्याएको थियो। त्यसमा चीन तटस्थ बसेको थियो। कसैको पक्षमा भोट खसाएको थिएन।

    त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसले आक्रमण जारी राखेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरेका छन्। सोमबार मोदीले राष्ट्रपति जेलेन्स्कीसँग कुराकानी गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिएका छन्।

    उनले एक विज्ञप्ति जारी गर्दै दुई जनाबीच कुराकानी गरेको उल्लेख गरेका हुन्। राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री मोदीलाई रूस-युक्रेनबीच जारी द्वन्द्वबारे विस्तृत जानकारी दिएको बाग्चीले जानकारी दिएका छन्।

    यस्तै युक्रेन र रूसबीच भइरहेको वार्ताबारे पनि कुराकानी गरेका थिए। मोदीले युद्ध र त्यसबाट उत्पन्न भएका मानवीय संकटबारे पनि चासो राखेका थिए। उनले भारत सधैँ दुईपक्षीय वार्ताबाट शान्तिपूर्ण समाधान निकाल्नुपर्ने पक्षमा रहेको स्पष्ट समेत पारेको विज्ञप्तिमा उल्लेख छ।

    २० हजार भारतीय नागरिकहरूलाई युक्रेनबाट निस्किन सहजीकरण गरिदिएको भन्दै प्रधानमन्त्री मोदीले युक्रेनी अधिकारीहरूलाई धन्यवाद दिएका थिए। युक्रेनमा रहेका विद्यार्थीहरूको सुरक्षा र उनीहरूको उद्धार गर्नेबारे पनि चासो व्यक्त गरेका थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ