काठमाडौं । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो नबनाउने भएको छ। चुनावअघि समयको अभावमा पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो गठन गर्न नसकिने नेता वर्षमान पुनले जानकारी दिए।
काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘समयको अभावका कारण हामी अहिले चुनावअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो बनाउँदैनौँ।’
तर, अध्यक्षलाई निर्णय गर्न सहयोगीका रूपमा सानो आकारको केन्द्रीय कार्यालय बनाउने उनको भनाइ छ। पार्टीका संरचनामा पदाधिकारी नहुँदा चुनावलाई प्रभाव नपर्ने बताएका उनले विचार र नीतिले निर्वाचनमा अर्थ राख्ने बताए।
यसैबीच, अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध पार्टीका प्रमुख सचेतक देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएको विषयमा सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएका छन्। यसलाई छलफलमा लगेर एमसीसीबारे समान धारणा बनाउने उनको भनाइ छ।
अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते नै हुने बताएका छन् । अहिलेको परिस्थितिको विश्लेषण गर्दा वैशाखको स्थानीय चुनाव सर्ने अवस्था नरहेको बताए ।
यद्यपि प्रतिनिधिसभा विघटनको चर्चा चलिरहे पनि नतिजा त्यसतर्फ गइनसकेको बताए । यसअघि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आइतबार स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल भइरहेको बताएका थिए ।
प्रचण्डले संसद निरन्तर अवरोध भइरहे विघटनको विकल्पमा जान सकिने भने बताए । तर, प्रधानमन्त्री शेरबहादुर देउवा विघटनतिर जानेबारे सकारात्मक नभएको प्रचण्डको भनाइ छ । प्रचण्डले चुनाव वैशाख ३० मै हुने भएकाले तयारीमा होमिनुको विकल्प नभएको बताए ।
यस्तै प्रचण्डले महाधिवेशनपछि केन्द्रीय कमिटी विस्तार फलामको चिउरा जस्तै भएको बताएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले विधानअनुसार समानुपातिक, समावेशी क्लस्टर मिलाउनुपर्दा केन्द्रीय कमिटी बनाउन फलामको चिउराजस्तै भएको बताएका हुन् ।
‘केन्द्रीय समिति चयन फलामको चिउरा जस्तै भयो । सिनियर छुट्ने, जुनियर आउने देखियो’, अध्यक्ष प्रचण्डले बैठकमा यसअघि २४७ सदस्यीय केन्द्रीय समिति आयोगमा बुझाए पनि बाँकी संख्या चयन गर्न कठिन भएको हो । त्यसक्रममा उनले २९९ र मनोनित गर्ने ४५ जना गरी ३४४ जनाको केन्द्रीय कमिटी बनाउन समस्या भएको बताए ।
प्रतिक्रिया