काठमाडौँ। प्रतिनिधिसभाको बैठक फागुन २९ गतेसम्म स्थगित भएको छ । आइतबारको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएसँगै बैठक एक साताका लागि स्थगित गरिएको हो ।
सभामुख अग्नि प्रसाद सापकोटाले आजको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएको घोषणा गरेसँगै अर्को बैठक २०७८ फागुन २९ गते आइतबार दिनको १ बजेका लागि तय गरिएको जानकारी दिए ।
महाभियोग सिफारिस समिति सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, राम बहादुर बिष्ट, रेखा शर्मा, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फे रहेका छन् । जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो ।
त्यस्तै संसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन गर्ने तयारी थालेको छ ।
कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा दलहरुलाई सिफारिस समितिमा रहने सदस्यहरुको नाम मागिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाम दिएपछि सिफारिस समिति गठन हुने संसद सचिवालयका एक अधिकारीले बताए ।
सत्तारुढ गठबन्धनका ९८ सांसदले १ फागुनमा जबराविरुद्ध महाअभियोग दर्ता गरेका थिए । यो प्रस्तावमाथि संसदमा सामान्य छलफलपछि महाअभियोग सिफारिस समितिमा पठाउनुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा छ ।
११ सदस्यीय समितिले आरोपबारे छानबिन गरी महाअभियोग सिफारिस गर्नसक्छ । त्यस्तो सिफारिस निर्णयार्थ पेस गर्दा एक चौथाई सदस्यले समर्थन गरेमा महाअभियोगको कारबाही प्रारम्भ हुन्छ ।
प्रतिक्रिया