काठमाडौँ । आइतबार ११ बजेका लागि तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको छ ।
माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले आइतबार ११ बजेको लागि तय गरिएको बैठक २ बजे बस्नेगरी तय भएको जानकारी गराएका हुन् ।
माओवादीको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट सुरु भएको हो । आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेस मा बस्ने मुख्यसचिव ढकालले जनाएका छन् ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिएपछि बैठकका नियमित कार्यसूचीमा छलफल हुनेछ ।
माओवादी केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने बताइएको छ । यस्तै प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
संघीय संसद सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्यतालिका छ । आज बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्ने छ ।
प्रतिक्रिया