काठमाडौं । रुस- यिक्रेन युद्ध चलिरहेका बेला भारतीय नौसेनाले ब्रह्मोस सुपरसोनिक क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ ।
भारतीय नौसेनाले ‘आईएनएस चेन्नाई’ नामक युद्धपोतबाट ब्रह्मोस क्षेप्यास्त्रको सटिकताको परीक्षण गरिएको जनाएको हो । क्षेप्यास्त्रले लक्षित निशानामा सटिक प्रहार गरेको नौसेनाले जनाएको छ ।
भारतीय नौसेनाको यो उपलब्धीले धेरै टाढासम्म मार हान्न सक्ने र जमिनी कारवाहीमा पनि ठूलो प्रभाव पार्ने जनाइएको छ । भारतीय नौसेनाले नियमितजसो ब्रह्मोस क्षेप्यास्त्रको परीक्षण गर्दै आएको इण्डिया टुडेको अनलाइन सँस्करणले जनाएको छ ।
ब्रह्मोस क्षेप्यास्त्र र आइएनएस चेन्नाई युद्धपोत दुबै भारतमा नै निर्माण भएको र यो भारत सरकारको ‘मेक इन इण्डिया’ र ‘आत्मनिर्भर भारत’ कार्यक्रममा भारतीय नौसेनाको योगदानको रुपमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तै उत्तर कोरियाले पुनः क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तरले जापानको सागरमा क्षेप्यास्त्र परीक्षण गरेको हो ।
राजधानी प्योङयाङ नजिकैको सुनान क्षेत्रबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र ५६० किलोमिटरको उचाइसम्म पुगी २७० किलोमिटर टाढा गई खसेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
विज्ञप्ति जारी गर्दे दक्षिण कोरियाली सेनाले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणले अन्तर्राष्ट्रिय समुदायका लागि खतरा उत्पन्न गर्ने र कोरियाली प्रायद्वीपमा शान्ति र स्थीरतालाई खलल पु र्याउने भन्दै यसको निन्दा समेत गरेको छ ।
पछिल्लो परीक्षणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो वर्ष २०२२ मा मात्रै उत्तर कोरियाको यो नवौँ क्षेप्यास्त्र परीक्षण हो ।
केही दिनअघिमात्रै उत्तर कोरियाले जासुसी भूउपग्रहका लागि विशेष क्यामेराको परीक्षण गरेको दाबी गरेको थियो ।
प्रतिक्रिया