• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रचण्डको चिनामा माओवादी सिद्धिने लेखिएको छ- ओली

    1.5K
    SHARES


    झापा।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र समाप्त हुने भविष्यवाणी गरेका छन् । माओवादी पार्टी आफै सिद्धिने उनको भनाइ छ ।

    सुखानी सहिद स्मृति दिवसका अवसरमा शनिबार झापाको सालबारीस्थित झापा विद्रोहका पाँच योद्धाको सालिकमा माल्यार्पणपश्चात बिर्तामोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी पार्टी सकिने एउटा झलक आगामी वैशाख ३० मा देखिने टिप्पणी गरे ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले जनताले भोट हाले पनि नहाले पनि माओवादी पार्टी समाप्त भएर जाने दाबी गरे । ‘भोट हाल, भोट नहाल । खाल्डोमा सुत या भुईंमा सुत । पक्की घरमा सुत, कच्ची घरमा सुत । छाप्रो बनाएर सुत, कुटीमा बस । तर, माओवादी केन्द्र भन्ने पार्टी सिद्धिन्छ, सिद्धिन्छ । मैले यो कुरा २०५६ सालमै भनेको थिएँ,’ ओलीले भने, ‘दस वर्ष उग्रपन्थ माथि चढ्छ । दस वर्षपछि ओरोलो लाग्छ । दस वर्षमा लगभग सिद्धिन्छ ।’

    २०५२ सालदेखि २०६२ सालसम्म माओवादी उकालो लागेको उल्लेख गर्दै उनले भने, ‘०५२ बाट ०६२ सम्म उकालो लागेको तपाईंहरुलाई थाहा छ । त्यसपछि ओरोलो लाग्न सुरु भयो । ७२ मा आइपुग्दा लगभग सिद्धियो । ७४ मा फेरि मैले नै पम्प हाल्दिएको हुनाले अलिकति सुध्रिएर गयो । बेलुनमा पम्प हालेर राख्दा विस्तारै विस्तारै सकिन्छ । अब म माओवादीलाई पम्प किन हाल्छु ?’ उनले पार्टी समाप्त हुँदै गएको देखेका पुष्पकमल दाहालले माओवादी सिध्याउन एमाले लागेको आरोप लगाउन थालेको बताए ।

    ‘एमसीसी गलत छ तर, भोट हाले । उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा एमसीसी ठीक छ भनेर भन्न सकेका छैनन् । एमसीसी गलतै छ तर, एमालेले हामीलाई सिध्याउने भयो त्यस कारण राष्ट्रघाती काम गरे भन्छन् प्रचण्ड,’ ओलीले भने,‘सिध्याउने त बाबा तिम्रो चिनामा लेख्या छ, म के भनूँ ?’

    पत्यार नलागे ज्योतिषलाई चिना देखाउन दाहाललाई ओलीको सुझाव छ । ओलीले माधवकुमार नेपालको पार्टी ‘चिचिला’ मै समाप्त हुने आरोप लगाए । ‘माधववाला त पार्टी बनेकै छैन । त्यो बन्दै बन्दैन, नबनिकन समाप्त भएर जान्छ,’ उनले भने ।

    यता प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ दलहरू भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागिपरेको आरोप लगाएका छन् ।

    संविधानसभाका अध्यक्षसमेत रहेका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जाने प्रस्ताव गर्दा डराउने गरेका दलका नेताहरूले स्थानीय तहको निर्वाचन पछि सार्ने खेलमा लागेको बताएका हुन् ।

    प्रेस चौतारी नेपाल, वाग्मती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उपाध्यक्ष नेम्वाङले पुष्पकमल दाहाल, माधव नेपालहरुप्रति संकेत गर्दै प्रश्न सोधेका थिए, ‘केही साथीहरू निर्वाचन भनेपछि किन डराउछन ?’

    नेम्वाङले भने, ‘केही साथीहरु जनतामा जाने भन्दा किन डराउँछन् ? प्रतिगमन भन्छन् । भरसक जनतामा जाने मिति पर सार्छन् । यहाँहरुलाई थाहा छ–त्यसैले म दोहोर्‍याउन चाहन्नँ । बल्लबल्ल तपाईँ–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ ।’

    यस्तै नेता नेम्वाङले आफ्नो पार्टीले ठूलो चुनौती मोलेर बनाएको नेपालको चुच्चे नक्सा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ