काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी पार्टीको केन्द्रीय समितिको बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनलाई स्वीकार गरेर चुनाव केन्द्रित हुने प्रस्ताव गरेका छन् ।
माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीका अनुसार प्रचण्डले सुरुमा ब्रिफिङ गरेका थिए । त्यसक्रममा प्रचण्डले पार्टले महाधिवेशनबाट जे संस्थागत निर्णय गरेको थियो सोही अनुसार एमसीसी अनुमोदन भएको बताए ।
‘एमसीसी व्याख्यात्मक घोषणासहित पास एजेण्डा हाम्रो सामू आएको थियो । त्यसअनुसार समर्थन गरेर अगाडि बढ्यौं’ प्रचण्डको भनाइ उध्दृत गर्दै नेतृ घर्तीले जानकारी दिइन् ।
आफूहरूले संशोधनविना एमसीसी अनुमोदन गर्न हुँदैन भन्दै आएको र त्यसका लागि व्याख्यात्मक घोषणाले सहयोग गरेकाले निर्णयमा पुगेको प्रचण्डको प्रष्टीकरण छ ।
साथै एमसीसीमा व्याख्यात्मक घोषणासँगै एमसीसी पास गर्न तयार भएकाले सत्ता गठबन्धन चुनावसम्मै जाने वातावरण बनेको पनि प्रचण्डले बताएका छन् ।
त्यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकासँग भएको एमसीसी सम्झौता पारित गर्न पार्टीले खेलेको भूमिकाको कडा आलोचना गरेका छन् ।
शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूलगायतका नेताहरुले एमसीसीको विरोध गर्दा अध्यक्ष प्रचण्डले पार्टी छाडे पनि हुन्छ भन्नेसम्मको अभिव्यक्ति दिएको भन्दै तिव्र असन्तसष्टि पोखेको एक नेताले रातोपाटीलाई बताए ।
उनले पार्टी अध्यक्ष प्रचण्डसँगको आफ्नो सम्बन्ध कठिन क्षणमा पुगेको पनि बताए । उनले पार्टी गम्भीर अवस्थामा पुगेको पनि बताएका थिए ।
यसअघि सम्बोधन गर्दै प्रचण्डले एमसीसी ब्याख्यात्मक घोषणासहित पारित गरिएको भन्दै यसमा कुनै राष्ट्रघात नभएको भन्दै नेताहरुलाई आश्वस्त पार्ने प्रयास गरेका थिए ।
गर्दा माओवादीले राख्दै आएको अडान फेरिएको नभई आवश्यकता अनुसार सही निर्णय र आवश्यक निर्णय भएको प्रचण्डको जिकिर छ । माओवादी केन्द्रको केन्द्रीय समिति काठमाडौंको राष्ट्रिय सभामा जारी छ ।
प्रतिक्रिया