• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आज देशभर सार्वजनिक बिदा, हेर्नुहोस् सूचनासहित

    532
    SHARES


    काठमाडौँ । आज शेर्पा समुदायको पर्व, ग्याल्पो ल्होसार । सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।

    १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको हो । सरकारी कार्यालयदेखि संघसंस्थाका सेवा आज बन्द रहनेछन् । ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो ।

    नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएकी छन् ।

    शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले आज दिएको शुभकामना सन्देशमा यस्ता पर्वका माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई हाम्रो बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताएकी छन् ।

    हाम्रो देश नेपाल जसरी भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त छ, त्यसैगरी सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित छ भन्दै सन्देशमा राष्ट्रपतिले हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गरेकी छन् ।

    ग्याल्पो ल्होसार पर्वले सबै नेपालीमा नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उनले सन्देशमा भनेकी छन् ।

    मुलुकको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । यस पर्वमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ । यसलाई पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा लिइन्छ ।

    त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । ग्याल्बो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् ।

    उनले शुभकामना सन्देशमार्फत नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यहाँ हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताएका छन् ।

    प्रधानमन्त्री देउवाले सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सोअनुसार महासन्धि कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

    उनले सरकार अल्पसङ्ख्यक र सिमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्वर्द्धनका लागि सदैव क्रियाशील रहेको बताएका छन्।

    प्रधानमन्त्री देउवाले शेर्पा समुदायको नयाँ वर्ष २१४९ ले नेपालीबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्‍याइ राष्ट्रिय एकतामा थप बल पुर्‍याउने विश्वास लिएका छन् । कोभिड–१९ को महामारी अन्त्य नभइसकेको वर्तमान अवस्थामा सतर्कतापूर्वक स्वास्थ्य मापदण्डको पालना गरी नयाँ वर्षलाई हर्षोल्लासपूर्वक मनाउन अनुरोध गर्दै उनले ग्याल्बो ल्होसारले मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ