काठमाडौं। रुस–युक्रेन युद्धका कारण इन्धनको मूल्य बढ्दा त्यसको प्रभाव आफूहरुले पनि भोग्नु परेको नेपाल आयल निगमले जनाएको छ। बढेको कच्चा तेलको मूल्यका कारण मंगलबार भारतीय आयल कर्पोरेसन आईओसी बाट ग्याँस, पेट्रोल,
डिजेल र मट्टीतेलको मूल्य बढेर प्राप्त भएको निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए। डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर चार/चार रुपैयाँ र खाना पाकाउने ग्याँसमा प्रति सिलिण्डर एक सय रुपैयाँले बढेर नयाँ मूल्य आएको उनले बताए।
‘बढेको मूल्यका कारण निगम १५ दिनमा ३ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा जाने देखियो, हामी मूल्य बढाउनु पर्ने दबाबमा पर्यौं,’ भट्टराईले भने, ‘नयाँ मूल्य नबढाए र आईओसीलाई इन्धनको पैसा तिर्न निगम एक्लैले नसक्ने अवस्था बन्यो।’
१५ दिन अगाडिको मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा निगमलाई प्रतिलिटर क्रमशः १६ रुपैयाँ ५९ पैसा र १२ रुपैयाँ ५८ पैसा घाटा रहेकोमा अब त्यस्तो घाटा बढेर क्रमशः लिटरमा २० रुपैयाँ ५२ पैसा र १६ रुपैयाँ ८ पैसा पुगेको भट्टराईको भनाइ छ।
यस्तै खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर घाटा ५६५ रुपैयाँबाट बढेर ६६५ रुपैयाँ पुगेको पनि उनले दाबी गरे। मंगलबार प्राप्त नयाँ मूल्यपछि निगमको नियमित बिक्रीबाट आईसीको रकम भुक्तानी हुन नसक्ने अवस्था आएको निगमको भनाइ छ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘मार्च महिनामा निगमले दुई वटा किस्ता आईओसीलाई भुक्तानी गर्नुपर्छ। सो किस्ता तिर्न हामीसँग मूल्य नबढाए वा सरकारले पैसा नदिए सकिन्न ।’ आगामी ८ र २३ तारिखमा उक्त किस्ता तिर्नुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया