काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसीबारे भएका सबै सम्झौता उपलब्ध गराउन माग गरेका छन् ।
अमेरिकी सहयोग परियाेजना मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे संसदमा सुरु भएको छलफलमा भाग लिँदै एकीकृत समाजवादीका सांसद खनालले एमसीसीबारे १२/१३ वटासम्म सम्झौता भएको बताए ।
उनले अघि भने, ‘सम्पूर्ण दस्तावेजहरु यो सदनमा नल्याई कसरी छलफल हुनसक्छ । म २७५ जना सांसदहरुलाई आग्रह गर्न चाहन्छौं, तपाई हामी भेडाबाख्रा होइनौं, जनताका प्रतिनिधि हौं । कुनै पनि सम्झौतबारे ए टू जेड हेर्न पाउनुपर्छ, अध्ययन गर्न पाउनुपर्छ । अनि मात्र यो सदनले के गर्ने भन्ने निर्णय गर्नुपर्छ ।’
सम्पूर्ण सम्झौताका साथै एमसीएलाई गरेका सम्पूर्ण पत्रचार संसदमा ल्याउन समेत माग गरेका छन् । उनले भने, ‘मान्छेहरुले के हल्ला गरिरहेका छन् भने यो त झलनाथ खनालको पालामा सुरु भएको हो । म यो सदनलाई जानकारी गराउन चाहन्छु, मैले कुनै सहमति गरेको छैन । न कुनै सैद्धान्तिक सहमति गरेको छु, न कुनै व्यवहारिक सम्झौता गरेको छु, न कुनै चिठ्ठी पत्र लेखेको छु ।’
पूर्व प्रधानमन्त्री खनालले एमसीसी सम्झौता शर्तै शर्तले बेरिएको भन्दै ती शर्तहरु आफूहरुलाई अमान्य रहेको बताए । उनले त्यस्ता शर्त मानेर सहयोग लिनुभन्दा आफ्नै साधन र स्रोत प्रयोग गरेर देशको विकास गर्न सकिने बताए ।
प्रतिक्रिया