काठमाडौँ । बानेश्वरमा एमसीसी विरुद्धको प्रदर्शनमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।
प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा छोडेको हो । भागाभाग हुँदा केही प्रदर्शनकारी घाइते समेत भएका छन्
संसद्मा एमसीसी टेबल भइसकेदेखि नै थालिएको एमसीसी विरुद्धको प्रदर्शनलाई विप्लव नेकपा, राप्रपा र माओवादीका भ्रातृ संगठन लगायतले आइतबार पनि निरन्तरता दिएका थिए । आजै संसद्बाट एमसीसी अनुमोदन गर्ने तयारी भइरहेकाले बानेश्वर क्षेत्रको सुरक्षा पनि निकै बढाइएको छ।
उता अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा छलफल सुरु भएको छ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् ।
प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने वेलमा नाराबाजी गरिरहेका छन् । यस्तै आफ्नै पार्टीको विरोध छलेर एमाले सांसद भीम रावल एमसीसीमाथिको सैद्धान्तिक छलफलमा सहभागी भएका छन् ।
उनको पार्टी नेकपा एमालेले संसद् अवरोध गरेर विरोध प्रदर्शन गरिरहेको छ । रावललाई सभामुख अग्निप्रसाद सापकोटाले छलफलमा सहभागी हुन दिएका हुन् । यसअघिको बैठकमा एमालेले सांसद रावललाई समय दिएको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण समेत गराएको थियो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणालाई मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न गरेका छन् ।
मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे संसदमा सुरु भएको छलफलमा भाग लिँदै गुरुङले एमसीसीमा नेपालको सर्वभौम अधिकार खण्डित हुने प्रावधानहरू रहेको बताए ।
प्रतिक्रिया