• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    चौतर्फी आलोचना भएपछि व्याख्यात्मक घोषणाबारे प्रचण्डले दिए यस्तो स्पष्टीकरण

    1.6K
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने सत्तारुढ गठबन्धनबीचको सहमतिको बचाउ गरेका छन् ।

    आइतबार विहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । लगतै सत्तारुढ गठबन्धनको बैठकमा पनि त्यही सहमति भएको छ । अब आइतबार नै बस्ने संसद बैठकले प्रश्न उठेको विषयमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने तयारी छ ।

    त्यसअघि बसेको संसदीय दलको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका छन्, ‘गठबन्धन पनि बच्ने, एमसीसीको समस्या पनि हल हुने उपाय हो व्याख्यात्मक घोषणा ।’

    लामो समयदेखि संसद अवरुद्ध गरेको एमालेले १४ सांसद र सभामुखलाई हटाउन लागेकाले पनि यसो गर्नु परेको उनको तर्क थियो । प्रचण्डले एमसीसी पास गर्ने निर्णय गरेपछि पार्टीभित्र र बाहिर चौतर्फी आलोचना र बिरोध भइरहेकाे छ ।

    यसैबीच नेकपा माओवादी केन्द्रका ५ नेताले अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णयको विरोध गरेका छन् ।

    केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने प्रस्ताव ल्याएका थिए । छलफलका क्रममा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, कृष्णबहादुर महरा, लिलामणि पोखरेल र गिरिराजमणि पोखरेलले मात्र त्यसको विरोध गरेका छन् ।

    श्रेष्ठले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्नु महाधिवेशनको निर्णय विपरीत हुने बताए । केन्द्रीय समितिमा पनि छलफल नगरी महाधिवेशनको निर्णय विपरीत जाने अधिकार कसैलाई नभएको भन्दै उनले भने, ‘यो संसदवादी, आत्मसुरक्षावादमा आधारित राष्ट्रिय आत्मसमर्पणवादी निर्णय हो ।’

    देव गुरुङले संशोधन नगरी मूल सम्झौता पास गर्न नमिल्ने बताए । उनले भनेका थिए, ‘यसले राष्ट्रिय आत्मसमपर्णवाद र गद्दारीको दिशातिर जान्छ । यसले देशलाई दुर्घटनाबाट बचाउने होइन, झन् दुर्घटनारतिर लैजान्छ ।’

    अर्का नेता कृष्णबहादुर महराले व्याख्यात्मक घोषणा संशोधन नभई सम्झौताकै व्याख्या भएको बताएका थिए । लिलामणि पोखरेलले यस्तो पार्टीमा नबस्ने बताए भने गिरीराजमणि पोखरेलले पार्टी र वाम आन्दोलनलाई सिध्याउने योजनामा सामेल हुनु गलत भएको बताएका छन् ।

    यस्तै एमसीसीको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरुले आज पनि काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन बाहिर प्रदर्शन गरेका छन् । युवा संगठन वाईसीएलको झण्डा बोकेका उनीहरुले ‘एमसीसी राष्ट्रघाती’ भएको भन्दै केहीबेर नाराबाजी गरेका छन् ।

    माओवादी बैठकलगत्तै बसेको सत्ता गठबन्धनको बैठकले पनि एमसीसीलाई आजै संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

    एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा दैनिकजसो प्रदर्शन हुँदै आएको छ । एमसीसी विरुद्धको प्रदर्शनमा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, राप्रपाका कार्यकर्ताहरु समेत छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ