काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले आजै अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी पारित गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
‘ब्याख्यात्मक टिप्पणीसहित संसदमा पेश गरेर आजै एमसीसी पारित गर्न गठबन्धन सहमत भयो,’ उनले भने । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा निर्णय गर्न बाँकी रहेको भन्दै समय मागेका थिए ।
तर, समय नभएको भन्दै आजै पारित गर्ने निर्णय गरिएको उनले बताए । नेता पौडेलले थपे, ‘एमसीसी आजै पारित हुन्छ ।’ नेता नेपाल सत्ता गठबन्धनको बैठकबाट छिट्टै बाहिरिएका थिए । अहिले एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ ।
सत्ता गठबन्धनको बैठकअघि आज बिहान बसेको नेकपा माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो । पाँच दलीय सत्ता गठबन्धनले एमसीसी पास हुँदै गर्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि साथ दिने विश्वास व्यक्त गरेको छ ।
‘सत्तारुढ गठबन्धन सहमत भइसकेको अवस्थामा एमाले पनि पक्षमा उभिने गठबन्धनको विश्वास छ । किनभने उहाँहरुले नै एमसीसी संसदमा लगेको हो र उहाँहरुको प्रस्ताव नै अगाडि बढाउन लागेको हो,’ नेता पौडेलले भने ।
एमसीसीका पक्षमा मत प्रकट नगरे एमालेमाथि नैतिक प्रश्न उठ्ने पौडेलको भनाइ छ । ‘राजनीति दलसँग राजनीतिक नैतिकता हुनुपर्छ । त्यो नैतिकता छ कि छैन भन्ने परीक्षण पनि हुन्छ अब एमालेको,’ नेता पौडेलले भने ।
एमसीसी परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी)ले स्थायी समिति बैठक सुरु भएको छ । सत्तारुढ गठबन्धन दल एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एकीकृत समाजवादीले बैठक बोलाएको हो ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्ने सत्ता गठबन्धनले निर्णय गरेको थियो । बैठकपछि काँग्रेस नेता रामचन्द्र पौडेलले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना पारित गर्ने गठबन्धनमा सहमति भएको बताए ।
प्रतिक्रिया