• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    युक्रेनलाई एलन मस्कको पनि सहयोग, उपलब्ध गराए तार र टावर विनाको इन्टरनेट

    1.2K
    SHARES


    काठमाडौं । स्पेस-एक्सका संस्थापक एलन मस्कले पनि युक्रेनलाई सहयोग गर्ने घोषणा गरेका छन् । रुसको आक्रमणबाट युक्रेनको इन्टरनेटमा सेवामा क्षति पुगेपछि एलन मस्कले स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड युक्रेनमा सक्रिय बनाउने घोषणा गरेका हुन् ।

    युक्रेनका उपप्रधानमन्त्रीले ट्वीटरमार्फत् एलन मस्कलाई ट्याग गरेर स्टारलिंक स्याटेलाइट सेवा दिन आग्रह गरेका थिए । त्यसको जवाफमा मस्कले स्टारलिंक स्याटेलाइट सेवा सक्रिय भइसकेको जनाएका छन् ।

    स्टार लिंक एलन मस्कको कम्पनी स्पेस-एक्सको एक इकाइ हो । यसले फाइबर अप्टिक, केबल वा टावरविना नै इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ । यसैबीच युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले देश छाडेर सुरक्षित स्थानमा जान अमेरिकाले गरेको प्रस्ताव अस्वीकार गरेका छन् ।

    ‘लडाइँ युक्रेनमा भइरहेको छ । हामीलाई हतियार चाहिएको छ । कुनै उद्धार होइन,’ अमेरिकी प्रस्ताव अस्वीकार गरेका जेलेन्स्कीले भनेका छन् । किभका सडकमा देखा परेका उनले ‘आफ्नो देशको प्रतिरक्षा गर्ने’ बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले आफैंले खिचेको भिडियो सार्वजनिक गर्दै रुससँग आत्मसमर्पण गर्न सेनालाई आह्वान गरेको समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।

    भिडियोमा उनी आफ्ना सहयोगीसँग किभमा देखिन्छन् । ‘हामी सबै जना किभमै छौं,’ उनले भनेका छन् । ‘मैले सेनालाई हतियार बिसाउन भनेको मिथ्या सूचनाहरू सार्वजनिक भइरहेका छन्,’ उनले भने, ‘किभमै छु । हामी हाम्रो देशको प्रतिरक्षा गर्छौं ।’ जेलेन्स्कीले रुसी आक्रमणविरुद्ध जनाएको प्रतिक्रियाका कारण उनको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । जेलेन्स्कीले रुसविरुद्ध निरन्तर लडिरहने प्रतिबद्धता जनाएका बीबीसीले उल्लेख गरेको छ । ‘हामी तिमीहरूको आक्रमणको सामना गर्छौं,’ उनले भनेका छन्, ‘हामी भाग्दैनौं ।’

    जेलेन्स्कीले आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सेनाले असफल बनाइदिएको बताए । ‘हामीले रुसी योजना असफल पारेका छौं,’ जेलेन्स्कीले भने । किभ र वरपरका सहरहरू युक्रेनी सेनाको नियन्त्रणमै रहेको उनको दाबी छ । युरोपेली संघमा आबद्ध हुने अधिकार आफ्नो देशसँग रहेको जेलेन्स्कीको भनाइ छ ।

    युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण देश छाड्नेको संख्या बढ्दै गएको छ । १ लाख १५ हजार युक्रेनी नागरिक छिमेकी देश पोल्यान्ड पुगेका छन् । तीमध्ये १५ हजार पछिल्लो २४ घण्टामा पोल्यान्ड पुगेका हुन् । पोल्यान्डका गृहमन्त्रीका अनुसार पछिल्लो समय रुसले युक्रेनको राजधानी किभमा आक्रमण तीव्र पारेपछि पोल्यान्ड प्रवेश गर्नेहरूको संख्या बढेको हो ।

    यसैबीच, बेलायत र अन्य केही देशले युक्रेनलाई थप ‘मानवीय तथा सैन्य सहयोग’ उपलब्ध गराउने सहमति गरेका छन् । यूकेका सशस्त्र बलसम्बन्धी मन्त्री जेम्स हिपीले ती देशहरूसँग समन्वय गरेर युक्रेनीहरूको हातमा सैनिक सहायता पुर्‍याइने बताए । रुसी फौजलाई युक्रेनी सेनाले सशक्त प्रतिवाद गरेको र त्यसको प्रतिक्रिया स्वरूप क्रेमलिनले भीषण गोलाबारी गर्न सक्ने हिपीको भनाइ छ ।

    त्यस्तै, फ्रान्सले पनि युक्रेनी सेनालाई सैन्य सहयोग गरेको छ । युक्रेनका लागि पश्चिमा देशहरूले सहयोग उपलब्ध गराउने बताइरहेका बेला फ्रान्सले हतियार र अन्य सामग्री पठाएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ