• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    युक्रेनमा रहेका २ सय २५ नेपाली दूतावासको सम्पर्कमा, अरु १ सय ५० कहाँ पुगे

    845
    SHARES


    दोहा । युक्रेनमा रहेका २ सय २५ जना नेपाली जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले अहिलेसम्म २ सय २५ जना दूतावासको सम्पर्कमा आएको बताए ।

    दूतावासले ट्राभल एडवाइजरी जारी गर्दै युक्रेनमा रहेका सबै नेपाली नागरिकहरूलाई सीमा नाका हुँदै रोमानीया, पोल्यान्ड, हंगेरी र स्लोभाकिया प्रवेश गर्न अनुरोध गरिसकेको छ।

    सीमा नाका प्रवेश गर्ने क्रममा आफ्नो परिचय खुल्ने कागजात राहदानी वा यात्रा अनुमति पत्र आवश्यक पर्ने भएमा आफ्नो राहदानीको फोटोकपी एक प्रति र डिजिटल फोटो एक प्रति दूतावासले उपलब्ध गराएको ठेगानामा पठाउन भनिएको छ ।

    शनिबार मात्र राहदानी लगायत अन्य कागजात नभएका १९ जनाको ट्राभल डकुमेन्ट बनाइएको दूतावासले जनाएको छ । यो समाचार तयार पार्दासम्म युक्रेनमा रहेका १ सय ५० जनाभन्दा बढी नेपालीहरू पोल्यान्ड पुगिसकेको राजदूत खड्काले बताएका छन् ।

    यसैगरी, तीन जना नेपाली स्लोभाकिया पुगिसकेका छन् । २३ जना त्यहाँको नाकामा प्रवेश गर्ने क्रममा रहेको बताइएको छ । दुई नेपाली हंगेरी पुगेका छन् भने एक जना नेपाली रोमानीया प्रवेश गरिसकेको र दुई जना प्रवेश गर्ने क्रममा त्यहाँको सिमानाकामा रहेको उनले बताए ।

    पोल्याण्डले सिमानाका बाट प्रवेश गरेकालाई एक महिनाको भिसा दिने बताएको छ । साथै सीमा नाकाबाट प्रवेश गरिसकेपछि कुनै समस्या भएमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) वा नेपाली समुदायका नेतृत्वकर्ता वा अगुवाहरूलाई सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

    द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रमबाट ‘रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन गरिएको हो ।

    गैर आवासीय नेपाली संघका युरोपस्थित राष्ट्रिय समितिसमेत रहेको सो समितिको संयोजकमा गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी (रुस) रहेका छन् ।

    समितिको सदस्य सचिवमा डा. चिरन्जिवी खड्का (चेक रिपब्लिका), सदस्यहरूमा जीवन केसी (पोल्याण्ड), हरिबहादुर मल्ल (युक्रेन), शिवकुमार भुर्तेल (रुस), जयाप्रसाद शिवाकोटी (स्लोभाकिया), नवराज पोखरेल (रोमानिया), सुरेन्द्र श्रेष्ठ (हङगेरी), यदुराम पन्थी (चेक रिपब्लिका), मिलन पन्त जर्मनी) र प्रेस संयोजकमा चिरन शर्मा (यूके) रहेका छन् ।

    द्वन्द्वपीडितका लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि डा. बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमिति समेत गठन गरिएको छ ।

    जर्मनीका लागि नेपाली राजदूत खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित २२० जना नेपाली दूतावासको सम्पर्कमा आएको जानकारी दिए । उनले ती नेपालीहरूको सहयोगको लागि दूतावासले नेपाली सरकार, स्थानीय संघसंस्थासँग समन्वय गरिरहेको बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ