• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एमसीसीको पक्षमा उभिन प्रचण्डलाई आयो ३ बजेसम्मको अल्टिमेटम, त्यसपछि के हुन्छ ?

    558
    SHARES


    काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले सत्ता साझेदार माओवादी केन्द्रलाई एमसीसीको पक्षमा उभिन शनिबार तीन बजेसम्मको डेडलाइन दिएको छ ।

    शुक्रबार राति बालकोटमा एमाले अध्यक्ष केपी ओलीसंग वार्ता सकेपछि काँग्रेसका एक नेताले भने, ‘शनिबार तीन बजेसम्म प्रचण्डले पार्टीमा बैठक गराएर एमसीसी पास गर्ने ठाउँमा पुग्नुभयो भने गठबन्धन जोगिन्छ । किनभने प्रचण्ड युर्टन गर्न माहिर हुनुहुन्छ । उहाँले युर्टन गर्नुभयो भने गठबन्धनको बाटोबाट अगाडि जान्छ ।’

    त्यसैका लागि शनिबार अपरान्ह तीन—चार बजेपछि मात्र एमालेसँग काँग्रेसले छलफलको समय राखेको छ । ती नेताले भने, ‘त्यो बेलासम्म एमसीसीमा म भोट हाल्छु भनेर प्रचण्डसँग सहमति भइसक्नुपर्यो । त्यो भएन भने काँग्रेस र एमालेबीच भोलि नै नयाँ घटनाक्रमको विकास हुन्छ ।’

    ती नेताका अनुसार शनिबार प्रचण्डले एमसीसी पक्षमा भोट हाल्ने ठाउँमा नपुगे काँग्रेस र एमालेले कुनै हालतमा उपाय निकाल्ने छन् । त्यसका लागि शनिबार अपरान्ह ओली निवास बालकोटमै छलफल हुनेछ ।

    काँग्रेसले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको साथ खोजेको छ । फागुन १६ गते एमसीसी पास गर्ने तयारीमा जुटेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेलाई साथमै उभ्याउने भगीरथ प्रयास गरिरहेका छन् ।

    सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यको हात अगाडि बढाएका हुन् । देउवाले पुस २४ गतेदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद सुरु गरे पनि परिणाम निस्किन सकेको छैन ।

    यस​बीच प्रधानमन्त्री देउवाले तीन पटक ओली निवास बालकोट गएर छलफल गरेका थिए । एकपटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित ओलीसँग बालुवाटारमा छलफल पनि गरे । तर, एमसीसीबारे सत्ता गठबन्धन र एमालेको साथ जुटाउन देउवा अहिलेसम्म असमर्थ छन् ।

    बिहीबार दिउँसो संसद भवनमा ओलीसहित एमालेका नेतासँग संवाद गरेमा देउवाले सोही साँझ पुनः संवाद गरेका थिए । शुक्रबार माधव नेपाल र प्रचण्डसँगको छलफलपछि काँग्रेसका नेताहरुसँग आन्तरिक संवाद गरेका देउवा साँझ ओली निवास बालकोट पुगेका थिए । काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई साथमा लिएर देउवाले ओलीसँग करिब २ घण्टा संवाद गरेका थिए ।

    ओलीसँगको छलफलको सुरुमा प्रधानमन्त्री देउवाले प्रचण्ड र माधव नेपाल एमसीसी पास गर्न अलिकति सकारात्मक कुरा गरेको सुनाए । प्रचण्ड र माधव नेपालले भोट हालेर एमसीसी पास हुने भए आफूलाई कुनै आपत्ति नभएको जवाफ दिए । ओलीले भने, ‘हामी त एमसीसी पास नै होस् भन्न चाहन्छौं । तर हाम्रो माग पूरा नभई हामी त भाग लिग पाउँदैनौँ । हामीलाई संसद प्रवेशमा सभामुखले रोक्नुभएको छ ।’

    कुराकानी हुँदै जाँदा ओलीले प्रचण्डको विश्वास भने गरि नहाल्न सुझाएका थिए । ‘तपाईले एमसीसीको पक्षमा मत हाल्छ भनेर पत्याउनु भएको छ ? भोलि कुरा फेर्नुहुन्छ,’ ओलीले भने ।

    प्रधानमन्त्री देउवालाई पनि प्रचण्डले भोलि कुरा फेर्छन् कि भन्ने आशंका रहेको जवाफ फर्काए । ‘मलाई पनि छ त्यो आशंका । त्यसैले त तपाईं सहयोग गर्नुस् न त । तपाईं र हामी मिलौँ, एमसीसी पास गरौं । किन यसमा अल्मलिइराख्ने ?,’ देउवाले ओलीलाई भने ।

    त्यसका लागि काँग्रेसले वातावरण बनाए आफू तयार रहेको ओलीको भनाइ थियो । त्यसपछि सभामुख अग्नि सापकोटाको राजीनामा र १४ सांसदको कारबाहीका विषयमा लामो छलफल भयो ।

    एमाले नेताहरुले यी दुई विषयमा एमसीसी पास नहुनु पूर्व छिनोफानो हुनुपर्नेमा जोड दिए । तर, ओलीले सभामुख नहटाइ एमसीसीमा एमालेले भाग लिन नसक्ने अडान राखे । काँग्रेस नेताहरुले भने फागुन १६ गतेभित्र एमसीसी पास गर्नुपर्ने भन्दै यी विषयमा त्यसपछि जान सकिने बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ