• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    संसद बैठक फेरी एकाएक किन गरियो स्थगित ? यस्तो छ कारण

    1.3K
    SHARES


    काठमाडौं । प्रतिनिधिसभा (संसद) बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

    तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि दुई १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

    एमसीसीकै कारण ‘आईसीयू’मा गठबन्धन
    प्रमुख विपक्षी दल नेकपा एमाले र सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूबीच बिहीबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा लामै समय भेटवार्ता चल्यो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान अन वान’ कुरा भएपछि दुवै दलका शीर्ष नेताहरूसहित संवाद भएको थियो । संवादमा एमालेका ओलीसहित ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेल थिए भने माओवादी केन्द्रका प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत थिए ।

    तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि पहिलोपटक भएको यो ‘आइब्रेक’ राष्ट्रिय राजनीतिका निम्ति अर्थपूर्ण छ । किनकि ५ पुस २०७७ मा प्रधानमन्त्रीको हैसियतमा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि त्यसविरूद्ध सडक र सदन संघर्षमा प्रचण्ड उत्रिएका थिए । प्रचण्डसहितको नेतृत्वमा चलेको शक्ति संघर्षकै जगमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गएको ६ जेठमा पाँच दलीय गठबन्धन बनेको हो ।

    तर सत्ता गठबन्धन संकटमा परेको सन्देश जानेगरी ओलीसँग प्रचण्ड संवादमा बसे । ‘माओवादी केन्द्रकै तर्फबाट संवादको प्रस्ताव आएपछि नेताहरू छलफलमा बस्नुभएको हो’, एमाले प्रमुख सचेतक विशाल भट्टराई भन्छन् । तर वार्ता सकारात्मक बनेन । प्रचण्डले एमसीसी बिफल बनाउने र सत्ता गठबन्धन परिवर्तनकै प्रस्ताव गरेका थिए । तर यस्तो प्रस्तावमा ओली सहमत बनेन् । उल्टै एमसीसीको विपक्षमा आफू कहिल्यै नरहेको जवाफ दिए ।

    यो भेटवार्ता लगत्तै एमाले नेताहरू बालुवाटार पुग्नुले पनि माओवादी केन्द्रसँगको छलफल सकारात्मक हुन नसकेको अनुमान गर्न सकिन्छ । कांग्रेस नेताहरूसँग भने ओलीले बिहीबार मात्रै दुई पटक वार्ता गरे । माओवादी केन्द्रसँग संवादमा बस्नुअघि ओलीकै कार्यकक्षमा कांग्रेस नेताहरूसँग वार्ता भएको थियो ।

    पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी पेस भइरहँदा संसदमा उभिएर विरोध जनाए भने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले कार्यसूचीबाटै एमसीसी हटाउन माग गरे । त्यसपछि पनि एमसीसीविरूद्ध सडक प्रदर्शन कायमै राखेपछि कांग्रेस नेताहरू गठबन्धन तोडेर भएपनि एमसीसी अनुमोदन गराउनेगरी अगाडि बढेका छन्

    अर्थात्, सत्ता गठबन्धनका मुख्य दल कांग्रेस र माओवादी केन्द्रले विपक्षी एमालेसँग अलग-अलग वार्ता गरे । बिहान कांग्रेस बाहेक सत्ता साझेदार तीन दल (माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्ष) बीच अलग्गै छलफल गरेर प्रचण्डले प्रधानमन्त्री देउवासँग भेट गरेपछि भएको यो अलग-अलग भेटवार्ताले सत्ता गठबन्धन धर्मराएको बुझ्न सकिन्छ ।

    नौ महिनामै पाँच दलीय गठबन्धन टुट्ने अवस्था बन्नुको पछाडि भने एमसीसीमा साझा धारणा बन्न नसक्नु हो । प्रधानमन्त्री देउवा र उनको दल कांग्रेस, एमसीसी जसरी पनि अनुमोदनको पक्षमा उभिएको छ भने बाँकी सत्ता साझेदार विरुद्धमा छन् । कांग्रेसलाई जसपाका बाबुराम भट्टराई समूह र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मात्रै साथ दिएका छन् ।

    ‘एमसीसीमा साथ दिनुहोस्, सत्ता साझेदारी गरौं भन्ने दुवैतिरका कुरा छ । तर हाम्रा लागि हामीले उठाउँदै आएको माग प्रमुख हो । त्यसपछि बाँकी कुरा सोच्ने हो’, एमालेका एक स्थायी कमिटी सदस्य भन्छन् । एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहित १४ सांसदलाई पदमुक्त गरिनुपर्ने माग राखेर गएको २३ भदौदेखि लगातार संसद अवरोध गर्दै आएको छ । ओलीले प्रधानमन्त्री देउवासँग पनि माग पूरा नभएसम्म एमसीसीबारे एमालेको निर्णय नआउने अडान लिएका छन् ।

    तर ६ फागुन साँझ पत्नी आरजुसहित प्रधानमन्त्री देउवा बालकोट पुगेपछि कांग्रेस नेताहरुसँग एमालेको संवाद बाक्लिएको छ । सडक र सदनको विरोधबीच ८ फागुनमा एमसीसी प्रतिनिधिसभामा पेश भएपछि एमाले नेताहरुसहित ओली मंगलबार -१० फागुनमा) बालुवाटार पुगेका थिए । बालुवाटारमा ओलीको चार प्रस्ताव थियो- सभामुख हटाउने, १४ सांसद पदमुक्त गरिनुपर्ने, निर्वाचनको सुनिश्चितता र सत्ता बाँडफाँड ।

    अन्य मागमा सकारात्मक भएपनि माधव नेपाललाई पार्टीविहीन बनाउन देउवा तयार भएनन् । त्यसपछि पनि प्रधानमन्त्री देउवाले गठबन्धनबाटै एमसीसी अनुमोदन गराउने प्रयत्न गरे । तर एमसीसीको विरुद्ध सडक संघर्ष र सदनमा विरोध जनाएको माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी अनुमोदनका निम्ति तयार भएनन् ।

    पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी पेस भइरहँदा संसदमा उभिएर विरोध जनाए भने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले कार्यसूचीबाटै एमसीसी हटाउन माग गरे । त्यसपछि पनि एमसीसीविरूद्ध सडक प्रदर्शन कायमै राखेपछि कांग्रेस नेताहरू गठबन्धन तोडेर भएपनि एमसीसी अनुमोदन गराउनेगरी अगाडि बढेका छन् ।

    एमसीसी अनुमोदन गर्न प्रधानमन्त्रीले ‘ट्रयाक टू’ मा जाने प्रष्ट सन्देश दिएका छन् । एमसीसीविरुद्ध देखिएको जनमतका कारण पनि प्रधानमन्त्री देउवा एमालेसँग सहकार्यमा जाने सम्भावना बढी छ । बिहीबार तय भएको प्रतिनिधिसभा अन्तिम समयमा स्थगित गरेर एमालेसँग वार्ता भएपछि महामन्त्री गगन थापाले गठबन्धन जोगाउन नसकिएको बताएका थिए ।

    थापाले जस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गठबन्धन तोडेर भएपनि एमसीसी अनुमोदन हुने बताए । तनहुँ पुगेका पौडेलले गठबन्धन टुट्ने र चुनाव घोषणा हुन सक्ने चेतावनीयुक्त अभिव्यक्ति दिए, ‘सरकारले ल्याएको प्रस्ताव गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख विपक्षी दलको सहयोगमा भए पनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ ।’

    गठबन्धन निर्माण गर्ने एक प्रमुख नेता समेत भएकाले पौडेलको अभिव्यक्ति अर्थपूर्ण छ । गठबन्धन जोगाउँदै एमसीसी अनुमोदन गराउने प्रयोजनका निम्ति पौडेलले सोमबार मात्रै सत्ता साझेदार दलका प्रमुखहरु प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवसँग भेटेका थिए । तर एमसीसीको पक्षमा पार्टीभित्र निर्णय गराउन नसक्ने नियतिमा पुगेका तीनै जना नेताबाट पौडेलले सकारात्मक जवाफ पाउन सकेनन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ