काठमाडौँ । रूस र युक्रेनबीच जारी तनावबारे नेपालले औपचारिक धारणा सार्वजनिक गरेको छ।
बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले उक्त क्षेत्रमा पछिल्लो समय विकसित भइरहेका घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ। नेपालले सबै पक्षलाई तनाव बढ्न नदिन उच्च संयमता अपनाउन आग्रह गरेको छ।
‘संयुक्त राष्ट्रसंघको सदस्य हुनुका नाताले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख भएबमोजिम कुनै पनि मुलुकको सार्वभौमिकता र अखण्डताको पूर्ण सम्मान गर्नुपर्छ भन्ने ठान्छ,’ विज्ञप्तिमा भनिएको छ।
रूसले केही दिनअघि युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिनु राष्ट्रसंघको बडापत्र विपरीत भएको पनि नेपालले उल्लेख गरेको छ।
‘कुनै पनि सार्वभौम मुलुकविरूद्ध कुनै पनि परिस्थितिमा शक्तिको प्रयोग गर्ने कुराको नेपाल विरोध गर्छ र कूटनीति र वार्तामार्फत् विवादको शान्तिपूर्ण समाधान गर्न सकिने विश्वास गर्छ,’ विज्ञप्तिमा भनिएको छ।
उता संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकमा चीनले युक्रेनको मुद्दामाथि शान्तिपूर्ण समाधानको बाटो पूर्ण रुपमा बन्द नभएको बताएको छ ।
संयुक्त राष्ट्रमा चीनका राजदूत जाङ जुनले यो बाटो बन्द हुन पनि नहुने बताएका छन् । उनका अनुसार चीन हरेक त्यो कुटनीतिक कदमको स्वागत गर्नेछ, जुन युक्रेन संकटको समाधानका लागि हुनेछ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार टिभी सन्देशमा पूर्वी युक्रेनमा विशेष सैनिक कारवाहीको घोषणा गरेका छन् ।
संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकमा यसबारे चर्चा भइरहेको छ । पुटिनले युक्रेनका सैनिकलाई हतियार बिसाउन भनेका छन् र यो मामिलामा दखल दिनेहरुलाई रुसले जवाफ दिने बताएका छन् । राष्ट्रपति पुटिनका अनुसार उनको उद्देश्य युक्रेनमाथि कब्जा गर्ने होइन ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले यसको आलोचना गरेका छन् जबकी संयुक्त राष्ट्र महासचिव एन्टोनिया गुटेरेसले रुसका राष्ट्रपति पुटिनले उनीहरु मानवताको नाममा आफ्ना सैनिकलाई फिर्ता बोलाउन आग्रह गरेका छन् ।
पछिल्ला केही दिनदेखि राष्ट्रपति पुटिनले युक्रेनको अलगाववादीको नियन्त्रण भएका दुई क्षेत्र लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र क्षेत्रको रुपमा मान्यता दिएका थिए । त्यसलगत्तै त्यहाँको स्थिति तनावपूर्ण रहेको छ ।
यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन कब्जा गर्ने योजना नभएको दाबी गरेका छन् । युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका पुटिनले युक्रेन कब्जा गर्ने योजना भने नभएको बताएका हुन् ।
आज बिहान टेलिभिजन सम्बोधन गर्दै उनले युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् । साथै उनले युक्रेनका जनताले आफ्नो देश कसले चलाउने भन्ने कुरा आफैं चुन्न सक्ने बताएका हुन् ।
न्याय र सत्य रुससँग रहेको दाबी गर्दै पुटिनले पूर्वी युक्रेनमा तैनाथ सैनिकहरूलाई भनेका छन्- हतियारहरु फ्याँक र आफ्नो घर फर्क ।
प्रतिक्रिया