• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रहरीको प्रारम्भीक अनुसन्धानले खोल्यो कलाकार लामाको मृत्युको यस्तो कारण

    1.3K
    SHARES


    काठमाडौँ । वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको आफ्नै कारमा अल्झिएर लड्दा निधन भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले खुलेको छ। भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए।

    प्रहरीका अनुसार ६६ वर्षिय लामा आफ्नै गाडीमा अल्झिएर लड्दा मृत्यु भएको हो। प्रहरीका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे मिटिङमा सहभागी हुन भनि बौद्ध गएका थिए। उनी बिहान आफ्नै घर अगाडि मृत फेला परेका हुन्।

    ‘राति बौद्धबाट फर्किएका थिए। आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले भने।

    ‘बिहान ७ बजेर ५ मिनेटमा आफन्तले हेर्दा बा ३ च ७७४१ नं. को मारूती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परि टाउको भुईमा जोतिएको अवस्थामा लामा मृत फेला परेका हुन्’, सूचना अधिकारी प्रनाउ राजु पाण्डेले बताए।

    पाण्डेका अनुसार घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने पनि बिहानमात्र उठेर हेरेका रहेछन्। ‘घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने सुनेका थिए। तर राति उठेर हेरेका रहेनछन्।

    उहाँ लडेको बिहान मात्रै थाहा भएको हो। एउटा खुट्टा कारमा थियो। जिउँ भुइँमा लडिरहेको थियो। अल्झिए जस्तो देखिन्छ। टाउकोमा चोट लागेको देखिन्छ,’ प्रनाउ पाण्डेले भने।

    प्रनाउ पाण्डेका अनुसार अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ। सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले‍ पाँच दशकअघि गायन यात्रा शुरू गरेका थिए।

    लामाका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्‍यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।

    एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए। पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए।

    यता कलाकार दीपकराज गिरीले फिल्म ‘छक्का पन्जा ४’ मा जयनन्द लामासँग काम गर्ने इच्छा अधुरो रहेको बताएका छन् । बुधबार लामाको असामयिक निधन भएको खबर बाहिर आएपछि उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफ्नो धारणा राखेका हुन् ।

    ‘‘छक्का पन्जा ४’ मा दाईसँंग काम गर्ने सपना पनि अधुरै रह्यो, संसारको यो तितो यथार्थलाई स्वीकार्न नचाहेर पनि स्वीकार्नै पर्दो रहेछ’ उनले भने–‘गायक तथा कलाकार जयनन्द लामा दाईप्रति हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

    ‘ज्वाइँले बहिनी कुटेछ, राम्रो धेरै राम्रो, तर कुटेको अलि मिलेनछ, त्यहि भएर मान्छे कसरी कुट्ने भनेर सिकाउनु आएको’ स्वर्गीय लामाले अभिनयको सिलसिलामा बोलेको यो एक सम्वाद निकै हिट छ । दीपकले पनि यो सम्वाद सहित पोष्ट गरेको स्टाटसमा कलाकारलाई सम्झिरहने बताए ।

    ‘हरेक भेटमा दीपक भाइ गायकको रूपमा त मेरो एउटा परिचय थियो । तर अभिनयले त मलाइ घर घरमा पुर्यायो । उहाँ खुशी हुँदै भन्ने गर्नुहुन्थ्यो’ दीपकले अगाडि थप्छन्- ‘हाँस्ने एउटा गज्जबको शैली थियो उहाँसँग जुन हामीले चलचित्रमा पनि प्रयोग गर्यौ, उहाँको त्यो हाँसो सुनेपछि एउटा छुट्टै माहौल नै बन्थ्यो ।’

    लामाको अजिवको हाँसो, सकारात्मक सोच र बिन्दास सपना रहेको समेत गिरीले उल्लेख गरेका छन् । ‘जीवन, बगैँचामा फूलेको फूल जस्तै हो । फूलेपछि झर्नै पर्छ । तर सम्झनाका फाँटहरूमा उहाँसँग बितेका हरेक पल सधै फुली नै रहने छन्’ दीपकको स्टाटसमा उल्लेख छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ