काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ ।
अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह एको उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।
दोस्रो सेमिफाइनल खेल पनि आजै हुँदैछ । अर्को खेल ओमान र आयरल्याण्डबीच हुनेछ ।आयरल्याण्ड समूह एको विजेता हो भने ओमान समूह बीको उपविजेता हो । दुवै सेमिफाइनल खेल आज अपराह्न पौने चार बजे ओमानको अल अमेरात रंगशालामा एकै समयमा हुनेछन् ।
यूएईलाई हराए नेपालले विश्वकप खेल्नेछ । आजको खेल जित्ने दुई देश फाइनल प्रवेश गर्नेछन् । फाइनल खुल्ने दुवै टिम विश्वकपका लागि छनोट हुने छन् ।
नेपाल र यूएई टी-२० अन्तर्राष्ट्रियमा चार पटक खेलेका छन् । जसमा दुवै टिमले २-२ खेल जितेका छन् । सन् २०१९ मा यूएईमै भएको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले यूएईलाई २-१ ले हराएर सिरिज जितेको थियो ।
उक्त सिरिजको पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपालले त्यसपछि दोस्रो खेलमा यूएईलाई ४ विकेटले र तेस्रो खेलमा १४ रनले पराजित गरेको थियो ।
त्यसपछि अहिले भइरहेको क्वालिफायर अघि चारदेशीय सिरिजमा यूएईले नेपाललाई पराजित गरेको थियो । उक्त खेलमा यूएईले पहिलो ब्याटिङ गर्दै चिराग सुरीको ८४ रन मद्दतमा ३ विकेट गुमाएर १९३ रन बनाएको थियो । जवाफमा नेपालले १६७ रन मात्र बनाउन सक्यो ।
त्यस खेलमा ८४ रन हानेका सुरी सहित युवा खेलाडी भृत्य अरविन्द र पूर्व कप्तान रोहन मुस्ताफा अहिले यूएईका लागि राम्रो खेलिरहेका छन् । यी खेलाडीको ब्याटिङमा यूएईको प्रदर्शन भर पर्नेछ । भृत्य सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा छन् उनले दुई अर्धशतक प्रहार गरिसकेका छन् ।
यता नेपालको लागि कप्तान सन्दीप लामिछानेले एकरुपको बलिङ गरिरहेका छन् । सन्दीपले ३ खेलमा ८ विकेट लिंदै सर्वाधिक विकेट लिनेको सूचीमा शीर्ष स्थानमा छन् । उनलाई स्पीनमा दीपेन्द्र सिंह ऐरीले साथ दिएका छन् । फास्ट बलिङमा कमल सिंह ऐरी, अविनाश बोहरा र जितेन्द्र मुखियाले उत्कृष्ट प्रदर्शन गर्दै सोमपाल कामी र करण केसीको अभाव खड्किन दिएका छैनन् ।
ब्याटिङमा भने ओपनर कुशल भुर्तेलले एक शतक प्रहार गरिसकेका छन् । पहिलो खेलमा ओमानविरुद्ध पाँच रनमा आउट भएका भुर्तेलले दोस्रो खेलमा फिलिपिन्सविरुद्ध अविजित १०४ रन बनाए । यस्तै तेस्रो खेलमा क्यानडाविरुद्ध पनि अविजित रहँदै ३४ रन बनाए ।
दीपेन्द्र सिंह ऐरीले पनि उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । पहिलो खेलमा ओमानविरुद्ध ११ रनमा आउट भएका दीपेन्द्रले दोस्रो खेलमा फिलिपिन्सविरुद्ध ८३ रन बनाए । तेस्रो खेलमा क्यानडाविरुद्ध अविजित २७ रन जोडे । उनले बलिङमा ओमानविरुद्ध २ विकेट लिँदै उत्कृष्ट फिल्डिङ समेत गरेका थिए भने फिलिपिन्सविरुद्ध १ विकेट लिएका थिए ।
यसपटक विकेट किपिङको जिम्मा पाएका कुशलका ओपनिङ जोडी आसिफ शेखले भने ब्याटिङमा राम्रो गर्न सकेका छैनन् । उनले ३ खेलमा जम्मा २१ रन बनाएका छन् ।
विकेटकिपरको रुपमा भने उनले उत्कृष्ट प्रदर्शन गरेका छन् । कुल ६ डिसमिसलमध्ये उनले विकेट पछाडि चार क्याच लिएका छन् भने दुई स्टम्पिङ गरेका छन् ।
प्रतिक्रिया