काठमाडौँ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे आन्तरिक छलफल गर्दै छन् ।
आइतबार संसद्मा टेबल भएको एमसीसीको पक्षमा बहुमत जुटाउने गृहकार्यका लागि पार्टीका नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्री देउवाले सोमबार दिउँसो २ बजे एमसीसी अगाडि बढाउने भूमिका देखिएका नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएको जनाइएको छ ।
महामन्त्री गगन थापा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री दिलेन्द्र बडू, संसदीय दलकी सचेतक पुष्पा भुसाल लगायतलाई छलफलका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
१२ गते बस्ने प्रतिनिधिसभा बैठकअघि एमसीसीको पक्षमा बहुमत जुटाउने गृहकार्यका लागि देउवा आज आन्तरिक छलफल गर्न लागेको एक नेताले बताए ।
सत्ता घटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एमसीसीको पक्षमा मतदान गर्ने ठाउँमा उभ्याउने प्रधानमन्त्री देउवाको प्रयास छ ।
माओवादी र एकीकृत समाजवादी एमसीसी पासका लागि मतदान नगर्ने अवस्थामा प्रमुख प्रतिपक्षी एमालेलाई फकाउने प्रयास पनि देउवाले जारी राख्ने काँग्रेस नेताहरू बताउँछन् ।
आजको छलफलमा एमसीसीको पक्षमा बहुमत जुटाउन गठबन्धनभित्र र बाहिरको गृहकार्यका लागि केही नेताहरूलाई जिम्मेवारी दिने देउवाको तयारी छ ।
यता नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलका प्रमुखहरुलाई भेट्दैछन् । नेता पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई छुट्टाछुट्टै भेट गर्न लागेका उनी निकट एक नेताले बताए ।
उनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन र सत्ता गठबन्धन जोगाउनेबारे प्रचण्ड, नेपाल र यादवसँग छलफल गर्न लागेका हुन् । एमसीसी संसदमा पेश गर्न तयार भएका यी तीनै नेताले विपक्षमा मतदान गर्ने जनाएका छन् ।
प्रतिक्रिया