• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    ब्लग

    बहिरोपन गराउने ‘लासा भाइरस’ भेटियो, नेपाल कति जोखिममा ?

    813
    SHARES


    डा. शेरबहादुर पुन । सङ्क्रामक रोग फैलनमा भूगोलको दुरी बाधक हुँदैन भन्ने कुरा कोभिड-१९ को नयाँ-नयाँ भेरियन्टहरुको उत्पत्ति र त्यसको प्रसारण रोक्ने हर सम्भव उपायहरूका बाबजुद पनि विश्वव्यापी फैलनुबाट पनि पुष्टि हुन्छ ।

    नेपालको छिमेकी देश भारतसँगको लामो खुल्ला सिमाना र दैनिक मानिसको व्यापक आवतजावतले ज्ञात/अज्ञात सङ्क्रामक रोगहरू एक अर्काको देशमा फैलने गरेको विगतमा देखिएको थियो र आगामी दिनहरूमा पनि हुने नै छ । सन् २००९ मा देखा परेको र विश्व संगठनले पेनडेमिक घोषणा गरेको स्वाइन फ्लु (एचवानएनवान पीडीएम ०९) अमेरिकामा देखेको केहि हप्तामा नै नेपाल भित्रिएको थियो ।

    भौगोलिक दुरीको कारणले सङ्क्रामक रोग फैलन नरोकिने भन्ने यो बलियो उदाहरण मान्न सकिन्छ । अझ हवाई यातायातको सहज पहुँचले गर्दा विश्व एउटा सानो गाउँ जस्तो भैसकेको छ । तसर्थ विश्वको कुनै देश वा महादेशमा देखिएको तीव्र गतिमा फैलन सक्ने घातक सङ्क्रामक रोगलाई भौगोलिक दुरीको कारणले बेवास्ता गर्न मिल्दैन । यसर्थ, नेपालले पनि गर्न मिल्दैन ।

    हालै बेलायतमा “लासा भाइरस” देखापरेको छ । पश्चिम अफ्रिकाबाट फर्केका एकै परिवारका तीन जनामा “लासा भाइरस” पुष्टि भएको हो । ती मध्ये एकको मृत्यु भैसकेको युके हेल्थ सेक्युरिटी एजेन्सीले जनाएको छ । “लासा भाइरस” के हो र नेपाल कति जोखिममा छ ?

    “लासा भाइरस” पश्चिम अफ्रिकी देशहरू जस्तै नाइजेरिया, घाना, सियारा-लियोन, लाइबेरिया जस्ता देशहरूमा बर्सेनि जस्तो देखिने गरेको छ । यो भाइरस विशेषतः सङ्क्रमित मुसाको दिसा-पिसाबको सम्पर्कबाट मानिसमा सर्ने गर्दछ ।

    नेपालमा भएका मुसामा “लासा भाइरस” छ/छैन जानकारी नभएता पनि पश्चिम अफ्रिका पुगेर आएकामा भने सङ्क्रमण नहोला भन्न सकिँदैन । र सो सङ्क्रमित व्यक्तिबाट अरूमा सर्न सक्ने सम्भावना बलियो हुने गर्दछ । बेलायतमा पनि सङ्क्रमण थप नफैलियोस् भन्नको लागि सङ्क्रमितको सम्पर्कमा आएकाहरुलाई निगरानीमा राखिएका छन् ।

    इन्टरनेशनल जर्नल अफ इन्फेकसियोस डिजिज जर्नलमा प्रकाशित लेख अनुसार सन् २०१९ मा “लासा भाइरस” नाइजेरियामा फैलँदा अस्पतालका स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका थिए जसमा ५० प्रतिशत चिकित्सक र ३८ प्रतिशत नर्सहरू थिए ।

    मृत्युदर झन्डै १३ प्रतिशत थियो । तर समग्रमा मृत्युदर १ प्रतिशत हुने भएता पनि अस्पताल भर्ना भएका मध्ये १५ प्रतिशतसम्मको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँदछ । गर्भ रहेको तेस्रो त्रैमासिकमा सङ्क्रमण भए गर्भवती महिलाको पनि मृत्यु हुने सम्भावना उच्च हुने गर्दछ ।

    ८० प्रतिशत “लासा भाइरस” सङ्क्रमितमा लक्षण भने देखिने गर्दैन । सुरुवातीमा ज्वरो, जिउ दुख्ने, कमजोर हुने भएता पनि पछि टाउको, घाटी र छाती दुख्ने, पेट दुख्ने र बान्ता हुने गर्दछ । नाक, मुख, गिजा, योनीबाट रगत आउने जस्ता रक्तश्रावका लक्षणहरू देखा पर्ने गर्दछ ।

    यस्ता लक्षणहरू जटिलता तिर गए २ हप्ता भित्र सङ्क्रमितको मृत्यु हुन सक्दछ । सङ्क्रमण भएको एक देखि तीन हप्तासम्ममा लक्षणहरू देखिने गर्दछ । सङ्क्रमित स्वस्थ भएपछि पनि झन्डै २५ प्रतिशतमा बहिरोपन देखिने गर्दछ । यस मध्ये आधा जतिमा एक देखि तीन महिनासम्ममा धेरै हदसम्म श्रवण शक्ति फर्कने गर्दछ । तर कतिपयमा भने बहिरोपन सधैँको लागि हुने गर्दछ ।

    अन्तमा, नेपालमा हालसम्म मुसामा “लासा भाइरस” प्रमाणित भएको त छैन तर बेलायतमा जस्तै पश्चिम अफ्रिकी देशमा पुगेकाहरूबाट सङ्क्रमण नभित्रिएला भन्न सकिँदैन । पछिल्लो समय नेपालीहरू पनि अफ्रिकी देशहरूमा विभिन्न कारणले पुग्ने क्रम बढ्दो देखिन्छ । यो मानिसबाट मानिसमा सर्न सक्ने भएकोले भाइरसको बारेमा जानकारी र शीघ्र पहिचानमा ध्यान दिनु पर्ने देखिन्छ ।

    अस्पतालमा स्वास्थ्यकर्मी बीच पनि यो भाइरस सहज सर्ने गरेको विगतमा अनुभवहरू भएकोले “लासा भाइरस” एनडेमिक देशबाट फर्केका (पश्चिम अफ्रिकाबाट) र सो भाइरससँग मिल्दो जुल्दो लक्षणहरू देखिए परिवारका सदस्य तथा स्वास्थ्यकर्मीले (र प्रयोगशालाकर्मी) विशेष सतर्कता अपनाउनु पर्ने हुन्छ । शङ्का लागे भाइरसलाई पहिचान गर्न कहाँ र कसरी पठाउने बारेमा सम्बन्धित निकायसँग सम्पर्कमा गर्नु पर्दछ । रातोपाटीबाट साभार

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ