• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै

    1.3K
    SHARES


    काठमाडौं । आज ७२औं प्रजातन्त्र दिवस ।सरकारी निकाय र विभिन्न संघसंगठनले फरकफरक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।

    प्रजातन्त्र दिवसका अवसरमा आज शुक्रबारदेखि नै विभिन्न रचनात्मक कार्यक्रम गरिएको छ भने देशैभर स्वेच्छिक रुपमा पनि कार्यक्रम आयोजना गरिएका छन् ।

    विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

    राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।

    प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् ।

    यसै सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सबैमा नयाँ उत्साह प्रदान गर्न सकोस् भन्ने कामना गरेकी छन् । आज प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले सो कामना गरेकी हुन् ।

    प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्नेमा उनले जोड दिएकी छन् ।

    लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताउँदै उनले लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन् ।

    ‘लोकतन्त्रलाई सार्थक बनाउन तदनुकूलको राजनीतिक व्यवस्था केवल साधन मात्र हो, साध्य होइन । राजनीतिक प्रणालीले तयार गरेको जगमा उभिएर राष्ट्रिय जीवनका हरेक पक्षले उच्च लोकतान्त्रिक आचरण, पारस्परिक विश्वास र सहयोगी भावना अभिवृद्धि गर्नु अत्यन्त आवश्यक छ, जनताको जागरुकताले मात्र लोकतन्त्र निरन्तर विकसित हुँदै जान्छ । र, अन्ततोगत्वा लोकतन्त्र हाम्रो जीवन पद्धति बन्न सक्दछ,’ सन्देशमा भनिएको छ ।

    यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र दिवसले भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

    प्रजातन्त्र स्थापना त्यसपछिका विभिन्न कालखण्डमा भएका आन्दोलनबाट प्राप्त राजनीतिक उपब्धिलाई संविधानले संस्थागत गरिसकेको भन्दै उनले यी उपलब्धिको संरक्षण र रक्षामा सबैले जोड दिनुपर्ने बताएका छन् ।

    शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले भनेका छन्, ‘विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायतका राजनीतिक उपब्धिलाई संविधानले संस्थागत गरिसकेको छ । यी उपलब्धीको संरक्षण र रक्षामा हामी सबैले जोड दिनुपर्दछ ।’

    ऐतिहासिक जनआन्दोलनमार्फत् सार्वभौम नेपाली जनताले निरंकश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण र अविस्मरणीय दिनको रुपमा यस दिवसलाई लिइएको स्मरण गर्दै उपराष्ट्रपतिले प्रजातन्त्र प्राप्तीका लागि भएको आन्दोलनमा आफ्नो जीवनको आहुती दिने वीर वीरंगनाप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।

    यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली स्थापना हुन सकेको बताएका छन् । अब यी उपलब्धिलाई संस्थागत गरेर अघि बढ्न जरुरी रहेको उनले बताएका छन् ।

    नेपाली कांग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासनको अन्त्य भई जनताको हक अधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्न २००७ सालमा आजकै दिन प्रजातन्त्रको घोषणा भएको उनले स्मरण गरेका छन् ।

    आजको दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हक अधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

    मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन गरेसँगै अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी रहेको भन्दै उनले त्यसका लागि हामी सबै लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो औंल्याएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ