• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सत्ता गठबन्धनको बैठक सकियो, संसद भवन प्रहरीको घेराबन्दीमा

    1.2K
    SHARES


    काठमाडौं । सत्ता गठबन्धनको बैठक आइतबार फेरि बस्ने गरी सकिएको छ । एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए ।

    सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नै पार्टीका केही मन्त्री र काँग्रेसकै नेताहरुसँग आन्तरिक परामर्शमा जुटेका छन् ।

    शुक्रबार बिहान सत्ता गठबन्धनका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र उपेन्द्र यादवसँग एमसीसीबारे छलफल गरेका प्रधानमन्त्री देउवाले त्यसलगत्तै गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन मन्त्री दिलेन्द्र बडुलाई बालुवाटार बोलाएर परामर्श थालेका हुन् । देउवासँगको परामर्शमा काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल पनि सहभागी छन् ।

    शीर्ष नेताको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी स्थायी समितिमार्फत एमसीसीबारे ठोस निर्णय गर्ने र पार्टीको बैठक फागुन सातमा बोलाएकाले एमसीसी टेवल गर्न केही दिन रोक्न आग्रह गरेका थिए ।

    नेता नेपालको आग्रहमा प्रधानमन्त्री देउवा सकारात्मक भएपछि पुनः गठबन्धनको बैठक फागुन ८ मा राख्न राजी भएका थिए । ‘माधव नेपालको आग्रहअनुसार अर्को बैठक फागुन ८ मा राखिएको छ ।

    त्यसका लागि एक हिसाबको अन्डरस्ट्याण्डिङ बिहीबारै भैसकेको थियो’, वालुवाटार स्रोतले भन्यो, ‘एमसीसीमा माधव नेपाल पोजेटिभ हुनुहुन्छ र उहाँले पक्षमा मतदान गर्छौ भनेर भन्नुभएको छ ।’

    संसद भवन प्रहरी घेराबन्दीमा !
    यसैबीच एमसीसीको विरोधमा आज पनि प्रदर्शन हुने सम्भावनालाई मध्यनजर गर्दै संसद भवन वरपरका क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको छ । संसद भवनको मुख्य गेट, नयाँबानेश्वर चोक, एभरेष्ट होटल लगायतका क्षेत्रमा ब्यापक संख्यामा प्रहरीहरु खटाइएको छ ।

    नयाँबानेश्वर चोकमा प्रदर्शनकारीमाथि प्रयोग हुने पानीको फोहोरा हान्ने गाडी तैनाथ गरिएको छ । बिहान केहीबेर संसद भवन परिसर भित्रै राखिएको पानीको फोहोरा हान्ने गाडी अहिले भने बाहिर निकालिएको छ ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीले संसद भवन वरपरको क्षेत्रमा उच्च सतर्कता अपनाइएको जनाएको छ । सो क्षेत्रमा प्रहरी गणबाट रिजर्भ फोर्स पनि ल्याएको प्रहरी स्रोतले बतायो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ