• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले चाले यस्तो कदम

    1.4K
    SHARES


    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनको निवासतर्फ गएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका विषयमा छलफल गर्न बालकोट गएका हुन् ।

    बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेको थिएन । गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न गएका हुन् । बिहीबार नै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले ओलीसँग भेट गरेका थिए ।

    बैठकमा देउवाले के भने ?

    बैठकको सुरुमै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गरेर संसद मै छलफल गर्न प्रस्ताव गरेका थिए । तर, नेताहरूले त्यसलाई अस्वीकार गरेका छन् । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बैठकमा एमसीसीबारे छलफल भएपनि सबैले आ–आफ्नै अडान दोहोर्‍याएको बताए ।

    बैठकमा प्रधानमन्त्री देउवाले संसदमा टेबल गर्दैमा पास गर्ने वा फेल गर्नेबारे निर्णयमा पुग्नु नपर्ने भनेका थिए । ‘पहिले संसद्‍मा पेश गरौँ । त्यसपछि यसमाथि छलफल गरेर पास फेलबारे निर्णयमा पुगौँला, भोलि पेश गरौँ, त्यही छलफल गरौँ,’ प्रधानमन्त्री देउवाको प्रस्ताव थियो ।

    नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले भने अहिलेकै अवस्थामा एमसीसी संसदमा टेबल गर्नै नमिल्ने अडान लिएका थिए । ‘

    टेबल गरेपछि यथार्थ के हो ? जनतालाई पनि थाहा हुन्छ, त्यसैले यसलाई टेबल गर्नै नमिल्ने केही पनि छैन, सरकारलाई टेबल गर्न दिऔँ,’ बैठकमा नेता भट्टराईले भनेको सुनाए ।

    बैठकमा सबै दलहरूले आ–आफ्नो कुरा राखेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । ‘एमसीसी सम्झौता पूर्ववर्ती सरकारले नै टेबल गरेको हो, सरकार अविछिन्न उत्तराधिकारी संस्था हो ।

    त्यसैले हामीले अहिले संसद्‍मा टेबल गरौँ भनेको हो । तर, सहमति भइसकेको छैन । अहिले हामीले फागुन १६ गतेभित्र एउटा निष्कर्षमा पुर्याउनुपर्ने अवस्था छ, छलफल भइरहेको छ, भोलि पनि छलफल हुन्छ,’ उनले भने । उनले शुक्रबार बिहान १० बजे पुनः छलफल हुने बताए ।

    प्रधानमन्त्री देउवा तत्कालै संसदमा एमसीसी टेबल गरेर एक साताभित्रै पास गर्नुपर्ने पक्षमा छन् । तर, त्यसमा गठबन्धन दलमै सहमति छैन । सरकारले बुधबारको प्रतिनिधिसभा बैठकमै एमसीसी टेबल गर्ने प्रस्ताव गरेको थियो ।

    तर, गठबन्धनको विमतिकै कारण रोकिएको थियो । अहिलेको गठबन्धनको छलफलपछि एमसीसी शुक्रबार टेबल हुने वा नहुनेबारे अझै अन्योल कायमै छ । शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ