विराटनगर । झोलाभित्र मानिसको टाउको र खुट्टा भेटिएको छ । यो धरानको खबर हो । धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको हो ।
आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार घटनास्थल पुग्दा झोलामा हालेर फालेको अवस्थामा टाउको र खुट्टा फेला परेको हो।
‘आज त्यसको नजिकै अर्को जेब्रा झोला पनि भेटिएको छ,’ एसपी थापाले भने, ‘त्यसमा जीउ हुनसक्ने अनुमान छ। अब केहीबेरमा त्यो झोला खोल्दैछौं।’
प्रहरीका अनुसार झोलामा टुक्रा भेटिएको शवको प्रकृति हेर्दा अन्दाजी ३०/३२ वर्षका युवक जस्तो देखिएको छ। शव केही दिन पुरानै रहेको प्रहरीले बताएको छ। ‘त्यसैले गन्ध आइरहेको छ। शवबारे अनुसन्धान भइरहेको छ’, उनले भने।
प्रतिक्रिया