काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । बैठक सुरु भएको ५ मिनेटमै स्थगित भएको हो ।
प्रमुख प्रतिपक्ष एमालेको अवरोधकाबीच बुधबारको बैठकमा कानुनु,न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडूले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
यस्तै, बैठकले पूर्व सांसदहरु जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा दमनसिंह थापाको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरेका थिए।
तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए । सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदहरू रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए ।
नाराबाजी रोकेर बैठक चल्ने वातावरण बनाउन सभामुख सापकोटाले पटक पटक आग्रह गरे पनि एमाले सांसदहरू नरोकिएपछि बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् ।
एमाले विभाजन गराउन सभामुख सापकोटाको भूमिका रहेको र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेसम्म संसद बैठक चल्न नदिने अडानका साथ एमाले सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध गर्दै आएका छन् ।
प्रतिक्रिया