महोत्तरी । नेकपा (एकीकृत समाजवादी) भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ । मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला एकीकृत समाजवादीले एमालेका कार्यकर्ता भित्राउन थालेको छ।
आइतबार मात्र एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङ्तानलाई काठमाडौँमा अध्यक्ष माधव नेपालले स्वागत गरे। स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
पछिल्लो समय मधेश प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा विवादका कारण नेकपा एमालेको जिल्ला अधिवेशन हुन सकेको छैन । यही विवादको फाइदा एकीकृत समाजवादीले लिन थालेको छ।
यसैबीच नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल सत्ता गठबन्धनविरुद्ध खनिएका छन् । सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि रिमालले ‘गठबन्धन’लाई ‘ठगबन्धन’को संज्ञा दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ । ढुंगा सर्वोच्चमा बज्रिएको छ।’ उनी लेख्छन्- भनिन्छ नि- फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन ! हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नि ? ‘
त्यस्तै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीशविरुद्धको पारित नहुने महाभियोग प्रस्ताव अन्तत: सत्ता गठबन्धनलाई नै निल्नु न ओकल्नुबाहेक केही नहुने टिप्पणी गरेका छन् ।
‘जसरी २०७४ मा चुनावको मुखमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग शेरबहादुर देउवा र उहाँको पार्टीलाई महँगो सावित भएको थियो, ढुक्क भए हुन्छ- यस पटक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोगले पनि त्यसैगरी ‘ब्याक फायर’गर्नेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रतिक्रिया