काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । ९८ सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए । प्रस्ताव बिहान ११ बजेर १० मिनेटमा दर्ता भएको बताइएको छ ।
महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका हुन् । जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए । सर्वोच्च अदालतको नियमावली संशोधन गरेर गोला प्रक्रियाबाट पेशी तोक्न थालेपछि न्यायाधीशहरु बेञ्चमा फर्किएका छन् ।
तर प्रधानन्यायाधीश जबराले अझैसम्म मुद्दा हेरेका छैनन् । जबराले राजीनामा नदिएपछि बारले महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण समेत गराएको थियो ।
प्रतिक्रिया