काठमाडौं। नेपाली सेनाले अधिकृत क्याडेट पदमा विज्ञापन खुलाएको छ। नेपाली सेनाले २२९ जना अधिकृत क्याडेटका लागि आज विज्ञापन खुलाएको हो। खुलातर्फ १२० जनाको कोटा छ।
यसैगरी शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ जना, महिला २१ जना, आदिवासी जनजाती ३३ जना, मधेसी २९ जना, दलित १५ जना पिछडिएको क्षेत्रबाट ५ जनाको कोटा छ।
आजदेखि माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने म्याद छ। दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ।
त्यस्तै नेपाली सेनाले न्यूनतम १० वर्ष सेवा गरेका आफ्ना कर्मचारीलाई घर निर्माणका लागि सहुलियत दरमा ऋण दिने भएको छ। बुधबार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा उक्त कार्यक्रमको शुभारम्भ गरे।
सैनिक सेवामा १० वर्ष पूरा गरेका तर आफू र श्रीमान वा श्रीमतीको नाममा घर नरहेका सैनिक कर्मचारीलाई ३.३२ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको आवास कर्जा दिने सेनाले घोषणा गरेको छ।
यो सुविधा अन्तर्गत हहालसम्म २० जनाले घरकर्जाका लागि निवेदन दिइसकेको र त्यसमध्ये ७ जनाको प्रक्रिया पूरा भई बैंकमा सिफारिस भइसकेको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ।
यसअघि प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो पदवहालीपछि पहिलो सम्बोधनमा आवास कर्जा कार्यक्रमको घोषणा गरेका थिए। त्यसपछि नेपाली सेनाको सैद्दिक कल्याणकारी कोष, राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय बिमा संस्थानबीच सहुलियत ऋणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो।
यस्तो कर्जा लिन काठमाडौं उपत्यकाका सैनिक कर्मचारीले जंगी अड्डास्थित सैनिक कल्याणकारी महानिर्देशनालयको आवास कर्जा कार्यान्वयन इकाइमा र उपत्यका बाहिर सैनिक कर्मचारीले नेपाली सेनाको युनिट वा कल्याणकारी कोषको हिताधिकारी कल्याण केन्द्रहरुमा आवेदन दिन सक्ने सेनाले जनाएको छ।
सहुलियत कर्जा स्वीकृत भएपछि धितो मूल्यांकनको आधारमा सैनिक कर्मचारीले घर खरीद गर्न एकमुष्ट र घर बनाउन पहिलो किस्तामा ४० तथा दोस्रो र तेस्रो किस्ता ३०-३० प्रतिशत रकम पाउनेछन्।
प्रतिक्रिया