काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेर एक हजार भन्दा तल झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा जम्मा ८३६ संक्रमण पुष्टि भएको छ ।
चार हजार २६० पीसीआर परीक्षणमा ४९१ जननना र दुई हजार ३९४ एन्टिजेन परीक्षणमा ३४५ जना गरी ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन् । त्यस्तै एक हजार ८२६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या २६ हजार १०२ रहेको छ ।
त्यस्तै छिमेकी राष्ट्र भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या पचास हजारमा झरेको छ । केही दिन अगाडिसम्म दिनप्रति दिन दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोमा अहिले भने घटेको छ ।
सरकारी अधिकारीले शनिबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा ५० हजार ४०७ सङ्क्रमित थपिएका छन् ।
सङ्घीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि दिनप्रति दिन घट्दै गइरहेको देखाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिले छ लाख १० हजार ४४३ सङ्क्रमित अवस्थामै रहेका छन् ।
एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।
भारतमा पछिल्लो एक दिनमा एक लाख ३६ हजार ९६२ लाई कोरोनाभाइरसको सङ्क्रमण निको भएको छ । अधिकारीका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड १४ लाख ६८ हजार १२० पुगेको छ ।
कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ८०४ को मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख सात हजार ९८१ रहेको छ ।
प्रतिक्रिया