काठमाडौँ । ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट हराएको मुर्ति फेला परेको छ । खुमलटार स्थित करुणा मन्दिरको हातामा बिहान मुर्ति भेटिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए ।
क्लासीक टावर पछाडिको मन्दिरमा बोरामा व्याक गरेको अवस्थामा शंकास्पद बस्तु भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलेर हेर्दा मुर्ति भेटिएको छ । सो मुर्ति चोरीमा संलग्नहरुको खोज भइरहेको एसएसपी पोखरेलले बताए ।
माघ ९ मा मुर्ति हराएपछि ललितपुर परिसर र महानगरीय अपराध महाशाखाले त्यसबारे अनुसन्धान गरिरहेको थियो । पेशेवर चोरहरुलाई प्रहरीले पक्रेर सोधपुछ गरिरहेको छ । सुनाकोठीका वडा अध्यक्षले मुर्ति फेला पार्नेलाई ५ लाख दिने घोषणा गरेका थिए ।
यस्तै कोरोना महामारीका कारण झन्डै एक महिनादेखि दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आज शुक्रबारबाट खुलेको छ ।
काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए ।
तर, दर्शनार्थीले मास्क अनिवार्य लगाउनुपर्नेछ भने सरकारबाट जारी भएका स्वास्थ्य मापदण्ड पालना गरिनेछ ।
सीसीएमसीको सिफारिसमा सरकारले मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न दिने निर्णय गरिसकेको छ । ५ माघदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो ।
प्रतिक्रिया