काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल माओवादी अध्यक्षलाई भेट्न बुधबार बिहान उनको निवास खुमलटार पुगेको हुन् ।
दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ । एमसीसीको विषयलाई लिएर यतिबेला सत्तारुढ दलहरू विभाजित रहेका छन् ।
एमसीसी संसद्मा टेबल गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि सारिएको छ । अमेरिकाले फेब्रुअरीको अन्त्यसम्म एमसीसी पारित गर्ने डेडलाइन दिएको छ ।
यसअघि मंगलबार साँझ बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
चर्कदै गएको राजनीतिक माहोलमा ओली र कोइरालाबीचको भेटलाई महत्वका साथ हेरिएको छ । ओलीसँगको भेटवार्ताका लागि मंगलबार साँझ कोइराला बालकोट पुगेका हुन् ।
ओली र कोइरालाबीच पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
पछिल्लो समय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि जोडबल गरिरहेका बेला कांग्रेस नेताहरुले सक्रियता बढाएका छन् ।
थपलियाका अनुसार बालकोटमा ओली र कोइरालाबीच अढाइ घण्टा कुराकानी भएको हो । छलफल एमसीसी अनुमोदन, स्थानीय चुनाव र संसदमा जारी अवरोध हटाउने विषयमा केन्द्रित थियो ।
लामो तयारीपिछि निर्वाचन आयोगले वैशाख ३० मा स्थानीय निकायको निर्वाचन एकसाथ गर्ने घोषणा गरिसकेको छ । कोइरालासँगको भेटमा ओलीले तोकेकै समयमा चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग भेट गरेका थिए । त्यस्तै एमालेले प्रतिनिधि सभा निरन्तर अवरुद्ध गर्दै आएको विषयमा पनि दुई नेताबीच कुरा भएको छ ।
प्रतिक्रिया