• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बालुवाटार पस्यो कोरोना, यस्तो आयो प्रधानमन्त्री देउवाको कोरोना रिपोर्ट

    246
    SHARES


    काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराएका थिए ।

    तर प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ। बिहीबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएपछि देउवाले आज फेरि पीसीआर गराएका हुन् । गत सोमबार देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण भएको थिए ।

    देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको थियो । दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि देउवाले फेरि पीसीआर गराएको उनको सचिवालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १४४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३१७ र भक्तपुरमा १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै आधा बढी संक्रमित रहेका छन् ।

    मन्त्रालयका अनुसार हाल काठमाडौंमा ५ हजार ८४२ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा १५९१ र भक्तपुरमा ९६३ जना रहेका छन् । हाल देशभर १४ हजार ३४० जना कुल सक्रिय संक्रमित रहेका छन् । यस हिसावले काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमित ८ हजार ३९६ जना रहेका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मोरङमा १०५, पर्सामा ५१, चितवनमा ६६, कास्कीमा १३१, रुपन्देहीमा ६५, सुर्खेतमा १८ र कैलालीमा ५३ जनामा संक्रमण पुष्टि भएको छ । हाल ५०० भन्दा बढी संक्रमित रहेका जिल्लामा उपत्यकाका ३ जिल्लासहित कास्की र मोरङ समेत रहेका छन् ।

    यस्तै २०० भन्दा बढी संक्रमित रहेका जिल्लामा सुनसरी, चितवन, मकवानपुर, बाँके, रुपन्देही र कैलाली छन् भने मुगु जिल्लाचाहिँ संक्रमणमुक्त रहेको छ । पछिल्लो २४ घण्टामा भने देशभर ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    टिचिङ अस्पतालमा एक साता अघिसम्म दैनिक एक दुई जना मात्रै कोभिड बिरामी भर्ना हुने गरेकोमा बुधबार मात्रै ९ जना कोभिड बिरामी भर्ना भएका छन् । जबकि त्यहाँ होल्डिङ सेन्टरमा १० जनासम्म बिरामीलाई मात्र राख्न मिल्छ ।

    अस्पतालका छाती रोग विशेषज्ञ तथा कोभिड संयोजक डा. निरज बम भन्छन्, ‘कोरोनाका बिरामी कम हुँदा नन्कोभिड बिरामीलाई उपचार गर्दै आएको टिचिङले वार्डलाई पुनः कोभिड वार्ड बनाउने भएका छौं ।’ त्यहाँ कोभिडका बिरामीका लागि १८ बेड र १० वटा आइसीयू छुट्याइएको थियो ।

    टिचिङ अस्पतालमा एक साता अघि दैनिक ५५/६० जनाले मात्रै पीसीआर परीक्षण गराउँदै आएकोमा पछिल्ला पाँच दिनयता परीक्षणका लागि दैनिक ३ सय जना बढीको लाइन लाग्ने गरेको छ ।

    उता पछिल्लो एक सातामा नेपाल एपीएफ अस्पतालमा पनि सङ्क्रमित बिरामी भर्ना दर बढिरहेको प्रहरी उपरीक्षक डा प्रवीन नेपाल बताउँछन् । १० दिन अघिसम्म अस्पतालमा कोभिडका १० जना भर्ना थिए भने हाल ६० जना बिरामी उपचाररत रहेको डा. नेपालले बताए । जसमध्ये ६ जना बिरामी आइसीयूमा छन् ।

    यस्तै कोभिड युनिफाइड केन्द्रीय अस्पताल तोकिएको वीर अस्पतालमा पनि भर्ना हुने बिरामीको सङ्ख्या बढ्दो छ । डा. प्रज्वल श्रेष्ठका अनुसार त्यहाँ पाँच दिनयता विगतको तुलनामा पाँच गुणा बढी सङ्क्रमित बिरामी अस्पताल आइरहेका छन् ।

    बिहीबारसम्म ४६ जना सङ्क्रमित अस्पताल भर्ना भएको उनले बताए । त्यहाँ आइसीयूमा ६ जना, भेन्टिलेटरमा ३ जना र एचडियूमा ४ जना उपचाररत छन् । वीर अस्पताल पनि पीसीआर दैनिक करिब ३ सय जना पुग्ने गर्छन् ।

    यस्तै, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ११ जना कोरोना सङ्क्रमित भर्ना भएका छन् । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार आइसीयूमा ६ जना र ५ जना एचडियूमा उपचाररत छन् । ओपीडीमा दैनिक ३० जना आइपुग्ने गरेका उनले बताए ।

    टेकुमा एक साता अघिसम्म दैनिक ५०/५५ जनाले मात्रै पीसीआर गराउँथे भने हाल दैनिक १५० जनाले पीसीआर परीक्षण गर्ने गरेको अस्पतालका सूचना अधिकारी गौतमले बताए । उता पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार त्यहाँ दैनिक ३ सय पीसीआर परीक्षण गरेका मध्ये ४० प्रतिशतमा कोरोना पुष्टि भएको पाइएको छ ।

    ‘कोरोना पुष्टि भएकोमा डेल्टा, ओमिक्रोन वा अन्य कुन भेरियन्ट हो भनेर पुष्टि हुँदैन,’ उनले भने, ‘यहाँ बिहीबारसम्म ४० जना कोभिड बिरामी अस्पताल भर्ना भएका छन् । आइसीयूमा ४ जनाको उपचार भइरहेको छ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया