• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    नारायणहिटी कब्जा गर्न खोज्ने आनन्दराज बतासको नालावेली, यस्तो रहेछ देउवासंगको कनेक्शन

    691
    SHARES


    काठमाडौँ । नारायणहिटी दरबार संग्रहालय परिसरभित्र रेस्टुरेन्ट सञ्चालन गर्न जथाभाबी संरचना निर्माण गर्न थालेपछि व्यावसायिक समूह ‘बतास ग्रुप’ विवादमा घेरिएको छ। यो समूहले हात हालेका अन्य थुप्रै व्यवसाय पनि विवादित बनेका छन्।

    बतास ग्रुपले आफ्नो राजनीतिक तथा प्रशासनिक पहुँचको फाइदा उठाउँदै सार्वजनिक तथा सरकारी सम्पत्तिहरू चलनचल्तीभन्दा निकै सस्तोमा हात पारेको भन्दै केही दिनयता सामाजिक सञ्जाल तरंगित छ। हुँदाहुँदा पोखरा, काठमाडौं लगायत ऐतिहासिक महत्वका ठाउँहरूमा निजी संरचना बनाएको देख्नेबित्तिकै बतास समूहकै हो कि भन्ने लख काट्न थालिएको छ।

    एकाएक विवादमा घेरिएको बतास ग्रुप कसको हो? उसको व्यवसायको क्षेत्र के-के हो? यसको उदय कसरी भयो? र, अहिले चर्चामा आएजस्तो सार्वजनिक तथा सरकारी सम्पत्ति व्यावसायिक रूपले भोगचलन गर्ने गरी उसको पहुँच कसरी विकास भयो?

    बतास समूहका अध्यक्ष आनन्दराज बतास हुन्। उनको घरजग्गा कारोबारदेखि मोटर पार्टस्, शोरूम, जलविद्युत आयोजना, रेमिट्यान्स, होटल, रेस्टुरेन्ट, इन्भेस्टमेन्ट लगायत १६ वटा कम्पनी छन्। यी कम्पनीले बतासलाई तीन दशकमै अर्बौंको मालिक बनाइदिएको छ।

    आफ्नो व्यावसायिक यात्रामा बतासले जहाँ जहाँ हात हाले, तीमध्ये धेरै विवादित छन्। नारायणहिटी दरबार संग्रहालयको रेस्टुरेन्टदेखि पाटन दरबार क्षेत्रका पसल, पशुपतिनाथको धर्मशालादेखि पोखराको प्रदेश संग्रहालय भवनमा सञ्चालित अटो शोरूम यसका केही उदाहरण मात्र हुन्।

    पोखराकै पृथ्वीचोकस्थित कृषि सामग्री केन्द्रको जमिन सस्तो दरमा भाडामा लिएर उनले महँगोमा अरू व्यवसायीलाई भाडामै लगाइरहेका छन्। यति ठूलो व्यावसायिक साम्राज्य निर्माण गरेको बतास परिवार पुर्ख्यौली धनी भने होइन।

    बतासलाई नजिकबाट चिनेका एक व्यवसायीका अनुसार उनका बुबा रामप्रसाद तनहुँको दुलेगौंडामा अर्काको पसलमा काम गर्थे। दुलेगौंडामा त्यति बेला विख्यात कपडा व्यवसायी बाबुलाल मल्लले रामप्रसादलाई आफ्नो पसलमा काम गर्न राखेका थिए। बाबुलालले कपडाका साथै खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुहरू पनि बिक्री गर्थे।

    बाबुलाललाई त्यति बेला दुलेगौंडामा ‘बाबुलाल साहु’ भनिन्थ्यो। त्यहीँ काम गर्दागर्दै बाबुलालकी बहिनीसँग रामप्रसादले विवाह गरे र व्यावसायिक साझेदार बने। बतास समूहका अध्यक्ष आनन्दराज यो कुरा नकार्दैनन्। बुबा रामप्रसादलाई दुलेगौंडाका साहु बाबुलालले थोरै सेयर दिएर काम लगाएको उनको दाबी छ। त्यसपछि बाबुलालको परिवार पोखरा आएर व्यवसाय गर्न थाल्यो। अहिले पनि उनीहरूले पोखरामा ‘मल्ल इम्पोरियम’ भनेर कपडा पसल चलाएका छन्।

    आनन्दराज भने आफैंले दु:ख र मेहनत गरेर अहिलेको अवस्थामा आइपुगेको दाबी गर्छन्। २०३२ सालतिर पोखरास्थित गण्डकी बोर्डिङ स्कुल पढ्न आएका आनन्दराजले २०४० सालमा एसएलसी दिए। त्यसपछि व्यावसायिक क्षेत्रमा लागेको उनी बताउँछन्।

    त्यो समय टेलिफोन सेवा अहिलेजस्तो सर्वसुलभ थिएन। मोबाइलको कल्पनासमेत थिएन। आनन्दराजले एसएलसीलगत्तै पोखराको पृथ्वीचोकमा करिब ५० हजार रूपैयाँ लगानी गरेर टेलिफोन सेवाको व्यवसाय थाले। पोखरादेखि काठमाडौं र देशभित्रका विभिन्न सहरदेखि विदेशमा फोन गर्नुपर्ने मान्छे उनीकहाँ लाइन लागेर बस्थे। त्यति बेला पोखराभरि आफ्नो सय वटा ‘पब्लिक कम्युनिकेसन अफिस’ रहेको उनी बताउँछन्।

    टेलिफोन सेवासँगै बतासले फोटोकपी मेसिन राखे। फोटोकपी मेसिनको मूल्य ४५ हजार रूपैयाँ थियो। उनले नेपाल बैंकबाट ३५ हजार ऋण लिएर मेसिन किनेका थिए। टेलिफोन सेवाको व्यापारमा नाफा देखियो। त्यसपछि बतासले अन्यत्र पनि टेलिफोन सेवा विस्तार गरे। ‘म एकदमै लो प्रोफाइलको मान्छे हुँ,’ बतासले भने, ‘पुर्ख्यौली सम्पत्तिले हामी धनी भएका होइनौं, जे छ आफ्नै मेहनतले छ।’

    टेलिफोन सेवाको व्यवसायले हौसिएका बतासले चिप्लेढुंगामा फेन्सी पसल खोले। त्यति बेला उनी आइकम भर्ना भइसकेका थिए। टेलिफोन सेवाजस्तो फेन्सी पसल चलेन। घाटा लाग्ने देखिएपछि उनले पसल बेचिदिए। फेन्सी पसल बन्द गरेर बतासले पोखरामै कपडा पसल खोले। तनहुँमा रहेका बुबालाई पोखरा बोलाए र कपडा पसलको जिम्मा लगाइदिए।

    २०४६ सालको राजनीतिक परिवर्तनपछि बतासले पोखरामै होटल चलाउन थाले। पृथ्वीचोकमा टेलिफोन सेवा राखेकै ठाउँको जग्गा किनेर उनले घर बनाए र त्यहाँ ‘होटल आनन्द’ चलाए जुन आफ्नो समयमा पोखराको सबभन्दा चल्तीको होटल थियो।

    २०४७ सालपछि राजनीतिक दलका नेताहरूको पोखरा आउजाउ बढ्यो। विभिन्न कार्यक्रममा भाग लिन पोखरा जाने नेताहरू प्राय: उनकै होटलमा बस्थे। यसले ठूल्ठूला नेताहरूसँग उनको निकट सम्बन्ध भयो। ‘मेरो होटलमा मदन भण्डारीदेखि मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, केपी ओली सबै नेता बसेका छन्,’ बतासले भने।

    उनका अनुसार होटल आनन्द १२ लाख रूपैयाँमा बनेको थियो। होटल बनाउन पैसा नपुगेर नेपाल बैंकबाट ७ लाख रूपैयाँ ऋण लिएको उनी बताउँछन्। अहिले हिसाब गर्ने हो भने त्यो ७ करोडभन्दा बढी हुने उनको अनुमान छ।

    त्यति बेलादेखि बतासलाई चिन्ने पोखराका स्थानीयका अनुसार उनी होटलको रिसेप्सनमा आफैं बस्थे र ग्राहक आउँदा आफैं कोठा देखाउन जान्थे। बतास यसलाई स्वीकार गर्दै भन्छन्, ‘म गेस्टलाई कोठा देखाउनेदेखि आँगन सफा गर्ने कामसम्म आफैं गर्थें।’ होटल चलाउँदा चलाउँदै बतासले पोखराका लागि मारूती गाडीको डिलरसिप खुल्न लागेको थाहा पाए। उनले उक्त डिलरसिप लिने प्रयास गरे र सफल पनि भए।

    त्यति बेला मारूती गाडी नेपालमा अत्यधिक चल्यो। यसबाट बतासले अटोमोबाइलमा आफ्नो भविष्य देखे। मारूतीपछि उनले पोखरामा महिन्द्रा गाडीको डिलरसिप लिए। महिन्द्रा गाडीको डिलरसिपले उनको आर्थिक हैसियत अझै माथि पुर्‍याइदियो। त्यसपछि टिभिएस कम्पनीका मोटरसाइकल र स्कुटरको डिलरसिप पनि उनले नै पाए।

    पोखरामा कपडा, होटल र अटोमोबाइलमा करिब १२ वर्ष बिताएपछि बतास काठमाडौं हानिए। ‘पोखरा अलि सानोजस्तो लाग्यो, म त गरिखाने मान्छे,’ उनले भने, ‘व्यवसाय विस्तार गर्न आजभन्दा १४ वर्षअघि म काठमाडौं आएँ।’

    काठमाडौं पुगेर उनले बतास हायर पर्चेज फाइनान्सिङ कम्पनी चलाए। कम्पनी राख्न लिएको कोठामा अगाडि कार्यालय राखे, पछाडि आफू सुत्न प्रयोग गरे। उनका अनुसार उक्त कम्पनीले गाडी किन्न चाहनेलाई ऋणको व्यवस्था मिलाउने काम गर्थ्यो।

    पोखरामा अटोमोबाइल काम गरेको अनुभवका आधारमा उनलाई मारूतीले काठमाडौंमा शोरूम राख्न दियो। उनले बैंकबाट ऋण लिएर लगानी बढाउँदै लगे। काठमाडौंमै आइसर ट्रक र बसको नेपाल डिलरसिप पनि लिए। यता गाडीको व्यापार फस्टाउँदै थियो, उता बतास फियट कारको नेपालका लागि आधिकारिक बिक्रेता पनि बने।

    अटोमोबाइल व्यवसायबाट मनग्गे नाफा कमाएका बतासले अन्य क्षेत्रमा पनि आफ्नो कारोबार फैलाउन थाले। अहिले पनि अटोमोबाइल व्यवसाय गरिरहेका बतासले विभिन्न १६ वटा कम्पनी खोलेर विविध क्षेत्रमा लगानी गरेका छन्। ‘म अहिले जुन ठाउँमा छु, त्यहाँ आइपुग्न मलाई ३२ वर्ष लाग्यो, चिठ्ठा परेर म यहाँसम्म आइपुगेको होइन,’ उनले भने, ‘कसैको दया छैन, माया छैन।’

    सामान्य परिवारका बतास यहाँसम्म आइपुग्न आफ्ना तीन दाजुभाइको एकता र मेहनतले काम गरेको बताउँछन्। आनन्दराजका माइला भाइ शान्तराज काठमाडौंको व्यवसाय हेर्छन् भने कान्छा भाइ विपेन्द्रराज पोखरामै बस्छन्। परिवारका सबै सदस्य व्यवसायमै आबद्ध रहेको उनले बताए।

    अटोमोबाइल व्यवसायमा सीमित रहँदा बतास ग्रुप अहिलेजस्तो विवादित थिएन। काठमाडौं बस्ने क्रममा जब आनन्दराज र उनका भाइहरू राजनीतिक शक्तिसँग नजिकिए, त्यही शक्ति दुरूपयोग गर्न थालेपछि विवादित हुन पुगेको उनलाई नजिकबाट चिन्ने व्यवसायीहरूको भनाइ छ।

    बतासले खोलेका कतिपय कम्पनीका उद्देश्य पनि विवादित खालकै छन्। ‘बी म्यानेजमेन्ट’ नामक कम्पनीको उद्देश्य जग्गा सस्तोमा भाडामा लिएर अर्कालाई महँगो भाडामा लगाउने छ। यसैअनुसार सरकारी वा व्यक्तिको जग्गा कौडीको भाउमा भाडामा लिएर उनी महँगो भाडामा लगाउने गर्छन्। पछिल्लो समय उठेको धेरैजसो विवाद यसैसँग सम्बन्धित छ।

    यसबारे बतास भन्छन्, ‘बी म्यानेजमेन्ट कम्पनीले जग्गा किन्छ, नभए भाडामा लिन्छ र अर्कालाई फेरि भाडामा दिन्छ। यो एक किसिमको रियलस्टेट कम्पनी हो। यसरी सस्तोमा लिएर महँगोमा भाडा लगाउने काम यहाँ मैले मात्र गरेको छैन। धेरैले यस्तो काम गरिरहेका छन् र यो कुनै गैरकानुनी काम होइन। तर सञ्चारमाध्यमले मलाई मात्र तारो बनाए।’

    नारायणहिटी दरबारको जग्गामा रेस्टुरेन्ट बनाउन लागेको विषय संवेदनशील भएको उनको भनाइ छ। तर हायात होटल पनि तारागाउँ रिसोर्टको जग्गा भएको र त्यतातर्फ कसैले ध्यान नदिएको उनले गुनासो गरे।

    ‘नेपालमा मैलेजस्तो जग्गा भाडामा लिने हजारौं छन्, मेरो मात्र तपाईंहरूले मुद्दा बनाइरहनुभएको छ, अरूको त केही कुरा आउँदैन,’ उनले भने, ‘मलाई विवादित तपाईं मिडियाहरूले बनाइदिनुभएको हो, तीसौं वर्ष लगाएर कमाएको प्रतिष्ठा कसैले जानीजानी विवादमा पार्न चाहन्छ र!’

    आफूले सार्वजनिक र सरकारी सम्पत्तिमा गरेको व्यवसाय कानुनसम्मत् रहेको बतासको दाबी छ। सरकारले औपचारिक टेन्डर निकालेपछि अरू कम्पनीजस्तै प्रतिस्पर्धामा भाग लिएर छानिएको उनले बताए।

    नारायणहिटी लगायत ऐतिहासिक स्थलहरूमा बतासले बनाएका संरचना पर्यटनमन्त्री प्रेम आलेको सक्रियतामा भत्काउन लागेको विषयमा उनले भने, ‘सरकारले निकालेको टेन्डरमा म सक्षम हुने, मसँग सरकारले नै सम्झौता गर्ने, भाडा लिने, मसँग काम गर्ने र अहिले अर्को मन्त्री आएर भत्काउँछु भन्ने!’

    सञ्चार माध्यमहरू पछिल्लो समय ‘स्टन्ट न्यूज’ को पछाडि लागेको टिप्पणी गर्दै बतासले आफूले हात हालेका व्यवसाय कानुनसम्मत् छ कि छैन र त्यसमा कानुनी प्रक्रिया पूरा भएको छ कि छैन भनेर हेर्न चुनौती पनि दिए।

    ‘कुनै गल्ती भएको रहेछ भने म सजाय भोग्न तयार छु,’ उनले भने, ‘सरकारले आवश्यक ठान्छ भने सरकारी र सार्वजनिक सम्पत्तिमा मैले बनाएका संरचना अहिल्यै फिर्ता गर्न तयार छु।’ ती संरचना सरकारलाई फिर्ता गर्दा कानुन र सम्झौतापत्रमा उल्लेख गरिएअनुसार हुनुपर्ने उनको अडान छ। यसका लागि आफूले गरेको लगानीको हिसाबकिताब चाहिने उनले बताए।

    ‘सरकारले आफ्नो जग्गा फिर्ता चाहियो, हामीले भाडामा दिएर गल्ती गर्‍यौं भन्छ भने म फिर्ता गर्न तयार छु,’ बतासले भने, ‘मलाई कानुनसम्मत् लगानी भएको पैसा फिर्ता दिए हुन्छ, म फिर्ता गर्छु, मलाई चाहिएन।’ पोखराको सेती नदीबाट ढुंगागिटी र बालुवा प्रशोधन गरेर निकाल्ने योजना आफ्नो नभएको बतासले दाबी गरेका छन्।

    ‘चिनियाँ कम्पनीले पोखरा महानगरपालिकामा यो प्रस्ताव ल्याएको थियो। कोरोना महामारीपछि चिनियाँ समूह यसबाट पछाडि हटेकाले त्यही प्रस्तावमा हामीले काम गर्न खोजेका हौं,’ उनले भने। यसमा पनि आफूमाथि मात्र प्रहार भएको भन्दै बतासले असन्तुष्टि जनाए।

    ‘यो राजनीतिक पूर्वाग्रह राखेर गरिएको सुनियोजित प्रोपोगान्डा हो,’ उनले भने, ‘यो बतासलाई हानेको होइन।’ त्यसो भए कसलाई हानेको त? सेतोपाटी संवाददाताको प्रश्नमा बतासले भने, ‘त्यो त मैले भन्न मिल्दैन, तपाईंले बुझ्ने विषय हो।’

    बतासले सार्वजनिक र सरकारी सम्पत्ति लिँदा आफ्नै विभिन्न कम्पनीले टेन्डर हालेको पनि उनी स्वीकार गर्छन्। नारायणहिटी दरबारमा रेस्टुरेन्ट चलाउन सरकारले नै टेन्डर आह्वान गर्दा सुरूमा एउटा पनि टेन्डर नपरेको उनले दाबी गरे।

    सरकारले फेरि त्यही ठाउँमा रेस्टुरेन्ट खोल्न दोस्रोपटक टेन्डर खुलाएपछि आफूले पनि प्रस्ताव पेस गरेको उनले बताए। त्यति बेला दुईवटा कम्पनीले मात्र टेन्डर हालेपछि दरबार संग्रहालयका कर्मचारीले ‘दुईवटा मात्र टेन्डर पर्‍यो, मिलेमतो देखियो, अरूलाई पनि भन्नुपर्‍यो’ भनेको बतासको दाबी छ। ‘मैले अरू कसलाई टेन्डर हाल्न लगाउने!’ उनले भने, ‘साथीभाइले चलाएको र मेरो पनि सेयर भएको कम्पनीले टेन्डर हालेको सत्य हो।’

    सरकारले नारायणहिटी दरबारभित्र बनाइँदै गरेको रेस्टुरेन्टको संरचना भत्काउन लागेकाबारे आफूलाई जानकारी भएको उनले बताए। बतास समूहले प्रयोग गरेको देशभरकै सरकारी र सार्वजनिक जमिन र संरचना फिर्ता गर्न नागरिक दबाब बढिरहेको पनि उनलाई थाहा छ। सरकारले जबर्जस्ती संरचना भत्काए कानुनी लडाइँ लड्ने तयारी गरिरहेको उनले बताए।

    ‘मैले गैरकानुनी ढंगले काम गरेको होइन, सरकारलाई फिर्ता लिन मन भए सम्झौताअनुसार फिर्ता लिनुपर्‍यो, मैले अहिल्यै छाड्छु भनेर भनेकै छु,’ उनले भने, ‘होइन भने म पनि कानुनी प्रक्रियामा जान्छु। अन्याय सहनु पाप हो।’

    बतास समूहले व्यावसायिक फड्कोसँगै आफ्नो राजनीतिक सम्बन्ध पनि उच्च स्तरमा पुर्‍याएको छ। यसका पछाडि पोखराका दिवंगत नेता रवीन्द्र अधिकारीको साथ र सहयोग रहेको कतिपयको आशंका छ। बतास रवीन्द्र आफ्नो ‘क्लासमेट’ रहेको बताउँछन्। ‘रवीन्द्र अधिकारी मेरो क्लासमेट हो, विद्यार्थी राजनीति गर्दादेखि नै रवीन्द्रसँग मेरो दोस्ती थियो,’ उनले भने, ‘रवीन्द्रजस्तै धेरै एमाले, कांग्रेस र माओवादी नेताहरूसँग मेरो दोस्ती छ।’

    पोखरामा होटल आनन्द सञ्चालन गर्दादेखि नै बतासको शीर्षनेताहरूसँग चिनजान र सम्पर्क हुन थालेको थियो। एमाले नेता मदन भण्डारी दासढुंगा दुर्घटनामा परेकै दिन बिहान आफ्नो होटलमा ब्रेकफास्ट खाएर गएको उनी बताउँछन्। त्यस्तै, नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले २०५२ सालमा बतासले चलाएको होटल आनन्दमै आफ्नो सम्पर्क कार्यालय राखेका थिए।

    ‘मेरो होटलमा देउवाले २०५२ सालमा सम्पर्क कार्यालय चलाउनु हुन्थ्यो,’ उनले भने, ‘त्यो बेलादेखिको चिनजान हो हाम्रो।’ सबै मन्त्री, प्रधानमन्त्री र नेताहरूसँग आफ्नो सम्पर्क र सम्बन्ध रहेको उनको भनाइ छ। ‘म राम्रो बोल्छु, सही कुरा बोल्छु, देखेको कुरा बोल्छु,’ उनले भने, ‘म गलत थिएँ भने नेताहरूले मलाई भेट नै दिनुहुन्थेन नि, नेताको पनि बुद्धि छ होला नि!’

    प्रधानमन्त्री देउवासँग आफ्नो पुरानो चिनजान रहेको बताउने बतास एमाले अध्यक्ष केपी ओलीसँग भने सामान्य चिनाजान मात्र भएको सुनाउँछन्। आफ्नो ससुराली झापाको भद्रपुर रहेको जानकारी दिँदै उनले भने, ‘ओलीले मलाई यो राम्रो मान्छे हो, कर्मशील मान्छे हो भनेर चिन्नुहुन्छ, उहाँले मलाई सम्मान गर्नुहुन्छ, म उहाँलाई अझ बढी सम्मान गर्छु। तर मेरो जति नजिकको सम्बन्ध शेरबहादुर देउवासँग हो, त्यति केपी ओलीसँग होइन।’

    बतास फाउन्डेसनको सल्लाहकारमा प्रधानमन्त्री देउवा पत्नी आरजु राणाको पनि नाम छ नि भनेर सोध्दा बतासले उनी अनौपचारिक सल्लाहकार भएको जानकारी दिए। करिब दस वर्षअघि नै सल्लाहकारका रूपमा बस्न राणालाई आफूले प्रस्ताव गरेको र उनी अनौपचारिक सल्लाहकार रहेको उनले बताए। ‘एउटा राष्ट्रिय ख्यातिप्राप्त व्यक्ति एनजिओको सल्लाहकार हुन नहुने के छ र,’ बतासले भने, ‘प्रधानमन्त्री पत्नी त उहाँ तीन महिनाअघि मात्र हुनुभएको हो नि।’ सेतोपाटीबाट

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया