• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    कांग्रेस सभापतिसँग लफडा परेपछि एसपी पाण्डे निलम्बित

    365
    SHARES


    काठमाडौँ । प्रहरी प्रधान कार्यालयले हालै सिरहा प्रमुखबाट हेडक्वाटर तानिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई निलम्बन गरेको छ। कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवसँग लफडा गरेको आरोप लागेका पाण्डेलाई प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ निलम्बन गरेको हो।

    उनीमाथि अनुसन्धान जारी रहेकाले तीन महिनाका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिए। ‘उहाँलाई तीन महिनाका लागि निलम्बन गरिएको छ। समिति बनाएर अब छानबिन हुन्छ,’ एसएसपी कुँवरले भने।

    ​पछिल्लो समय सिरहा, सप्तरीलगायत मधेशका जिल्लाहरूमा सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनका नाममा तनाव बढाइरहेको छ। सिरहामा केही समयदेखि उनीहरूले राजमार्ग बन्द गरेर सवारी साधन जलाइरहेका छन्।

    सिके राउतका कार्यकर्ताले शान्ति सुरक्षामा चुनौती दिइरहेका बेला आइतबार सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेको सरूवा भयो। प्रहरी प्रधान कार्यालयले उनलाई हेडक्वार्टर तानेर सिरहामा अर्जुन तिम्सिनालाई खटाउने निर्णय गर्यो।

    प्रहरी उपरीक्षक पाण्डे सात महिनाअघि मात्रै सिरहा गएका थिए। प्रहरीमा साधारणतया कार्यक्षेत्रमा खटेको एक वर्षपछि मात्रै सरूवा हुन्छ। जिल्लाको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बनेका बेला भएको एसपी पाण्डेको सरूवाले अहिले चर्चा पाइरहेको छ।

    एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले कुनै ‘चार्ज’ लगाएको छैन। ‘शान्ति सुरक्षा’ तथा ‘विभागीय आवश्यकता’को सरूवा हो भनेको छ। सरूवा भएको दिन पाण्डेले राति सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवको घरमा गएर गोली हान्ने धम्की दिएको आरोप लागेको छ। त्यो आरोप कति सत्य हो होइन भन्ने यकिन छैन।

    प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरीका एसपीले पाण्डेलाई राति घरबाट लगेको यादवले दाबी गरेका छन्। यो विषयमा पनि छानबिन भइरहेको कुँवरले बताए। पाण्डेको सरूवा शान्ति सुरक्षासँग मात्र जोडिएको भने छैन। पाण्डे र यादवबीच लामो समयदेखि ‘टकराव’ चलिरहेको थियो र यादवले पाण्डेलाई सरूवाको धम्की पनि दिएका थिए। यही सिलसिलामा पाण्डेको सरूवा भएको छ।

    पाण्डेका अनुसार सभापति यादवसँग दुई वटा विषयमा लामो समयदेखि ‘मनमुटाव’ भइरहेको थियो। पहिलो, विष्णुपुर गाउँपालिकामा भएको हत्या प्रकरण। दोस्रो, उनको सुरक्षामा खटिएका प्रहरी फिर्ता।

    गत कात्तिक ११ गते विष्णुपुर-५ का किशन धामीको गोली हानी हत्या भएको थियो। हत्या आरोपमा पाण्डेले कांग्रेसका दुई जना कार्यकर्ता सुशील यादव र प्रमोद यादवलाई एक महिनाअघि पक्राउ गरेका थिए।

    यादवले सुरूमै उनीहरूलाई छोड्न पाण्डेलाई दबाब दिइरहेका थिए। ‘उनीहरू घटनामा संलग्न भएको यथेष्ट प्रमाण भेटिएपछि मैले पक्राउ गरेर हिरासत राखें, अनुसन्धानले निर्दोष मान्न सकेन। उनीहरूको पोलिग्राफ परीक्षण गर्दा ढाँटेकोसम्म मिसिल संलग्न राखेर सरकारी वकिल कार्यालयमा पठाइयो,’ पाण्डेले भने, ‘अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्यो।’

    त्यसपछि यादव आफूसँग चिढिएको पाण्डेको दाबी छ। सुशील र प्रमोद विष्णुपुरका स्थानीय कांग्रेस नेता हुन्। दोस्रो, दिइएका सुरक्षाकर्मी फिर्ता गरेपछि यादवले आफूलाई कार्यालयमै आएर सरूवाको धम्की दिएको पाण्डेले बताए।

    पाण्डेका अनुसार कांग्रेसको महाधिवेशन अगाडि पाण्डेलाई दुई जना सुरक्षाकर्मी पिएसओको रूपमा खटाइएको थियो। यादवले मंसिर १० गतेसम्मका लागि सुरक्षाकर्मी मागेका थिए। जिल्ला सुरक्षा समितिले थ्रेट मूल्यांकन गरी यादवलाई दुई जना पिएसओ खटाएका थिए।

    तर, यादवले सुरक्षाकर्मी मंसिर १० पछि फर्काएनन्। उनले कांग्रेस महाधिवेशनमै लिएर गए। ‘मंसिरभरि फिर्ता गर्नुभएन, जिल्ला सुरक्षा समितिले थप निर्णय पनि गरेन,’ पाण्डेले भने, ‘मैले ती सुरक्षाकर्मी तानिदिएँ।’

    यादवले छोड्न भनेका व्यक्ति जेल गएपछि र सुरक्षाकर्मी फिर्ता गरेपछि १० दिनअघि कार्यालयमै आएर सरूवाको धम्की दिएको पाण्डेले बताए। ‘मेरो सरूवा भयो, जहाँ सरूवा भए पनि मलाई कुनै गुनासो छैन,’ पाण्डेले भने, ‘उनले सरूवा गरिदिन्छु भनेका थिए, सरूवा भएपछि मैले फोन गरेर धन्यवाद दिएको हो।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया