• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    देउवाले यसरी तोडे पौडेलको किल्ला

    386
    SHARES


    कास्की । जिल्लामा नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको बलियो पकड छ। तर शनिबार सम्पन्न जिल्ला सभापतिको चुनावमा देउवा पक्षका उमेदवारले किशोरदत्त बरालले उनको पकड तोडिदिए। उनी नौ सय ९५ मत मत ल्याएर जिल्ला सभापति चुनिएका छन्।

    पौडेल समूहले वर्षौंदेखि किल्ला जमाएको कास्कीमा बरालले नाटकीय शैलीमा कसरी जिते ? पोखराका कान्छो क्षेत्रीय प्रतिनिधी विपिन पौडेल जम्मा १८ वर्षका छन्।

    पोखरा–६ लेकसाइडबाट क्षेत्रीय प्रतिनिधी बनेका विपिनले पार्टीको महानगर, क्षेत्र र जिल्ला तहको कार्यसमिति, प्रदेश र महाधिवेशन प्रतिनिधीका लागि भएको निर्वाचनमा एउटै प्यानलमा मात्र मतदान गरेनन्।

    उम्मेदवारको व्यक्तित्व हेरेर मतदान गरेको पौडेलले बताए। जिल्ला सभापति रोज्दा उनले सभापति शेरबहादुर देउवा प्यानलबाट उठेका बराललाई मतदान गरेको बताए।

    ‘किशोरदत्त बरालको व्यक्तित्व प्रभावशाली छ, बौद्धिक हुनुहुन्छ, पार्टीलाई उहाँले नै अघि बढाउन सक्नुहुन्छ भनेर मैले भोट दिएको हुँ,’ उनले भने।

    कांग्रेसको विधान अनुसार जिल्ला सभापति हुनेले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ। तर यहाँ पाँच जना उम्मेदवार चुनावमा उठे। सभापति देउवा पक्षबाट बराल नेतृत्वको प्यानल मैदानमा उत्रिएको थियो भने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका ४ जना सभापतिका उम्मेदवार थिए।

    यी मध्ये कसैले पनि ५० प्रतिशत ल्याउन सकेनन्। पहिलो चरणको निर्वाचनबाटै बरालले सबैभन्दा बढी छ सय ४४ ल्याए। बरालका प्रतिस्पर्धी सुदीपमोहन भट्टराईले चार सय ६९, आइबहादुर गुरूङले चार सय ६२, पोषनाथ शर्माले तीन सय ३५ र गिरीराज गौतमले ६३ मत पाएका थिए।

    कसैले पनि ५० प्रतिशत बढी मत नल्याएपछि शनिबार फेरी मतदान भयो। शुक्रबारको चुनावमा सबभन्दा बढी मत ल्याउने दुई बराल र भट्टराईबीच सभापतिका लागि चुनाव हुने भयो।

    दोस्रो चरणको चुनाव सुरू हुनै लाग्दा पहिलो चरणबाट बाहिरिएका तीन उम्मेदवारले प्रेस विज्ञप्ति जारी गरेर पौडेल पक्षका उम्मेदवार भट्टराईलाई मतदान गर्न आह्वान गरे।

    चुनावको नतिजा मध्यरातमै आयो।
    दोस्रो चरणको निर्वाचनमा कास्की कांग्रेसका नेताहरूको अपिल र एकता विपरित मतदान भएको थाहा भैहाल्यो। सभापतिका ३ जना उम्मेदवारले विज्ञप्ति नै जारी गरेर भट्टराईको पक्षमा मत माग्दा उल्टै ‘ब्याक फायर’ भएको कार्यकर्ताहरू बताउँछन्।

    ‘नेताहरूले कार्यकर्तालाई भेडा, बाख्रा जस्तो ठाने, दास जस्तो विज्ञप्ति निकालेर यहाँ भोट हाल भने, यस्तो गर्नुहुँदैनथ्यो,’ विपिनले भने, ‘पार्टीभित्रको चुनावमा नेताहरू यसरी प्रस्तुत हुनु गलत छ भनेर नै पहिलो चरणमा उनीहरूलाई मतदान गरेका कार्यकर्ताले बराललाई मतदान गरे।’

    कास्की कांग्रेसमा यसैपनि क्षेत्रीय सभापतिदेखि विभिन्न वडामा युवा पुस्ता हावी छ। युवा पुस्ताले नेता नेतागणलाई नेता नै मान्छ तर नेताले दासको व्यवहार गर्छ भन्ने स्विकार गर्दैन भनेर सन्देश दिएको पौडेलले बताए।

    ‘फोन गरेर भोट माग्न सक्थे, मतदान गर्ने लाइनमा बसेर माग्न सक्थे, एक जना उम्मेदवारका विरूद्ध बाँकी सबै मिलेर विज्ञप्ति नै जारी गरेपछि त्यसका विरूद्ध मतदान भएको हो,’ उनले भने। सभापतिमा ४ जना आकांक्षी मात्र होइन, बराललाई हराउन कास्कीका अन्य हस्ती ठानिएका नेताहरू समेत लागेका थिए।

    पूर्वमन्त्री यज्ञबहादुर थापा, पूर्व सभापति शुक्रराज शर्मा, निवर्तमान सभापति कृष्ण केसी, नेता देवराज चालिसे लगायतका नेताहरू समेत बराललाई हराएर भट्टराईलाई जिताउन लागेका थिए।

    जिल्लामा लामो समय कांग्रेसको राजनीतिमा रहेका नेताहरू लाग्दा समेत कार्यकर्ताले बराललाई जिताएरै छाडे। सभापतिका लागि दोस्रो चरणको निर्वाचनमा बरालले ९९५ मत पाएर विजयी भएका थिए भने भट्टराईले ९१५ मत पाएका थिए।

    बरालले चुनाव जित्नुमा उनका विरूद्ध नेताहरूले बनाएको गठबन्धन प्रमुख कारण भएको र त्यसमाथि उनको व्यक्तित्वले पनि उत्तिकै प्रभाव पारेको कार्यकर्ताहरूले बताउँछन्।

    कास्की कांग्रेसमा बौद्धिक र स्पष्टवक्ताको छवि उनले बनाएका छन्। तत्कालिन आर्वा गाविसमा गाविस अध्यक्षको निर्वाचन हारेका बराल कास्की–२ मा २ पटक क्षेत्रीय सभापतिमा चुनाव हारेका थिए।

    शिक्षण पेशामा संलग्न बराल कांग्रेस निकट नेपाल शिक्षक संघको पूर्व केन्द्रिय उपाध्यक्ष हुन्। कांग्रेसभित्रको राजनीतिमा वैचारिक र संगठनात्मक सुदृढिकरणमा जोड दिँदै आएका बरालले ‘नेपाली कांग्रेस रूपान्तरणका सुत्रहरू भाग–१’ प्रकाशित गरेका छन्।

    उनको शालिन छवि र वैचारिक छविले कार्यकर्ता प्रभावित भएर गुट नहेरी मतदान गरेको विपिनको भनाई छ।

    सभापतिमा पहिलो चरणमै चुनाव हारेर भट्टराईलाई मतदान गर्न सभापतिका तीनै आकांक्षीको अपिल समेत उनीहरूकै ‘पकेट’का कार्यकर्ताले टेरेनन्। सभापति उम्मेदवार आइबहादुर गुरूङ निकटका एक कार्यकर्ताले पहिलो चरणमै बाहिरिएका नेताहरूको आह्वान पार्टीभित्रको चुनावमा मान्न जरूरी नभएको बताए।

    ‘मेरो नेता आइबहादुर नै हो, पहिलो चरणमै बाहिरिएपछि कसलाई भोट हाल्ने मेरो कुरा हो,’ कांग्रेसका ती कार्यकर्ताले भने, ‘पार्टीभित्रको निर्वाचनमा पनि विज्ञप्ति निकालेर ‘ह्विप’ लगाउन खोजेपछि झन् भोट हाल्ने त कुरै भएन।’

    उनले सभापतिमा बराललाई मतदान गरेको बताए। गण्डकी प्रदेशमा वरिष्ठ नेता पौडेलको लामो समय एकछत्र भएकाले पनि बरालले थप मत ल्याउन सफल भएको नेताहरूको अनुमान छ।

    ‘सधैं पौडेल पक्षको हालिमुहाली भयो, युवा कार्यकर्ताले परिवर्तन खोजे,’ कांग्रेसका एक नेताले भने। जिल्लाका ‘ठूला’ नेताहरूले गठबन्धन नै बनाएर लाग्दासमेत आफूले सभापति जित्नुमा कार्यकर्ताले परिवर्तनको खोजी गरेको नवविर्नाचित सभापति बरालले बताए।

    ‘साथीहरूले मलाई विश्वास र भरोसा गर्नुभयो, पार्टी संचालन गर्न मैले बनाएको एजेण्डा स्विकार गर्नुभएको हो,’ उनले भने, ‘नेताहरू एकातिर हुँदा पनि मैले चुनाव जितें, यसलाई साथीहरूले परिवर्तन खोज्नुभएको रहेछ भनेर लिएको छु।’

    कांग्रेस सभापति भएपछि ४ बर्षे कार्ययोजना बनाएर काम गर्ने समेत उनले मतदाता समक्ष प्रतिवद्धता जनाएका छन्। आफूलाई देउवा पक्षीय उम्मेदवार भनिएपनि गुटरहित कांग्रेस बनाउनु आफ्नो उदेश्य रहेको उनले सुनाए।

    यता, कांग्रेस कास्कीका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले भने पार्टीभित्रका आन्तरिक चुनावलाई सामान्य रूपमा लिएको बताए। यो चुनावले एउटा पक्षको विजय र अर्को पक्षको पतन भन्ने अर्थमा हेर्न नहुने भन्दै उनले आफू सभापति हुँदाका उदाहरण दिए।

    ‘म पनि कास्कीमा सचिव, उपभासपति हुँदै सभापति भएको हुँ, त्यतिबेला मैले जित्दा अर्को पक्ष समाप्त भयो भनेर हेरिएको थिएन,’ उनले भने, ‘पराजित हुनेले पनि सम्मानजनक मत पाएको छ।’

    थापाले कास्की सभापतिमा भएको यस निर्वाचनले नेताहरूको लोकप्रियता घट्यो भन्ने अर्थमा नबुझ्न आग्रह गरे।

    ‘केन्द्रमा कोही सभापति निकट होलान्, कोही अरू नेताहरूसँग नजिक होलान्, पराजय भोगेका साथीहरू निमिट्यान्न हुँदैनन्, यसलाई नेताहरूको लोकप्रियता घट्यो भनेर बुझ्न हुँदैन,’ उनको भनाइ थियो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया