• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    महेश बस्नेतले गरे यस्तो घोषणा

    1.7K
    SHARES


    काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

    पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आफूले सचिव पदमा उम्मदवारी दिने निर्णय गरेको उनले बताए।

    आफू युवा सङ्घको अध्यक्ष हुँदा होस् वा एमालेको केन्द्रीय सदस्य हुँदा पार्टीकै पक्षमा युवालाई एकताबद्ध बनाउन काम गरेको बताउँदै उनले आगामी दिनमा एमालेमा ऊर्जावान युवाको प्रवेश गराउन पनि उम्मेदवारी घोषणा गरेको बताए।

    उनले आफूले सचिव पदमा उम्मेदवारी दिने १० आधारसमेत प्रस्तुत गरेका छन्। सो आधारपत्रमा उनले आफू मन्त्री हुँदा गरेका कार्य र आगामी दिनमा पार्टी र देशलाई दिनसक्ने योगदानहरुका बारेमा उल्लेख गरेका छन्। एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।

    महाधिवेशनमा मञ्च अत्याधुनिक प्रविधियुक्त, आकाशमा २ वटा ड्रोन
    एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको लागि उद्घाटन र बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणलाई तीव्र पारिएको छ । उद्घाटन स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान भइरहेको छ भने महाधिवेशन स्थल ड्रोनबाट निगरानी हुनेछ ।

    मञ्च नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै निर्माण भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताए । प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले पाँच लाख नागरिकले सजिलै हेर्न मिल्ने गरी मञ्च निर्माण भइरहेको जानकारी दिए ।

    उनका अनुसार एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र अवलोकन गर्न नसक्ने भएकाले विभिन्न स्थानबाट लाइभ प्रशारण गरिनेछ । उद्घाटन सत्र लाइभ गर्न भिडियो क्यामेराका साथै कम्तिमा दुई वटा ड्रोन क्यामेरा प्रयोग गरिने श्रेष्ठले बताए ।

    ९ मंसिरमा हस्तान्तरण गर्ने गरी मञ्च निर्माण भइरहेको श्रेष्ठको भनाइ छ । उनले हालसम्म मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको बताए । त्यसैगरी, सौराहामा बन्द सत्र हुने हल निर्माण समेत आइतबारदेखि नै सुरु भइसकेको उनले जानकारी दिए । ‘बन्द सत्र हुने सौराहाको होटल सेभेन स्टार नजिकै खाली चौरमा आल्मुनियमको संरचना बनाइएको छ,’ उनले भने ।

    पत्रकार सम्मेलनमा अनुगमन समितिको संयोजकमा काशीनाथ अधिकारीले महाधिवेशनको कामको नियमित अनुगमन भइरहेको बताए । समितिले कामलाई थप गति दिन आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन समेत गरेको उनको भनाइ छ ।

    महाधिवेशन तयारीले हिजोदेखि गति समातेको अधिकारीले बताए । जनसहभागिता जुुटाउन गाउँगाउँमा घरदैलो कार्यक्रम समेत जारी रहेको उनको भनाइ छ ।

    १० मंसिरमा हुने उद्घाटन सत्रमा सहभागी हुन विभिन्न ६ स्थानबाट र्‍याली निकाल्ने तयारी भइरहेको अधिकारीले बताए । गैँडाकोट, आँपटारी, विशाल चोक, केन्द्रीय बस टर्मिनल, त्रिचोक, बेलचोकबाट र्‍याली निकाल्दै ब्यापक जनसहभागिता जुटाउने गरी तयारी भइरहेको अधिकारीको भनाइ छ ।

    प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जिल्लामा विभिन्न ६ वटा समिति निर्माण गरेर काम अगाडि बढाएको बताए । व्यापक जनसहभागिता जुटाउन जिल्लाका ९८ वटै वडा कमिटी, दुई वटा शाखा कमिटी र पार्टीका सबै जनवर्गीय संगठन परिचालन भइरहेको सुवेदीले जानकारी दिए ।

    नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जिल्लामा निर्माण गरिएका सबै समितिले आफ्नो कामलाई तीव्र रुपमा अगाडि बढाइरहेको बताइन् । जिल्लामा रहेका सुरक्षा निकायहरूसँग सहकार्य गरेर ट्राफिक व्यवस्थापनसहित सुरक्षा प्रबन्ध मिलाउने रावलले जानकारी दिइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया