• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रहरीले वकिलहरुको रामधुलाई गरेपछि….

    413
    SHARES


    काठमाडाै‌ । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलित कानुन व्यवसायीमाथि अनावश्यक बल प्रयोग नगर्न अनुरोध गरेको छ।

    बिहीबार नेपाल बार एसोसिएसनको नेतृत्वमा भएको आन्दोलनको आयोगले मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरेको र अधिकृतहरूको टोलीले घाइते भएका वकिलहरूको अवस्था समेत बुझ्न अन्नपूर्ण न्यूरो अस्पताल पुगेको जनाएको हो।

    प्रवक्ता टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै कानुन व्यवसायीमाथि अनावश्यक बल प्रयोग नगर्न अनुरोध गरेका हुन्। साथै, घाइते भएका वकिलको नि:शुल्क उपचार गराउन तथा घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग आयोगले माग गरेको हो।

    ‘कानुन व्यवसायीहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन विपरीतको कार्य भएकोले शान्तिपूर्ण आन्दोनमा रहेका कानुन व्यवसायीहरूमाथि अनावश्यक बल प्रयोग नगर्न, घाइतेहरूको नि:शुल्क उपचार गर्न तथा घटनाको छानबिन गरी दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोग सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

    संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा २०, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा २१ र नेपालको संविधानको धारा १७ ले बिना हातहतियार शान्तिपूर्वक भेला हुने तथा स्वतन्त्र रूपमा विचार तथा अभिव्यक्ति राख्न पाउने हकको सुनिश्चितता गरेको छ।

    बिहीबार अदालत परिसरमा प्रहरी र कानुन व्यवसायीहरूबीच घम्साघम्सी भएको थियो। त्यसक्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही घाइते भएका थिए। यता नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निरन्तरता दिनका लागि गोला प्रणाली लागू गरिएमा बहसमा नजाने बताएको छ ।

    हालसम्म कस्तो किसिमले गोला प्रणाली लागू गर्न खोझेको हो भन्ने तय नभइसकेकाले नियमावली राजपत्रमा प्रकाशित भएपछि मात्रै यसबारे थप धारणा तय गर्ने बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले बताए ।

    बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले भने, ‘प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग पूरा भएर न्यायालयमा समग्र सुधार हुँदै गयो भने गोला प्रणालीबाट पेसी तोक्ने कुरा मानेर जान सकिन्छ । गोला प्रणालीमा जानुपर्छ भन्ने हाम्रो नै माग हो । तर, आन्दोलन शिथिल पार्ने किसिमबाट गोला प्रणाली अपनाए बहसमा जान्नौं ।’

    प्रधानन्यायाधीश जबराको राजीनामा नै बारको पहिलो सर्त भएको पनि श्रेष्ठले बताए । उनले त्यसमा तलमाथि हुने गरी कुनै पनि कार्य स्वीकार्य नहुन भनाइ राखेका थिए । ‘बार आन्दोलनमा छ । बार न्यायालयमा रहेको विसंगति, विकृति, भ्रष्टाचार रोक्नका लागि अभियानमा लागेको छ । हामीले भनेका छौं, हाम्रो यो आन्दोलनमा कहींकतैबाट असर पर्नसक्ने अवस्था छैन,’ उनले भने, ‘हाम्रो आन्दोलनमा जे माग, उद्देश्य लिएका छौं त्यसमा केही तलमाथि पर्ने स्थिति आयो भने तपाईं (न्यायाधीश)हरूको कुरा मान्दैनौं ।’

    प्रधानन्यायाधीशको राजीनामा पहिलो सर्त रहेको तर न्यायालय शुद्धीकरणको अभियान नरोकिने श्रेष्ठको भनाइ छ । अहिलेका प्रधानन्यायाधीशले राजीनामा दिएर अर्को आउँदा पनि अहिलेको विकृति दोहोर्‍याए बारले विरोध गर्ने उनले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया