• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    सर्वोच्चमा वकिल र प्रहरीबीच धकलाधकेल, अवस्था तनावग्रस्त

    618
    SHARES


    काठमाडौँ । नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन आज पनि धर्ना जारी राखेको छ । हिजो प्रधानन्यायाधीश राणालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको बारले आज सर्वोच्चको दोस्रो गेटमा पनि अवरोध गर्ने प्रयास गरेको छ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणालाई अदालत प्रवेश गर्न नदिन वैकल्पिक गेटमा पुगेका वकिल र प्रहरीबीच आज पनि धकलाधकेल भएको छ । त्यसक्रममा एक जना घाईते भएका छन् । प्रधानन्यायाधीश राणाले भने आज निवासबाटै ९ इजलास तोकेका छन् ।

    मुलुकको सर्वोच्च न्यायालय इतिहासकै सर्वोच्च संकटमा छ, इजलासहरू तीन सातादेखि ठप्पप्रायः छन्, पदासीन प्रधानन्यायाधीशमा चरम विचलन देखिएको भन्दै स्वयं न्यायाधीशहरू र बार आन्दोलित छन्, तापनि निकास निस्कने चाँदीको घेरासमेत देखिएको छैन । लोकतान्त्रिक राज्यका तीन स्तम्भ कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्तिपृथकीकरण र शक्ति सन्तुलनको सम्बन्ध हुन्छ ।

    कुनै पनि स्तम्भमा संकट उत्पन्न भए अरू स्तम्भले भूमिका खेल्नुपर्छ भन्ने सिद्धान्त र अभ्यास पनि छ । त्यसैले कार्यपालिका र न्यायपालिका प्रमुखको चयन तथा उनीहरूमाथिको कारबाहीमा व्यवस्थापिकाको प्रत्यक्ष भूमिका हुन्छ । व्यवस्थापिका भनेको कुनै अमूर्त बिम्ब होइन, जनताबाट निर्वाचित प्रतिनिधिहरूको मूर्त संरचना हो, जसको परिचालन दलहरूले गर्छन् । त्यस्तै कार्यपालिका प्रमुख पनि दलका नेता नै हुन्, जसले संवैधानिक परिषद्को अध्यक्षता गरेका हुन्छन् ।

    यसरी प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद् तथा अनुमोदन र कारबाहीसमेत गर्ने व्यवस्थापिकाको नेतृत्व गर्ने जिम्मा पाएको राजनीतिक नेतृत्व किनारामा उभिएर रमिते बन्ने होइन, आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्नुपर्ने कर्तव्यबाट विमुख हुँदा संकट झन् थपिएको छ ।

    प्रधानन्यायाधीशमाथि न्यायालयभित्र–बाहिर जेजस्तो आरोप लागेको छ, जुन खाले चौतर्फी अविश्वास उत्पन्न भएको छ, यसको सहज निकास भनेको उनले बिनासर्त राजीनामा दिनु नै हो । नैतिक दृष्टिले पनि उपयुक्त यही हो तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा जुनसुकै स्तरको आलोचना सहेर पनि जवाफदेहिताबिना पदमा रहन खोजेका छन् । जबरा टसको मस नभएपछि अदालतको गतिरोध लम्बिएको छ । आमरूपमा न्यायप्रणाली न्यायालयको आन्तरिक मामिला हो, त्यसमा बाह्य हस्तक्षेप ग्राह्य हुँदैन ।

    कुन मुद्दामा कस्तो फैसला दिने भन्ने विषय देशको संविधान, कानुनी व्यवस्था र न्यायमूर्तिको योग्यता र विवेकमा भर पर्ने हो । तर अहिले भइरहेको बहस कुनै विशिष्ट मुद्दा विशेषमा होइन, समग्र न्यायालयको गरिमाको विषयमा हो । यो प्रतिष्ठा संकटमा परेको भन्दै सर्वोच्चकै २० मध्ये १९ न्यायाधीश अवज्ञामा उत्रिएका छन्, न्यायालयको ‘वाचडग’ को भूमिकामा रहने नेपाल बार र सर्वोच्च बार आन्दोलनमा छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया