• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    पार्टीको खातामा पैसा जम्मा गर्न एमालेको उर्दी, खाता नम्बरसहित

    385
    SHARES


    काठमाडाै‌ । नेकपा एमालेले पार्टीको बैंक खातामा एक सय रूपैयाँ जम्मा गर्न उर्दी जारी गरेको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बुधबार बसेको महाधिवेशन मूल व्यवस्थापन कमिटी बैठकले महाधिवेशनका लागि कम्तीमा एक सय रूपैयाँ पार्टी खातामा जम्मा गर्न आग्रह गरेको हो।

    एमालेले राष्ट्रिय बाणिज्य बैंक टेकु शाखामा १७–००१००००११५९००१ नम्बरको खातामा रकम जम्मा गर्न आफ्ना सदस्यहरूलाई अपिल गरेको छ। पार्टीका सबै सदस्यहरुले महाधिवेशनको खर्चका लागि मोबाइलमार्फत् वा सो बैंकको खातामा कम्तीमा १०० रुपैयाँ जम्मा गर्न अपिल गरिएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए।

    एमालेले महाधिवेशनमा चन्दा नउठाउने निर्णय गरेको थियो। भट्टराईका अनुसार एमालेसँग हाल करिब ७ लाख ३० हजार पार्टी सदस्य छन्। उनीहरुबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ७ करोड ३० लाख रुपैयाँ उठछ। एमालेले मंसिर १० देखि १२ मा चितवनमा दसौं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले दसौं राष्ट्रिय महाधिवेशन (मंसिर १०–१२) मा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेका छन् । तर उपाध्यक्ष भीम रावलले अध्यक्ष ओलीविरुद्ध उम्मेदवारी दिने संकेत गरेका छन् भने नेता घनश्याम भुसाल पनि छलफलमा छन् ।

    सर्वसम्मत नेतृत्वमार्फत ओली पार्टीभित्र र राष्ट्रिय राजनीतिमै केही राजनीतिक सन्देश प्रवाह गर्ने योजनामा पनि छन् । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालजस्ता शीर्ष नेताहरूले एमाले छाडेर नेकपा एकीकृत समाजवादी बनाएपछि तथा उपाध्यक्ष वामदेव गौतमले राजीनामा गरेपछि पार्टीभित्र ओलीलाई चुनौती दिने उनकै हैसियतको अर्को नेता छैनन् ।

    ‘ओली शक्तिशाली अध्यक्ष बन्नेमा शंकै छैन, तर उहाँ निर्विकल्प पनि देखिन चाहनुहुन्छ । आफ्नो नेतृत्वमा पदाधिकारीसहित केन्द्रीय कमिटी नै सर्वसम्मत चयन गरेर पार्टीलाई एकछत्र नेतृत्व दिने उहाँको चाहना छ,’ दसबुँदे सहमति पक्षधर एमाले स्थायी कमिटीका एक सदस्यले भन्छन् ।

    एमालेका अरू नेताले पनि आगामी चुनावमा ओलीलाई राष्ट्रिय नेताका रूपमा चित्रण गर्ने र उनको वरिपरि राजनीति केन्द्रित गर्ने योजना बनाएका छन् । एक पदाधिकारी भन्छन्, ‘यसका लागि ओलीलाई पहिला पार्टीभित्र निर्विकल्प र सर्वमान्य नेताका रूपमा स्थापित गर्नुपर्ने हुन्छ । पार्टीमै विवाद हुने र नेतृत्वका लागि अर्को प्रतिस्पर्धी आउँदा आफ्नै सहकर्मीलाई पनि समेट्न नसकेको सन्देश जान्छ ।’ उनका अनुसार यसबाहेक ओली आफ्नो परम्परागत समूहलाई सुदृढ गर्ने रणनीतिमा पनि छन् ।

    स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार अहिले एमालेले धेरै चुनौतीको सामना गरिरहेको हुँदा पार्टीलाई एकढिक्का बनाएर लैजान सर्वसम्मत नेतृत्व चयन आवश्यक बनेको हो । ‘हामीले वडा, पालिका अधिवेशनमा पनि सर्वसम्मत भनिरहेका छौं । किनभने जतिसुकै प्रजातन्त्र भने पनि चुनावमा भाग लिइसकेपछि त्यसले केही तुष रहने देखियो,’ नेम्वाङ भन्छन्, ‘अहिले थुप्रै चुनौती सामना गर्दै अगाडि बढेका छौं । त्यसैले सर्वसम्मतिमार्फत एकढिक्का भएर अगाडि बढौं भन्ने नै जोड हो । सर्वसम्मत हुन सकेन भने निर्वाचन पनि हुन्छ ।’

    सर्वसम्मत नेतृत्व छनोट गर्ने ओलीको प्रयास चुनौतीरहित भने छैन । उपाध्यक्ष रावलले अध्यक्षको दाबेदारीको घोषणा गरेका छन् । उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास गर्नुपर्छ भन्ने कार्यकर्तालाई निराश नबनाउने बताएका छन् । अर्का नेता भुसाल पनि साथीहरूसँग छलफलमा छन् । ‘अध्यक्षमा उम्मेदवारीको संकेत गरेका रावल सुदूरपश्चिमबाट फर्कनुभएको छैन, उहाँ फर्किएर छलफल गरेपछि स्थिति स्पष्ट हुन्छ,’ भुसालनिकट एक नेताले भने ।

    दसबुँदे पक्षधरका अन्य नेता भने ओलीको प्रस्ताव कुरेर बसेका छन् । सम्मानजनक सम्बोधन भए उनीहरू ओलीलाई निर्विकल्प मान्ने योजनामा छन् । एमालेमा अब १५ सदस्यीय पदाधिकारी चयन हुने भएकाले आफ्नो परम्परागत समूह र असन्तुष्ट समूहलाई समेट्न ओलीका लागि सहज छैन ।

    विगतमा ओलीको आलोचना गर्दै आएका एमाले उपाध्यक्ष युवराज ज्ञवाली पनि अहिले सर्वसम्मत नेतृत्व चयन हुँदा राम्रो सन्देश जाने बताउँछन् । ‘अहिले एमाले विशिष्ट अवस्थामा छ । पाँचदलीय गठबन्धन मिलेर एमाले हराउने योजनामा लागेका छन् । अहिले नै पार्टी विभाजित भएको छ । यो आफैंमा ठूलो चुनौती हो,’ ज्ञवालीले भने, ‘पदाधिकारी, स्थायी र केन्द्रीय कमिटीमा योग्यता, क्षमता क्रियाशीलताका आधारमा यहाँभित्रका सबै भावनालाई सम्बोधन गर्ने गरी सहमति गर्नुपर्छ । होइन भने, आउने चुनावमा नकारात्मक परिणाम आउन सक्छ ।’एमालेमा रहेका पूर्वमाओवादी नेताहरू पनि सर्वसम्मत नेतृत्वको पक्षमा छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ