• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सल्यान बस दुर्घटनाः मृतकको सङ्ख्या १२ पुग्यो, केहीको अवस्था गम्भिर

    238
    SHARES


    काठमाडौ। पश्चिम नेपालको सल्यान जिल्लाबाट दाङको तुलसीपुरतिर जाँदै गरेको एउटा यात्रुवाहक बस सडकबाट तल खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ। मृतकमध्ये दुई जना बालबालिका पनि छन्।

    उक्त बसमा झन्डै ३० जना यात्रु सवार रहेको बुझिएको छ। गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट नेपालगन्ज पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईँ खतिवडाले बताएकी छन्।

    उनका अनुसार थप चार जनाको पनि हवाई उद्धार गर्न लागिएको छ। गम्भीर घाइतेमध्ये धेरै जनालाई मेरुदण्डमा चोट पुगेको उनले बताइन्।यसअघि उनले उद्धारकार्यमा संलग्न टोलीलाई उद्धृत गर्दै अधिकारीहरूले “धेरै घाइतेहरू गम्भीर अवस्थामा” रहेको बताएकी थिइन्।

    अरू घाइतेलाई एम्बुलेन्सबाट जिल्ला अस्पताल वा नेपालगन्जको कोहलपुरस्थित अस्पतालतिर पठाइएको जानकारी उनले दिइन्।प्रमुख जिल्ला अधिकारीका अनुसार दुर्घटना जिल्लाको कपुरकोटमा भएको हो। दुर्घटनास्थल जिल्ला सदरमुकाम खलङ्गाबाट झन्डै ३५ किलोमिटर दक्षिणपूर्वमा छ।

    जिल्ला प्रहरी कार्यालयले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार छ जनाको दुर्घटनास्थलमै मृत्यु भएको छ।प्रहरीको प्रारम्भिक अनुसन्धानमा तीव्र गतिमा गुडेको बसले अर्को सवारीसाधनलाई उछिन्न खोज्दा दुर्घटना भएको देखिएको छ। भर्खरै विस्तार गरिएको सडकबाट बस झन्डै २०० मिटर तल खसेको थियो।

    जिल्लमा उपचार सम्भव नभएका घाइतेहरुलाई हेलिकप्टरबाट अन्यत्रै लानुपर्ने अवस्था आएको छ । प्रमुख जिल्ला अधिकारीका अनुसार सिकिस्त अवस्थामा रहेका घाइतेहरूलाई काठमाडौँ र नेपालगन्जस्थित अस्पतालहरूमा लैजाने तयारी गरिएको छ।

    मृतक १२ मध्ये आठको सनाखत: सल्यानमा आइतबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये नाैजनाको शव जिल्ला अस्पताल सल्यानमा राखिएको छ भने तीनजनाको श्रीनगरमा राखिएको छ।

    ज्यान गुमाउनेमा सल्यान जिल्ला शारदा नगरपालिका– १२ हाल तुलसीपुर– ६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका– २ बस्ने ६१ वर्षीया मीना डाँगी, शारदा नगरपालिका– ३ बस्ने ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी– १ काभ्राकी २४ वर्षीया मीना शाही, बबई गाउँपालिका– ४ दाङ बस्ने ६० वर्षीया डुली रेउले, बबई गाउँपालिका– ६ पञ्चकुलेकी ७० वर्षीया कलावली बुढाथोकी, घोराही नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, छत्रेश्वरी– २ का २९ वर्षीय तिलक वली रहेका छन्। मृतक अन्य चारजनाको सनाखत भएको छैन।

    यस्तै घटनामा घाइते भएकामध्ये गम्भीर तीनजनालाई हेलिकोप्टरमार्फत कोहलपुर लगिएको छ। अन्य केही घाइतेहरूलाई पनि थप उपचारका लागि हेलिकोप्टरबाट बाहिर पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले बताइन्।

    सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको ना.२ख २५५२ नम्बरको दुर्घटनामा परेको बस सडकबाट दुई सय मिटर तल खसेको बताए। बसमा ३६ जना यात्रु रहेको बताइएको छ। सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरका लागि छुटेको आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोलानजिकै दुर्घटनामा परेको हो।

    घाइतेहरूको तुलसीपुर, सल्यानको श्रीनगर र जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ। अस्पतालमा ठाउँ अभावका कारण उपचारमा समस्या भएको छ। घाइतेमध्ये सानपा– २ की २६ वर्षीय सिजन खान, भरतपुर दाङकी तीन वर्षीया रोजी वली, सानपा– २ का ४९ वर्षीय टोपेन्द्र वली, तुलसीपुरकी २१ वर्षीया रूक्मिना घर्ती,

    तुलसीपुरका २१ वर्षीय भुवन डाँगी, सानपा– २ का २६ वर्षीय रविनकुमार खान, हापुरे दाङकी २१ वर्षीया तिला वली, तुलसीपुर वेलवाका २१ वर्षीय विषण डाँगी, फलावाङकी २९ वर्षीया हिराकुमारी बाेहरा र लुहामका २१ वर्षीय पोषण गिरीको परिचय खुलेको छ। उनीहरूको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

    दशैँको बेला एउटा यात्रुवाहक बस मुगु जिल्लाको राराछायानाथ नगरपालिका-७ मा दुर्घटनामा पर्दा कम्तीमा ३२ जनाको मृत्यु भएको थियो। नेपालका पहाडी मार्गहरूमा प्रत्येक वर्ष चाडवाडका बेला ठूला दुर्घटनामा परेर धेरै मानिसले ज्यान गुमाउने गरेका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ