• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    ‘जिन्दगीलाई अन्तिम मौका दिएँ’

    666
    SHARES


    असफल प्रयासहरूको शृङ्खलाले सरिता कठायतलाई छोडेको थिएन। रहरले फेसन डिजाइनिङ पढेकी थिइन्। जोस जोसमा आफैले फेसन इन्स्टिच्यूट खोलिन्। चलेन। उनका लागि विदेशिनु नै विकल्प बन्यो। त्यसैले जापान जानका लागि भाषालगायत अन्य तयारी गरिन्। तर भिसा लागेन। त्यसपछि पुनः व्यवसायको बाटो रोजिन्। जापान पठाउने कन्सल्टेन्सीमा लगानी गरिन्। त्यहाँ पनि पैसा डुब्यो।

    बाँके, कोहलपुरकी २७ वर्षीय उनलाई अभिनयको रहर थियो। दुई वर्षअघि एउटा साङ्गीतिक भिडियोमा अभिनयको मौका समेत पाइन्। तर, न गीत चल्यो न त उनको अभिनयको नै चर्चा भयो। “जे गर्‍यो त्यसैमा ठक्कर। म अब केही गर्न सक्दिनँ भन्ने विन्दुमा पुगेँ। घरबाट पनि – सबै प्रयास गरिस्। केही भएन। अब बिहे गर् भन्ने कुरा आयो। म पनि त्यही विचार गर्दै थिएँ,” सरिताले सुनाइन्।

    दिक्दारी र तनावले गाँजेको उनी बताउँछिन्। ठीक त्यति बेला मण्डला ड्रामा स्कूलमा छात्रवृत्तिसहित भर्ना खुलेको थाहा पाइन्। त्यतिन्जेल रङ्गमञ्चबारे भने उनी अनभिज्ञ थिइन्। खोजिन्, बुझिन्। जिन्दगीमा कसरी अघि बढ्ने भन्ने अन्यौलताबिच उभिएकी उनमा फेरि अर्को हुटहुटी जाग्यो, अभिनय सिक्ने। “जिन्दगीलाई अन्तिम मौका दिने निर्णय गरेँ,” उनले हाँस्दै सुनाइन्,”बिहे गरिनँ। छात्रवृत्तिका लागि आवेदन भरेँ। पर्‍यो। काठमाण्डू आएँ। त्यसपछि सिकाइ सुरु भयो।”

    उनीसँगै सात प्रदेशका १६ जना प्रशिक्षार्थी थिए। सबैको फरक पृष्ठभूमि र भोगाइले जीवनको फरक पाटो बुझाएको उनी सुनाउँछिन्। रङ्गकर्मले भने जीवनलाई हेर्ने दृष्टिकोण फराकिलो बनाउन मद्दत पुर्‍याएको उनको अनुभव छ। “समाजप्रति जिम्मेवार महसुस हुँदै गयो। पहिले जुन विषयलाई मसिना ठान्थेँ ती संवेदनशील रहेछन् भन्ने थाहा पाएँ। आफू उदार छु जस्तो लागेका विषयमा कति सङ्कुचित थिएँ भन्ने बुझेँ,” उनी आफूमा भएका परिवर्तनहरू बारे निर्धक्क बोल्छिन्।

    सन् २०२० को अगस्टबाट सुरु भएको डेढ वर्षीय आवासीय प्रशिक्षणपछि नाटक तयार पार्ने प्रक्रियाले सिकाइलाई आकार दिएको उनको ठम्याइ छ। नाटक ‘जिजीविषा’को तयारी भइरहेको थियो। नाटक पोखरीमा पानी सुक्दै गएपछि माछाहरूलाई परेको सङ्कट र उनीहरूको बाँच्नका लागि गर्ने सङ्घर्षप्रति केन्द्रित थियो।

    माछा प्रतिनिधि थिए संसारका हरेक जीवको जो जन्म र मृत्युबीच अनेक द्विविधा र अनिश्चितता बीच रुमलिन्छन्। जस्तो सुकै कठिन परिस्थितिमा पनि बाँच्नु हरेकका लागि सबैभन्दा महत्त्वपूर्ण विषय बन्छ। “रिहर्सल गर्दै जाँदा अर्थ प्रस्ट हुँदै गयो। मैले माछा बनेर आफ्नो भूमिका निर्वाह गरिरहँदा आफैसँग प्रश्न सोधेँ – मान्छे हुनुको भूमिका चाहिँ कसरी निभाएँ त?,” उनी आफैलाई प्रश्न गर्छिन्।

    उनले गृह नगर कोहलपुरको सडकमा दर्जनौँ गाईबस्तु अलपत्र छाडिएका देखेकी थिइन्। कहिले खान नपाएर त कहिले गाडीको ठक्करबाट ती गाई मरेको खबर बजार भरी फैलन्थ्यो। वरपरका मानिसले दूध दिन छाडेको गाई वा बहर फाल्न लगेको समेत देखेकी थिइन्।

    “त्यो त सरासर मर् भनेर छाडिदिनु रहेछ। आफूलाई फाइदा हुँदासम्म मात्र पाल्नुको अर्थ के? विवेकशील प्राणी हुनुको अर्थ के?,” सरिताले सुनाइन्। यीनै प्रश्नहरूले उनलाई ती गाईको आवाज बन्न झकझकायो। नाट्य प्रशिक्षण सकेर उनी घर फर्कँदै छिन्। त्यहाँ पुगेर ‘सडकका गाईको आवाज’ नामक कचहरी नाटक गर्दै छिन्। “गाई बनेर बोल्नेछौँ। सडकमा छाडिँदा भोग्नु पर्ने पीडा व्यक्त गर्नेछौँ। व्यवस्थापनको माग गर्नेछौँ,” उनले योजना सुनाइन्।

    स्थानीय कलाकारलाई प्रशिक्षण दिई नाटक देखाउन सके र आम मानिसले गाईबस्तुको जीवनप्रति जिम्मेवार महसुस गरे आफू सन्तुष्ट हुने बताउँछिन्। “अब सफल हुनुको भोकभन्दा बढी अर्थपूर्ण बाँच्ने अठोट छ,” सरिताले भनिन्। तीज गीत कसरी गाउन थालिएको थियो, अहिले कसरी परिवर्तन हुँदै गएको छ? ‘आकाश’को दुर्व्यवसनीविरुद्ध बोल्ने जमर्को

    नाटकले अर्थपूर्ण कामको बाटोमा डोर्‍याएको छ डोटीका आकाश नेपालीलाई पनि। आफ्नो योजना सुनाउन अघि सर्दा उनी आफ्नो परिचय दिन्छन् – नमस्कार म ‘आकाश।’ यति बेला उनको नामसँगै मिसिएको हुन्छ डोटेली लवज जुन धेरैका लागि अशुद्ध सुनिन्छ। तर, उनको ठाउँका मानिसले त्यसलाई शुद्ध बुझ्छन्।

    आफ्नो ठाउँका मानिसले बुझ्ने भाषा र लवजमा उनी नाटक देखाउन चाहन्छन्। गाउँका किशोर किशोरीमा व्याप्त कुलतविरुद्धको विषयमा। दशैँमा डोटी, जोरायलस्थित घर पुगेका थिए। लामो समयपछि गाउँमा पुग्दा धेरै कुरा फेरिएको भान भएको उनी सुनाउँछन्। “फेरिएको होइन रहेछ। मैले गाउँमा छँदा बेवास्ता गरेको विषयले त समस्याको रूप लिँदै रहेछ। भर्खर १२/१३ वर्षका भाइहरू गाँजाको कुलतमा फसेका छन्। मानिसहरूलाई थाहा छ – फलानोको छोरा कुलतमा छ भन्ने तर उसलाई सम्झाउनु परको कुरा त्यसबारे कुरा समेत हुँदैन,” उनले भने।

    समस्यामाथि विमर्श र समाधानको खोजीका लागि सिर्जनात्मक बाटो रोजेको आकाश बताउँछन्। गाउँका तिनै किशोर किशोरीलाई नाट्य प्रशिक्षण दिने, अभिनय गराउने र जनचेतानात्मक कार्यक्रमहरूमा संलग्न गराउन सके कुलतबाट ध्यान मोड्न सकिन्छ भन्ने विश्वास राखेका छन्। नाटकको कथावस्तुमार्फत् अभिभावकलाई सजग बनाउने उद्देश्य लिएका छन्।

    “समस्यालाई बेवास्ता गर्नु अर्को समस्या निम्त्याउनु हो। म नाटकमार्फत् त्यो मौनता चिर्ने प्रयास गर्दै छु,” उनी केही प्रतिबद्ध सुनिए। २० वर्षीय आकाशले कचहरी नाटक निर्माणमा लाग्ने खर्च स्थानीय तहसँग माग गरेका छन्। उनको ध्येय दुर्व्यसनविरुद्धको यस प्रयासमा स्थानीय तहले पनि जिम्मेवारी बोध गरोस् भन्ने रहेको बताए। “एक व्यक्तिको प्रयासभन्दा पनि सामूहिक इच्छाशक्ति जाग्न आवश्यक छ। यसमा स्थानीय सरकारको संलग्नता भयो भने कार्यक्रमप्रतिको विश्वासनीयता बढ्छ र निरन्तरता सम्भव हुन्छ,” आकाशले धारणा व्यक्त गरे।

    ‘रङ्गमञ्चले धैर्य सिकायो’
    अन्यौल र दबावबीच रुमलिएकी पासाङ ल्हामु शेर्पा भने रङ्गमञ्चले धैर्य सिकाएको अनुभव सुनाउँछिन्। हाल २० वर्ष टेकेकी उनी १२ वर्षको उमेरदेखि कराँते खेलाडी हुन्। खेलले उनमा एक खालको जोस भरिदिएको थियो। तर, खेलकै कारण उनको पढाइ प्रभावित बन्ला भन्ने सोचेकी थिइनन्।

    उनले जहाँबाट एसईई दिइन् त्यस विद्यालयले – त्यहीँका विद्यार्थीलाई कराँते सिकाउनु पर्ने भन्दै प्रमाणपत्र दिन मानेन। उच्च माध्यमिक तह गाउँमै पढ्नु पर्ने बताइयो। “एक किसिमको दबाव महसुस भयो। म जुन विषय पढ्न चाहन्थेँ त्यो गाउँमा छैन। म पढाइ नै छाडेर खेल सिकाउन बस्ने पक्षमा थिइनँ,” पासाङले भनिन्।

    झापा झरिन्। कलेज खोज्ने, नयाँ साथी बनाउने क्रममा उनी झापास्थित कदम थिएटर पुगिन् । त्यहाँ हुने कलात्मक एवं सिर्जनात्मक गतिविधितर्फ आफू आकर्षित भएको बताउँछिन्। “मानिसहरू निकै नम्र र लगनशील भएर, सम्मानपूर्वक काम गरेको देखेँ। यस्तै समूहसँग काम गर्न पाए हुन्थ्यो, रङ्गमञ्चसँग नजिक हुन पाएँ हुन्थ्यो भन्ने ठानेँ। र, त्यहीँ स्वयंसेवकको रूपमा खटिएँ,” उनले रङ्गकर्मतर्फ आकर्षित हुनुको कारण खुलाइन्।

    त्यसैबीच कोरोनाभाइरसको महामारी सुरु भयो। पढाइ त यसै अल्झियो, भर्खर बामे सर्न लागेको रङ्गमञ्चको यात्रा पनि टुङ्गिने पो हो कि भन्ने ठानेकी थिइन्। तर, त्यसो भएन। ड्रामा स्कूलमा सरिता, आकाशसहित १६ जनासँगै सहभागी हुने अवसर पाइन् पासाङले पनि।

    उमेरले प्राय सबै एक अर्का सरह हुन्। उनीहरूको सिकाइ प्रक्रिया उस्तै रह्यो। उद्देश्य पनि समान देखिन्छ। पृष्ठभूमि, परिवेश र भोगाइ फरक भए पनि उनीहरूले बाँचेको समय एउटै हो। त्यसैले उनीहरूलाई थाहा छ, आफूले बाँचेको समय र समाजका समस्याहरू। तिनलाई रङ्गकर्ममार्फत् सम्बोधनको प्रयासमा जुटेका छन् सबै।

    पासाङ ताप्लेजुङ, नौवाखोलास्थित आफ्नै गाउँमा पुगेर कचहरी नाटक निर्माण गर्दैछिन्। यौनजन्य हिंसाविरुद्ध सन्देश प्रवाह गर्न चाहन्छिन्, अभिनयमार्फत। “मेरो गाउँका धेरैलाई नाटक थाहा छैन। उनीहरूलाई यौनजन्य हिंसा पनि थाहा छैन। म नाटकमार्फत उनीहरूलाई प्रश्न गर्न चाहन्छु – हामीले हिंसा भोग्दाभोग्दै यो हिंसा हो भन्ने नै थाहा नपाएका पो हौँ कि? जवाफ उनीहरूले खोज्नेछन्।”

    उनलाई पहिले लाग्थ्यो – खेल्न सक्नेलाई कसैले केही गर्न सक्दैन। अहिले भन्छिन् – सचेत र संवेदनशील हुनुले दुर्घटनाबाट जोगाउँछ। “खेलले आत्मविश्वासी हुन सिकायो। रङ्गमञ्चले धैर्य गर्न सिकाएको छ।” रङ्गमञ्चको सैद्धान्तिक तथा व्यवहारिक एउटा यात्रा सकेका यी पात्र प्रतिनिधि हुन्। सहभागीहरू सबै उस्तै जोश र उद्देश्य बोकेर आ-आफ्नो ठाउँ फर्किएका छन्। कचहरी नाटक निर्माणमा सीमित छैन उनीहरूको लक्ष्य।

    प्रदीप ढुङ्गाना चितवनमा एक कला कर्ममा सक्रिय समूहलाई ‘चौतारी नाटक’ सम्बन्धी प्रशिक्षण दिने अठोट लिएका छन्। नाटकको यस विधामा कथाको पूर्व तयारी हुँदैन। मध्यस्थकर्तासँग सहभागी दर्शकले आफ्नो देखेको, सुनेको वा भोगेको घटना सुनाउँछन्। ती भोगाइलाई सुनेका आधारमा सङ्गीत, संवाद र विभिन्न भावभङ्गीसहित अभिनयमा रूपान्तर गर्छन् कलाकारहरूले।

    उनी भन्छन्,”यो नाटकमार्फत् समावेशिताको अभ्यास गराउने विधा हो जस्तो लाग्छ।” त्यस्तै प्रशिक्षार्थी मध्येका सुस्मिता गुरागाईँ, समृद्धि नेपाल र सुस्मिता पोख्रेलले भने कार्यशाला आयोजना गर्दै छन्। शीर्षक चाहिँ – लिङ्ग र विविधता, आघात, संवेदनशीलता, अहिंसात्मक सञ्चार र कथात्मक उपचार पद्धति।

    उल्लेखित संवेदनशील विषयबारे निश्चित समूहलाई जानकार बनाउनु उनीहरूको उद्देश्य हो। “यी खुलेर कुरा नहुने विषय हुन्। त्यसैले यसबारे बुझ्न र बुझाउन आवश्यक ठान्यौँ। र, रङ्गमञ्चको अर्थ अभिनय मात्र होइन गम्भीर विषयमाथिको मन्थन पनि हो। कार्यशालाले ती विषयलाई समेट्छ भन्ने आशा छ,” सुस्मिताले भनिन्।

    सोमनाथ खनाल लिखित नाटक ‘जिजीविषा’मा एकसाथ काम गरेपछि सबै प्रशिक्षार्थी आ-आफ्नो घर फर्किएका छन्। उनीहरू नाटकमा पोखरीबाट समुन्द्रसम्मको यात्रामा निस्कने माछाहरूजस्तै भएको बताउँछन् प्रशिक्षक समेत रहेका खनाल।

    उनी भन्छन्, “प्रशिक्षार्थीहरूले यात्रा पूरा गर्दा सामना गर्नुपर्ने चुनौती र समाधानहरूमा तपाईँले आफ्ना भावनाहरू समानान्तर पाउनु भयो भने हामी सफल भयौँ।” “हाम्रो सफलताको सूचक हाम्रो कामको प्रभाव हुनेछ,” यति भन्दा सरिता कठायत निकै आत्मविश्वासी सुनिइन्। प्रशिक्षणको दौरान सिकेको नाट्यकर्मलाई सार्थक तुल्याउने काम उनी लगायत सबै प्रशिक्षार्थीको भावी कदममा निहित हुनेछ। बीबीसीबाट साभार

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया