• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    डब्लुएचओको अर्को नयाँ डरलाग्दो चेतावनीले विश्वभर त्रास

    670
    SHARES


    काठमाडौँ । आगामी फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। पछिल्लो समय युरोप महादेशमा दिनहुँजसो कोरोनाभाइरसका नयाँ बिरामी बढिरहेका बेला डब्लुएचओले यस्तो खतरा औंल्याएको हो।

    समयमै सतर्कता नअपनाएमा फेरि युरोप कोभिडको केन्द्र बन्नसक्ने खतरा अझै टरिनसकेको डब्लुएचओको भनाइ छ। बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा डब्लुएचओका युरोप प्रमुख हान्स क्लुगले कोभिडको जोखिम उस्तै रहेको र मृतक संख्या अझै बढ्नसक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह गरेका छन्।

    युरोपमा खोप कार्यक्रम सबैको पहुँचमा नपुगेकाले यस्तो जोखिम कायम रहेको उनको तर्क थियो। ‘अझै हामीले सतर्कता अपनाउन सक्छौं। खोप सबैले लगाउनुपर्छ र त्यसका लागि सबै मुलुकले आवश्यक व्यवस्था मिलाउनुपर्छ। सुरक्षा सतर्कताका अन्य उपाय पनि अपनाउनुपर्छ,’ हान्सले भने।

    पछिल्लो समय युरोपमा खोप लगाउने दर घटेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ। अझै पनि युरोपका धेरै मानिस खोप लगाउन अनिच्छुक रहेकाले तिनीहरुलाई कसरी खोप दिलाउने भन्ने चुनौती रहेको छ।

    डब्लुएचओको पछिल्लो तथ्यांक अनुसार फ्रान्समा ६८ प्रतिशत, जर्मनीमा ६६ प्रतिशत, स्पेनमा ८० प्रतिशत र रुसमा ३२ प्रतिशत मात्र व्यक्तिले खोप लगाएका छन्। अहिलेसम्म युरोपेली क्षेत्रमा कोरोना भाइरस संक्रमणले १४ लाख मानिसको ज्यान गइसकेको डब्लुएचओले जानकारी दिएको छ।

    केही महिनायता युरोपमा कोभिडविरुद्घको सुरक्षा सतर्कता खुकुलो बनाएसँगै संक्रमण बढेको डब्लुएचओको ठहर छ। अनिवार्य मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र स्यानिटाइजर प्रयोगमा विशेष ध्यान दिनुपने डब्लुएचओको सुझाव छ।

    यस्तै युनिभर्सिटी अफ अक्सफोर्डका वैज्ञानिकहरुले कोभिड संक्रमणका कारण फोक्सोमा हुने संक्रमण र मृत्युको जोखिम दोब्बर बनाउने जीन पत्ता लगाएका छन् ।

    शोधकर्ताहरुका अनुसार दक्षिण एसियाली मुलका ६० प्रतिशत र युरोपीय मुलका १५ प्रतिशत मानिसमा यो वंशाणुगत जीनको हुन्छ । तर कोरोना खोपले यो जीनका कारण हुने जोखिमलाई निकै कम गर्छ ।

    द निचर जेनेटिक्सको अध्ययनले बेलायतका केही समुदाय र दक्षिण एसियाली मुलुकमा मानिसहरुमा किन कोभिडको उच्च जोखिममा परेका हुन् भन्ने देखाउँछ ।

    यसअघि भएको अध्ययनलाई आधार मानेर शोधकर्ताहरुले जेनेटिक शोध र आर्टिफिसियल इन्टेलिजेन्सको मदतबाट यो खास जीन पत्ता लगाएका हुन् । एलजेडटीएफएल–१ (LZTFL 1) नाम दिइएको यो जीनेले कोभिड संक्रमणको समयमा जोखिम बढाउन भूमिका खेल्छ ।

    शोधकर्ताहरुको अनुमान छ कि यो जीन अफ्रिका–क्यारेबियन मुलका २ प्रतिशत र पूर्वी एसियाली मुलका १.८ प्रतिशत जनसंख्यामा छ । मुख्य शोधकर्ता जेम्स डेविसका अनुसार यो जीन सबै मानिसलाई समान असर गर्दैन । कुन व्यक्तिलाई यसका कारण कति जोखिम हुन्छ भन्ने थुप्रै कुरामा निर्भर रहन्छ, जसमध्ये एउटा उमेर पनि हो ।

    अध्ययनकर्ताहरुका अनुसार जोखिमपूर्ण यो जीनको उपस्थितिले मानिसको फोक्सोलाई कोरोना भाइरसबाट बढी खतरा रहन्छ । उनीहरुको अनुमान छ कि यो जीनका कारण रोग प्रतिरोधका लागि फोक्सोले बनाउने कोष निर्माणको सुरक्षात्मक प्रणालीलाई नै असर गर्छ ।

    जब फोक्सोका ती कोष कोरोना भाइरसको संसर्गमा पुग्छ, तब प्रतिरोधको एउटा उपाय स्वरुप ती कोषहरु भाइरसलाई कम प्रश्रय दिने खालका कोषमा परिणत हुन्छन् । यो प्रक्रियाका कारण कोषमा कोरोना भाइरस टाँसिने एसीई–२ नामक प्रोटिनको मात्रा कम हुन्छ ।

    तर एलजेडटीएफएल–१ जीन भएका मानिसहरुमा कोषबाट प्रोटिन कम हुने प्रक्रियाले राम्ररी काम नगर्ने देखिएको छ, जसले गर्दा फोक्सोका कोषहरु कोरोना भाइरसको उच्च जोखिममा रहन्छन् । अनुसन्धानकर्ताहरुका अनुसार यो जीनले फोक्सोलाई असर गरे पनि शरीरको रोग प्रतिरोधी क्षमतालाई भने असर गर्ने छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया