• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    सीडीओ कार्यालयमै देउसी खेलौ‌ ? भन्दै हास्य कलाकार दीपकराज गिरी फायर, अरु कसले के भने ?

    673
    SHARES


    काठमाडाै‌ । परम्परादेखि तिहारमा रातभर खेलिँदै आएको देउसी र भैलो संस्कृतिमाथि हस्तक्षेप गर्दै स्थानीय प्रशासन कार्यालयहरूले कसैले ८ त कसैले रातको ९ बजेसम्म समयसीमा तोकेपछि सर्वसाधारण र कलाकार प्रशासनको निर्णयको विरोधमा उत्रिएका हुन् ।

    स्थानीय प्रशासनले कोरोनाको कारण देखाउँदै राति देउसी भैलो खेल्न नदिने निर्णय गरेपछि प्रशासनको उक्त निर्णयको सर्वसाधारणले विभिन्न प्रसङ्ग जोड्दै बिल्ला उडाइरहेका छन् ।

    स्थानीय प्रशासनको यो निर्णयको विरोधमा सर्वसाधारण मात्र होइन, थुप्रै कलाकर्मीसमेत देखिएका छन् । उनीहरू प्रशासनको यो निर्णयलाई राज्यको सुरक्षा कमजोरी, राजनीतिक पार्टीको हस्तक्षेप, कला संस्कृति माथिको ठाडो प्रहारसमेत बताउँछन् । देउसी भैलोको समय सीमाको विषयमा जिल्ला प्रशासन कार्यालयको निर्णय कस्तो लाग्यो भन्ने प्रश्न धेरै सेलिब्रेटीहरुले यस्तो जवाफ दिएका छन् ।

    देउसी भैलोमा बन्देज लगाउन मिल्दैन- मनोज गजुरेल
    कोरोनाले मानिस दुई वर्षसम्म थुनिएका छन् । मानसिक रूपमा समेत धेरै विक्षिप्त देख्न सकिन्छ । यस्तो समयमा उनीहरू रमाउने, हाँस्ने, नाच्ने पर्व तिहार आएको छ । यो पर्वमा मानिस रमाउने भनेको देउसी भैलोमा पनि हो । यसमा बन्देज लगाउन मिल्दैन ।

    राज्यले सर्वसाधारणको अधिकारमा बन्देज लगाउने होइन, शान्ति सुरक्षा बलियो गरेर पूर्ण रूपमा खेल्ने स्वतन्त्रता दिनुपर्छ भन्ने मेरो धारणा हो । शान्ति सुरक्षा दिनु राज्यको कर्तव्य पनि हो । जनताले आफ्नो समयअनुसार पूर्ण स्वतन्त्र भएर देउसी भैलो खेल्न पाउनैपर्छ । शान्ति सुरक्षा सरकारको कुरो हो । देउसी भैलोको नाममा पहिले पहिले जस्तो झैझगडा गर्ने जनता अहिले छैन भन्ने मलाई लाग्छ ।

    ‘जिल्ला प्रशासनमा खेल’ भने हुन्छ- दीपक राज गिरी

    प्रशासनले अहिले मात्र होइन, कोरोना नभएको पहिलेको समयमा पनि यसो भनेको थियो । मेरो बिचारमा सबैतिर सुरक्षा दिन सकिन्न भनेर यसो गरिएको हो । यो सुरक्षा निकायको कमजोरी हो ।

    सबैतिर सुरक्षा दिन सकिन्न, केको लफडा लिने’ सुरक्षा निकायले सोचेको होला । यो निर्णय चाडपर्व, कला संस्कृति भनेको जेसुकै होस् । हामी आनन्दले सुतौँ भने जस्तो भयो ।

    मेरो विचारमा परम्परा जोगाउने हिसाबले यो गलत काम हो । देउसी भैलो भनेकै रातभर घर–घर चाहारेर खेल्ने खेल हो । यसरी यति बेलासम्म खेल भन्नुभन्दा सबैजना आएर ‘जिल्ला प्रशासनमा खेल’ भनेको राम्रो हो । त्यसो भयो भने सबै सीडीओकोमा गएर खेल्थे । सीडीओले पैसा दिएपछि घरतिर लाग्थे । कि त्यसो गर्नुपर्‍यो, हैन भने सुरक्षाको कारणले हाम्रो संस्कृति, हाम्रो परम्परा मास्न पाइँदैन ।

    राज्यले सुरक्षा बढाएर पनि संस्कृति जोगाउनतिर लाग्नु पर्‍यो । प्रशासनले समय तोकेर होइन, कोरोनाका लागि माक्स लगाएर खेल्नु भन्नुपर्थ्यो । तिहारको महत्त्वपूर्ण पाटो र रमाइलो भनेको नै देउसी भैलो हो । सानोमा हामी ९, १० बजेबाट मात्र खेल्न सुरु गर्थ्यौँ । ८, ९ बजेसम्म त देउसी भैलो खेल्ने साथीभाइ जुट्ने समय हो । यो एक किसिमले भन्ने हो भने सरकारको कमजोरी हो ।

    प्रशासनको निर्णय संस्कृति मास्ने कुरो हो- दीपाश्री निरौला

    प्रशासनको निर्णय संस्कृति मास्ने कुरो हो । देउसी भैलो भनेको पहिलेदेखि राति नै खेल्ने चलन चलिआएको छ । यो हाम्रो संस्कृति हो । हामी आफैँले पनि जागृत भएर सबै कुरो विचार गरेर खेल्न पाउनुपर्छ ।

    देशको प्रशासन राजनीतिक पार्टीमा निहित भयो । उनीहरूले जे गर्दा पनि हुनेजस्तो भयो । नेपालमा परम्परागत रूपमा चल्दै आएको संस्कृति हामीले जोगाउन पाउनुपर्छ । त्यसका लागि हामीले देउसी भैलो खेल्न आफ्नै हिसाबले पाउनुपर्छ । कला संस्कृति नेताको पकेटको सम्पत्ति होइन, उनीहरूले आफ्नो अनुकूल गर्नै पाउँदैनन् ।

    देउसी भैलो संस्कृति मास्न मिल्दैन- सीताराम कट्टेल ‘धुर्मुस’

    देउसी भैलो तिहारमा खेलिने धेरै पहिलेदेखि चलिआएको चलन हो । यो पहिलेदेखि नै राति खेलिँदै आएको छ । हामीले यो अहिले पनि स्वतन्त्र रूपमा खेल्न पाउनुपर्छ । सुरक्षा र कोरोनाका कारण देखाएर देउसी भैलो संस्कृति मास्न मिल्दैन र हुँदैन । कला संस्कृतिमा हामी धनी छौँ । त्यो हामीले लोप हुन दिनु हुँदैन । यो जीवित राख्ने पहल सबैले गर्नुपर्छ ।

    देउसी भैलो दिउँसो खेल्दा भैगो नि- करिश्मा मानन्धर

    विगत तीन वर्षयता पहिले जस्तो देउसी भैलो खेलेको देख्न पाइएको छैन । यो संस्कृति बिस्तारै कम भएर गएको महसुस गरेको छु । सुरक्षाको दृष्टिकोणबाट पनि यो समय महिला पहिले जस्तो सुरक्षित छैनन् । त्यसैले पनि प्रशासनले यो निर्णय गरेको होला । ठीक छ, देउसी भैलो दिउँसो खेल्दा भैगो नि । समय र परिस्थितिअनुसार समय परिमार्जित गरेर देउसी भैलो खेल्नुपर्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया