• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानमन्त्री देउवा आज २० सदस्यीय टोलीसहित बेलायत जाँदै, अरु को-को जादैछन साथमा ?

    428
    SHARES


    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औँ सम्मेलन (कोप-२६)मा भाग लिन आज शुक्रबार बेलायत जाँदैछन् ।

    १२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन उनी २० सदस्यीय टोली लिएर बेलायत प्रस्थान गर्न लागेका हुन्। कोप २६ मा विश्वका राष्ट्र/सरकार प्रमुखको सहभागिता रहनेछ । गत असारमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाको पहिलो विदेश भ्रमण हो ।

    देउवासँगै ग्लास्गो जाने टोलीमा सचिव मात्रै ६ जना छन् । जसमा परराष्ट्र सचिव भरतराज पौड्याल, वन तथा वातावरण सचिव पेमनारायण कँडेल, अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी छन् ।

    उक्त भ्रमणमा परराष्ट्र सचिव र सम्बन्धित वन मन्त्रालयका सचिव मात्र भए पर्याप्त हुनेमा सचिवहरूको टोली नै जान लागेको हो । पूर्ववातावरणमन्त्री गणेश शाहले उक्त सम्मेलनमा सम्बन्धित मन्त्रालयको सचिव र परराष्ट्र वा मुख्यसचिवमध्ये एक जना गए पुग्ने बताए ।

    कुनै पनि विदेश भ्रमण गर्ने अवसर आए कर्मचारीहरू लागिपरिहाल्नु मुलुकको दुर्भाग्य भएको बताए । ‘सबै आफ्नो कुरा उठाउँछु भनेर जान्छ । यस्तो प्रतिनिधिमण्डलमा विज्ञ, वैज्ञानिक र त्यस क्षेत्रमा काम गर्नेहरू लाग्नुपर्छ । जसले गर्दा मुलुकको समस्या त्यहाँ प्रस्टसँग राख्न सकियोस्,’ उनले भने,‘ नेपालको दुर्भाग्य के छ भने कर्मचारीतन्त्रले नियन्त्रणमा सधैं रह्यो । राजनीतिले त्यसलाई तोड्न नै सकेन ।’

    शाहले नेपाल जलवायु परिवर्तनको जोखिमयुक्त मुलुक भएकाले मुलुकलाई अन्तर्राष्ट्रिय सहयोग र सहकार्य बढी आवश्यक हुने बताए । नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय सहयोग र सहकार्यबाट बढी लाभ लिन नसकेको उनले जनाए । ‘किनकि कर्मचारीतन्त्रले यस्तो महत्त्वपूर्ण सम्मेलनहरूलाई विदेश भ्रमणको अवसरका रूपमा मात्र लिएको छ, विषयवस्तु थाहा नभए पनि तहमा मात्र कुरा राख्नका लागि विदेश भ्रमण गरिरहेका छन्,’ उनले भने । ‘

    अन्य देशको प्रतिनिधिमण्डलमा राजनीतिक नेतृत्व, वैज्ञानिक, विज्ञ, सम्बन्धित क्षेत्रका व्यक्तिहरू र सीमित कर्मचारी मात्रै हुने उनले बताए । उनले थपे, ‘जोसुकै समेटेर जम्मो प्रतिनिधिमण्डल जाने हाम्रो पुरानै रोग हो ।’

    भ्रमणको टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट छन् । त्यसैगरी,

    भीआईपी सुरक्षा निर्देशिकाले तोकेको मापदण्डअनुसार सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकार प्रधानमन्त्रीसँगै जाँदै छन् । अन्य सदस्य बेलायतस्थित नेपाली दूतावासबाट सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    जलयवायु परिवर्तनसम्बन्धी एक जानकारका अनुसार अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा लामो गृहकार्य गर्नुपर्ने हुन्छ । जलवायु परिवर्तनको कारणले नेपालमा ठूलो असर परेकाले प्रधानमन्त्री देउवाले यसपटक अझ जोड लिएर आफ्ना समस्या राख्ने अनुमान गरिएको ती जानकारले बताए ।

    ‘तर हामीजस्ता ४७ वटा अल्पविकसित मुलुक छन्, साना टापुका मुलुक छन्, सबैलाई धेरै समय हुँदैन, लामो समयदेखि यस विषयमा बुझेकाले मात्र आफ्ना कुरा प्रस्ट राख्न सक्छन्,’ ती जानकारले भने, ‘पहिलो पटक जाने र अर्को पटक जाने टुंगो नभएकाहरू यस्तो सम्मेलनमा जाँदा मुलुकलाई केही पनि फाइदा हुन्न ।’ कोप–२६ कात्तिक १२ देखि २६ सम्म हुँदै छ । प्रधानमन्त्री देउवा कात्तिक १७ मा नेपाल फर्कनेछन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ