• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    वर्षा प्रभावित कृषकका लागि राहत प्याकेज घोषणा

    395
    SHARES


    काठमाडौँ । सरकारले हालैको वर्षाबाट प्रभावित कृषकलाई राहत प्याकेज घोषणा गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हालै तीन दिनको बेमौसमी अविरल वर्षाबाट धानबाली तथा अन्य खाद्यान्न बालीमा भएको क्षतिका लागि कृषकलाई राहत दिने निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

    उनकाअनुसार सरकारले साना किसान बढीमा १० कठ्ठा जग्गामा धानबाली भएकालाई क्षतिको अधिकतम ६५ प्रतिशत राहत दिनेछ । त्यस्तै, मध्यम किसान अर्थात् १० कठ्ठादेखि ३ बिगाहासम्म धानबालीमा क्षति भएकालाई क्षतिको ३० प्रतिशत र ठूला किसानलाई क्षतिको अधिकतम २० प्रतिशतसम्म राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

    राहत वितरण गर्ने कार्यविधि बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई मन्त्रिपरिषद्मा पेस गर्ने सञ्चारमन्त्री कार्कीले जानकारी दिए । यस्तै सरकारले बाढीपहिरो र डुबानका कारण बेपत्ता भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

    बिहीबारको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई प्रतिपरिवार २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको गृहमन्त्री बालकृष्ण खाँणले इकान्तिपुरलाई जानकारी दिए ।

    सरकारले यसअघि बाढीपहिरो र डुबानमा परी मृत्यु हुने व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ र एकजना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निर्णय गरिसकेको छ ।

    सरकारले यसअघि धानबालीमा भएको क्षतिको विवरण यकिन गर्न गहृसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । यस्तै सरकारले महेश्वर काफ्ले र वामदेव अधिकारीलाई उपमहालेखा परीक्षकमा बढुवा गरेको छ ।

    बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखापरीक्षक राजपत्रांकित विशिष्ट श्रेणीका पदमा काफ्ले र अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    बैठकले नेपाली सेनाका उपरथी सरोजप्रताप राणालाई रथीमा बढुवा गरेको छ भने प्रधानसेनापति महारथी प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारत भ्रमणको स्वीकृति दिने निर्णय गरेको छ । बै७कले प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

    राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन् भने शर्मा पूर्व अमेरिकी राजदूत हुन् । यसैगरी आचार्य परराष्ट्र सेवाबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका आचार्य राष्ट्रसघीय उपमहासचिव तहसम्म काम गरेर सेवा निवृत भएका थिए। यसअघि देउवा प्रधानमन्त्री हुँदा आचार्य आर्थिक सल्लाहकार भएका थिए ।

    प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बेलायत जाँदैछन् ।

    राजदूत नियुक्ति सन्दर्भमा गठबन्धनका नेताहरुबीच छलफल हुँदा माओवादी र एकीकृत समाजवादीका नेताहरुले खाली रहेका सबै राजदूत एकैपटक सिफारिस गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

    तर देउवाले बेलायत भ्रमणमा जानुअघि शक्तिराष्ट्रका रुपमा चिनिने भारत, अमेरिका र बेलायतका राजदूतमात्रै पहिलो चरणमा नियुक्त गर्न सुझाएपछि बाँकी राजदूत नियुक्त नगरिएकाे एक नेताले बताए ।

    मन्त्रिपरिषदले सिफारिस गरेकाे नाम राष्ट्रपतिबाट अनुमोदन भएपछि तीन देशका राजदूतावासले नेतृत्व पाउनेछन् । राजदूत आचार्य प्रधानमन्त्री देउवासँगै बेलायत भ्रमणमा सहभागी हुनेछन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ