• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    प्रधानन्यायाधीश जबरालाई आयो १५ दिने अल्टिमेटम

    574
    SHARES


    नेपाल बार एशोसिएसनले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई १५ दिनको अल्टिमेटम दिएको छ । एशोसियसनका महासचिव लीलामणि पौडेलले एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरालाई सो अल्टिमेटम दिएका हुन् ।

    न्यायाधीश कार्कीको संयोजकत्वमा गठित समितिले दुई महिनाअघि अदालतको पेशी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा भैरहेका गलत कार्यहरुको सुधार ल्याउन माग गर्दै प्रधानन्यायाधीश जबरासमक्ष प्रतिवेदन बुझाएको थियो ।

    प्रतिवेदनमा पेशी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा देखिएको गलत कार्यलाई रोक्न स्वचालित पेशी प्रणाली लागू गराउन र सो प्रणाली लागू गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा सम्पूर्ण अदालतहरूमा गोला (राफल) प्रणालीबाट पेशी तोक्न सुझाव दिइएको थियो ।एशोसिएसनले यो विषयमा छलफल गर्न कात्तिक ७ गते प्रधानन्यायाधीश जबरालाई भेट्ने र त्यसपछि थप निर्णय लिने निर्णय समेत गरेको छ ।

    यस्तै प्रधानन्यायाधीश  जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग भएको छलफलमा प्रधानन्यायाधीशले सो प्रतिबद्धता जनाएका हुन् ।

    प्रधानन्यायाधीशले मिडियामा आएका विभिन्न शंका, उपशंका, चर्चा परिचर्चा, टिप्पणी सबै विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यो विषय फुलकोर्टमा राख्ने जानकारी गराएको बारका महासचिव लीलामणि पौडेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    बारसँगको सहमतिमै प्रधानन्यायाधीश सोमबार फुलकोर्ट बोलाउन तयार भएका छन् । ‘हामीसँगको छलफलपछि प्रधानन्यायाधीशज्यूले सोमबार दिउँसो साढे १ बनजे फुलकोर्ट बैठक बोलाउन राजी भएका छन् ।

    फुलकोर्टमा नेपाल बार पनि सहभागी हुन्छ,’ पौडेलले भने, ‘निष्पक्ष न्यायपालिकाको अवधारणाभन्दा बाहिर गएको छैन । जान्नँ पनि । आफूविरुद्ध उठेका सबै प्रश्न र शंका उपशंकाबारे सम्बोधन गर्छु भन्नु भएको छ ।’ मंगलबारदेखि नमुना गोलाप्रथाको प्रयोग सुरु हुने भएको छ । यसअघि सर्वोच्चले मुद्दाको पेसी तोक्दा गोलाप्रथाबाट तोक्ने निर्णय गरेको थियो ।

    प्रधानन्यायाधीशले भने– हमाललाई मन्त्री नबनाइदिनू भनेको हुँ

    जबराले आफूले गजेन्द्र हमाललाई मन्त्री बनाउन दबाब नदिएको बताएका छन् । आइतबार नेपाल बार एसोसिएसनका टोलीसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

    ‘गजेन्द्र हमालसँग मेरो ससुराली सम्बन्ध २०४१ सम्म थियो । मेरी श्रीमतीको निधन भएपछि अर्को बिहे गरेको हुँ । मैले उनलाई मन्त्री बनाइदिनु भनेर कुनै नेतालाई भनेको छैन ।

    भेटेको छैन । बरु यसबारे मिडियामा समाचार आएपछि गजेन्द्र हमाललाई मन्त्री नबनाइदिनुस् भनेर भनेको हुँ,’ प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै बार महासचिव लीलामणि पौडेलले भने ।

    प्रधानन्यायाधीश जबराकै दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले बाँकेका पुराना कांग्रेस नेता गजेन्द्र हमाललाई उद्योग तथा आपूर्ति मन्त्री नियुक्त गरेको चर्चा थियो ।

    हमाललाई मन्त्री बनाएकोमा सरकारको निकै आलोचना भएपछि तीन सिदन नपुग्दै उनले पदबाट राजीनामा दिएका थिए । अहिले उद्योग मन्त्रालय खाली छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ