• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    जब मुख्यमन्त्री राउतले बिज्ञप्ति नै निकालेर जिउँदो पत्रकारलाई श्रद्धाञ्जली दिए, त्यसपछि…….!

    798
    SHARES


    काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जिवितै पत्रकारलाई बिज्ञप्ती नै जारी गरेर समवेदना श्रद्धाञ्जली दिएका छन् । सिरहाको लाहान नगरपालिका निवासी बरिष्ठ पत्रकार रामानन्द गुप्ताको निधन भएको भन्दै मुख्यमन्त्री राउतले समवेदना दिएका हुन् ।

    नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको हाल बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । सोही अस्पतालले जिवित रहने संभावना नभएको भन्दै परिवारलाई बुझाएपछि लाहानस्थित निवासमा ल्याउँदा उनी बोलेका थिए, साथै उठन समेत खोजेका थिए ।

    पत्रकार गुप्ता बोलेपछि तत्कालै उपचारका लागि पुनः अस्पताल पठाइएको छ। तर प्रदेश सरकारका मुख्यमन्त्रीले नै जिवितै मान्छेलाई समवेदना दिएपछि उनको आलोचना भएको छ । जिवितै पत्रकारलाई बिज्ञप्ती नै जारी गरेर समवेदना श्रद्धाञ्जली दिनु उनको गैरजिम्मेवारपूर्ण कार्य भएको आफन्तले बताएका छन् ।

    यसैबीच विपक्षी र सत्ता साझेदार दल मात्रै होइन, आफ्नै मन्त्रीहरूबाट समेत सहयोग नपाइरहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेपछि झन् दबाबमा परेका छन्। पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा हानेपछि थप सङ्कटमा परेका छन्।

    प्रदेश सरकारले सञ्चालन गरिरहेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको भन्दै उजुरी परेपछि १५ असोजमा अख्तियारले छापा हानेको थियाे। कार्यक्रमका लागि साइकल खरीदमा अनियमितता भएको आरोप छ।

    अख्तियारले छापा हानेसँगै उनलाई पार्टीभित्र पनि दबाब पर्न थालेको छ। पार्टी बाहिरबाट घेराबन्दीमा पर्दै आएका उनलाई यो घटनाले पार्टीभित्र पनि घराबन्दी शुरू भएको एक नेताले बताए।

    मुख्यमन्त्री हुँदादेखि नै जनता समाजवादी पार्टी (जसपा)भित्रैको एउटा समूहले असहयोग गर्दै आएको थियो। जसको नेतृत्व अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवले गरिरहेको मुख्यमन्त्री राउत पक्षका नेताहरू बताउँछन्।

    यस अघि अर्थमन्त्री हुँदा यादवले मुख्यमन्त्री राउतका केही योजना रोकेका थिए। राउत र यादवबीच मन्त्रिपरिषद् बैठकमै पनि विवाद भएको थियो। त्यसपछि मुख्यमन्त्री राउतले यादवलाई अर्थ मन्त्रालयबाट हटाएर भूमि मन्त्रालयको जिम्मेवारी दिएका थिए। अहिले पनि राउत र यादवबीच बोलचाल बन्द रहेको जसपा नेताहरू बताउँछन्।

    कर्मचारीहरूका अनुसार, मुख्यमन्त्री कार्यालयले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत ल्यापटप वितरण गर्न अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाएको थियो। तर, अर्थले त्यो योजना नै रोकेपछि दुवै जनाबीच विवाद शुरू भएको कर्मचारी बताउँछन्।

    विवाद बढ्दै गएपछि मुख्यमन्त्री राउतले आफूलाई काम गर्न असहज भएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवसँग गुनासो गरेका थिए। त्यसपछि यादवकै सल्लाहमा उनलाई अर्थबाट हटाएर भूमि मन्त्रालयमा पठाएका थिए।

    अहिले अर्थमा आएका मन्त्री साह पनि मुख्यमन्त्री राउतको विपक्षमा उभिन थालेको जसपा नेताहरू बताउँछन्। जसपाका एक नेताका अनुसार, अर्थमन्त्री साह र भूमिमन्त्री यादवले जसपा अध्यक्ष यादवलाई मुख्यमन्त्री राउतका काम–कारबाहीका विषयमा जानकारी दिएका छन्।

    “पछिल्लो समय पार्टी अध्यक्ष यादव पनि मुख्यमन्त्री राउतसँग सन्तुष्ट छैनन्,” ती नेता भन्छन्, “तर, राउतलाई हटाउँदा पार्टीलाई ठूलै क्षति हुने आकलनकै कारण केही गरेका छैनन्। मन्त्रीहरूबाट दबाब सिर्जना गरिरहेका छन्।”

    मुख्यमन्त्री राउत पक्षका नेताहरूले अख्तियारको छापा हान्ने कार्यलाई पनि त्यसैको एक पक्षका रूपमा बुझेका छन्। पार्टीभित्रैबाट त्यसका लागि वातावरण सिर्जना गरिएको उनीहरूको ठम्याइ छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया