• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गाँउ पुरिएको ७२ घण्टापछि हेलिकप्टर सहितको उद्दार टोली बझाङमा, बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो

    815
    SHARES


    चैनपुर । बझाङमा पहिरोले गाउँ पुरिँदा बेपत्ता भएका २३ मध्ये २ जनाको शव फेला परेको छ। पहिरोले गाउँ पुरेको ७२ घण्टापछि हेलिकप्टरमार्फत् नेपाली सेना सहितको टोली घटनास्थल डिख्लामा पुगेको छ। सो टोलीले घटना भएको ७२ घण्टापछि बेपत्ता भएकामध्ये दुई जनाको शव फेला पारेको हो।

    शव फेला पर्नेमा नरे पार्कीका ७ वर्षीया छोरा आयुष पार्की छन् भने अर्काे एक जनाको सनाखत हुन बाँकी छ। अहिले पानी पर्न कम भएकोले खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन्।

    आइतबार रातिदेखि परेको पानीले मंगलबार थलारा गाउँपालिका –४ डिख्लामा पहिरो खस्दा उनीहरू बेपत्ता थिए। बेपत्ता हुनेमा एकै परिवारका १८ जना सदस्य र अर्काे परिवारका ५ जना छन्।

    यस्तै, मल्लो डिख्लाका १ सय ४८ घरधुरीका ७ सय ५४ जना विस्थापित भएका छन्। उनीहरू अहिले विद्यालयमा, पसल र पहिरो जोखिम नभएका घरमा बसेका छन्। विस्थापित भएकालाई खान, बस्न गाह्रो भइरहेको स्थानीय शिक्षक मदन साउदले बताए।

    उद्दार टोलीले विस्थापितका लागि राहत सामग्री र औषधी समेत त्यहाँ लगेको जनाइएको छ। बेपत्ता भएकामध्ये अझै २१ जना फेला पर्न सकेका छैनन्। यता आइतबार बुलुकीदेखि लगातार परेको भारी वर्षापछि आएको बाढी– पहिरोमा परेर बुधबारसम्म कर्णाली प्रदेशमा ८ जनाले ज्यान गुमाएका छन् ।

    प्रदेश प्रहरीका अनुसार अविरल वर्षातका कारण जनजीवन प्रभावित बन्नुका साथै मानवीय क्षति समेत भएको छ । पशु चौपाया र धानबालीमा समेत क्षति पुगेको छ भने कर्णाली राजमार्ग ६ ठाउँमा अवरूद्ध भएको छ ।

    बाढी–पहिरोमा परि मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका–४, खर्पेल गाउँका ६ जना, जुम्ला र कालिकोटका एक÷एकजना रहेको प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार बाढी–पहिरोबाट तीन जना घाइते भएका छन् । कालिकोट रास्कोट नगरपालिका–८, पलातिवाडाका ६३ वर्षीय नन्दु न्यौपाने र उनकी छोरी १३ वर्षीय बाँचु न्यौपाने गोठबाट घर जाने क्रममा पहिरोमा परी घईते भएका छन् । नन्दुको दुबै खुट्टामा चोट लागेको र उनको रास्कोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    यस्तै सुर्खेतका पञ्चपुरी नगरपालिका–११, स्थित कुइनेमा कर्णाली नदीले बगाएका सोही ठाउँका ४८ वर्षीय गंगाप्रसाद जैशीको सकुशल उद्दार गरिएको छ ।
    सुर्खेतको कुईनबाट कैलाली जोड्ने निर्माणाधीन पक्की पुलका चौकीदार समेत रहेका शर्मा नदीले बगाएका सामान बचाउने क्रममा बगेका थिए ।

    बाहिरी चोट नदेखिएपनि उनको उद्दार गरेर उपचारको लागि बावियाचौर पठाइएको छ । शर्मालाई प्रहरी चौकी तातोपानीबाट खटिएको ६ जनाको प्रहरी टोलीले उद्दार गरेको थियो ।

    प्रदेश प्रहरीका अनुसार बाढी–पहिरोबाट प्रदेशमा ४ वटा गाई, तीनवटा बाच्छा र १३१ भेडाबाख्रा मरेका छन् । प्रदेशको कालिकोट, जुम्ला र मुगुका गरि १३८ पशुचौपाया मरेको प्रहरीले जनाएको छ । प्रदेशभर बाढी–पहिरोका कारण जोखिममा रहेका ३०० बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

    कर्णाली नदीको बहाव बढेपछि जोखिममा रहेका पश्चिम सुर्खेतको चौकुने गाउँपालिका –४ झालाका ११ घरधुरीका ७९ जना परिवारलाई शिवालय माध्यमिक विद्यालय झालामा स्थानान्तरण गरिएको छ ।

    त्यस्तै कालिकोटको राम्नि बस्तीका साढे २ सय परिवारहरुलाई स्थान्तरण गरिएको छ । उनीहरुलाई राम्नि माद्यामिक विद्यालय र त्यहाँको एक स्वास्थ्य चौकिमा राखिएको प्रहरीले जनाएको छ ।

    यस्तै दैलेखको रामाघाट बजार डुबानमा परेको छ । आठबिस नगरपालिका—१, मा रहेको उक्त बजारमा कर्णाली नदी पसेको छ । स्थानीय वासिन्दाहरुको सहयोगमा प्रहरीले २०÷२५ घर दुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । स्थान्तरण गरिएका नागरिकहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, नेपाल रेडक्रस र स्थानीय पालिकाहरुले राहात तथा सहयोग गरिरहेका छन् ।

    लगातारको वर्षाका कारण पहिरो आएपछि सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग चार ठाउँमा अवरूद्ध भएको छ । दैलेख, कालीकोट र जुम्ला सड्क खण्डका चार ठाउँमा पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको प्रदेश प्रहरीले जनाएको छ ।

    दैलेख खण्डमा खिड्कीज्युला, घट्टेखोला, कालिकोटको जिते र जुम्लाको हिमा गाउपालिका १ स्थित बड्की गाउँमा पहिरो खसेको छ । ‘अहिलेसम्म कर्णाली साजमार्ग चार ठाउँमा अवरुद्ध भएको खबर आएको छ, कतिपए ठाउँमा पहिरो पन्छाउने काम भै रहेको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले भने ।

    राजमार्ग अवरूद्ध हुँदा सयौं यात्री अलपत्र परेका छन् । दसैँ मनाएर प्रदेश राजधानी वीरेन्द्रनगर फर्किने र कालिकोट, जुम्ला लगाएत हिमाली जिल्लाहरुमा जाने यात्री बीचबाटोमा अलपत्र परेका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया